५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

नयाँ आदेश जारी गर्ने तयारीमा ट्रम्प

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्धका लागि नयाँ कार्यकारी आदेश जारी गर्ने बारे विचार गरेका छन्। उनको पहिलो कार्यकारी आदेश अदालतले रोकिदिएपछि उनले केही मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने सोच सहितको कार्यकारी आदेशका बारेमा विचार गरेको बताइएको छ।

एयर फोर्समा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग बोल्दै ट्रम्पले भने, 'सोमबार वा मंगलबार नयाँ आदेश जारी हुनसक्छ।' सान फ्रान्सिस्कोमा रहेको एक अदालतले यस अघिको उनको यात्रा प्रतिबन्ध बारेको आदेश कार्यान्वयन नगर्न फैसला गरेपछि राष्ट्रपति ट्रम्पको नयाँ धारणा बाहिर आएको हो।

राष्ट्रपति ट्रम्पको उक्त आदेशले मुस्लिम बाहुल्य रहेको सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने अस्थायी निर्णय गरेको थियो तर उक्त निर्णयलाई सान फ्रान्सिस्कोमा रहेको अदालतले कार्यान्वयन नगर्न आदेश दिएको थियो।

राष्ट्रपति ट्रम्पले सोमबार वा मंगलबार ल्याउने भनिएको आप्रवासी सम्बन्धी उक्त आदेश कस्तो खालको हुने बारे भने केही बताइएको छैन। राष्ट्रपति ट्रम्पले पहिलेको कार्यकारी आदेश भन्दा केही मात्रामा अबको आदेश परिर्वतित हुने बताएतापनि उनले विचार गरिरहेको नयाँ यात्रा प्रतिबन्ध सम्बन्धी कार्यकारी आदेश कस्तो हुने भन्ने बारे केही बताएनन्।

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग भने, 'हामी यो लडाइ जित्ने छौं।' 'दुःखको कुरा यसले समय लिइरहेको छ। तर पनि हामी यो लडाइ जित्ने छौंं। हामीसँग नयाँ कार्यकारी आदेश ल्याउने जस्ता अन्य धेरै विकल्प पनि रहेका छन्, उनले थप्दै भने।

यद्यपि शुक्रबार नयाँ कार्यकारी आदेशको तयारी गर्न सुझाव दिएतापनि उनको प्रशासन भने गत हप्ता सियाटल अदालतका नयायाधीशले स्थगित गरेको पुरानै कार्यकारी आदेशकै पक्ष अदालतमा लाने तयारीमा रहेको बताइएको छ।

 गत बिहिबार नवौं अमेरिकी सर्किट पुनरावेदन अदालतका नाम गोप्य राखिएका एक न्यायाधीशले ट्रम्पको कार्यकारी आदेशका स्थगित गर्न फैसला गरेका थिए।  उनले फेरि सरकारको पुनरावेदनका लागि अदालतमा रहेका २५ नै न्यायाधीशलाई मत विभाजन गर्नका लागि पनि आव्हान गरेका छन्। प्राविधिक रुपमा एन व्यान्क पुनरावेदन भनिने उक्त दोस्रो चरणको सुनुवाईमा एघार जना न्यायाधीशको समूह रहने छन्। यो भन्दा अघिको सुनुवाईमा जम्मा तीन जना न्यायाधीशको समूहले सुनुवाई गरेको थियो।

ह्वाइट हाउस प्रवेश गरेको एक हप्तामा नै राष्ट्रपति ट्रम्पले ल्याएको उक्त यात्रा प्रतिबन्ध सम्बन्धी कार्यकारी आदेशले अमेरिकाभर भ्रम छरेको थियो भने मुस्लिम बाहुल्य रहेको सात देशका अमेरिकी भिजा भएका नागरिकले समेत विमानस्थलमा दुःख पाएका थिए भने विश्वभर ट्रम्प नीतिको विरोध पनि भएको थियो।

बिहिबार पुनरावेदन अदालतले ट्रम्प प्रशासनले राष्ट्रपति ट्रम्पले भने जस्तै अमेरिकालाई आंतकवादी आक्रमणबाट बचाउन यात्रा प्रतिबन्ध लगाउनुपर्ने भन्ने बारेमा पर्याप्त प्रमाण पेश गर्न नसकेको भन्दै प्रतिबन्ध खारेजको निर्णय गरेको थियो। अदालतको फैसलापछि पनि राष्ट्रपति ट्रम्पले देशको सुरक्षाका लागि यात्रा प्रतिबन्ध आवश्यक रहेको तर्क प्रस्तुत गर्दै द्रुत गतिमा थप सुरक्षा सम्बन्धी कार्यक्रम ल्याउने बचनबद्धता व्यक्त गरेका छन्। उनले भर्जिनिया राज्यका वकिलहरुले ट्रम्पको नीतिले मुस्लिमहरुलाई पशुवत कार्य हुने भन्ने गरेको बहसप्रति लक्षित गर्दै उक्त भनाई राखेका थिए। भर्जिनियाका वकिलहरुले चार महिनासम्म शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउने भन्ने ट्रम्पको नीतिको भन्दा पनि बढि मुस्लिम बाहुल्य सात देशका नागरिकको अमेरिका प्रवेशमा गरिएको प्रतिबन्धका बारेमा मुख्य रुपमा बहस केन्द्रित गरेका थिए। सरकार पक्षका वकिलले भने अदालतले राष्ट्रपतिको संवैधानिक अधिकारका विरुद्धमा निर्णय गरेको बताएका थिए।

ट्रम्पको यात्रा प्रतिबन्धको नीति अदालतले खारेज गरिदिएपछि इरान, इराक, लिविया, सोमलिया, सुडान, सिरिया र यमनका नागरिकहरु अमेरिका प्रवेश गर्न पाउने भएका छन् र अमेरिका प्रवेशमा लगाइएको शरणार्थीहरु प्रतिको रोक पनि अब कार्यान्वयन नहुने भएको छ। तर अदालतको फैसलाले आउँदो आर्थिक वर्षमा एक लाख दश हजार शरणार्थीलाई अमेरिकामा पुर्नस्थापना गर्ने ओबामा सरकारले गरेको निर्णयलाई ट्रम्ले ५० हजारमा झार्ने भन्ने नीतिका बारेमा भने केही सम्बोधन गरेको छैन।

प्रकाशित: १ फाल्गुन २०७३ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App