७ वैशाख २०८१ शुक्रबार
अर्थ

सेयरमा जलविद्युतको बर्चस्व बढ्दै

काठमाडौं- जलविद्युत कम्पनीले धमाधम सेयर निष्कासन गर्न थालेपछि जलविद्युत समूहको बर्चस्व बढन थालेको छ। सरकारी तथा निजी क्षेत्रबाट जलविद्युत आयोजना निर्माणलाई गति दिन थालिएसँगै जलविद्युत समूहको हिस्सा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा बढ्न पुगेको हो।

वाणिज्य बैंक समूूहको हिस्सा नेप्सेमा ८० प्रतिशतभन्दा बढी छ। बैंक तथा वित्तीय संस्थाले जलविद्युत आयोजना निर्माणमा सहज रुपमा सहवित्तीयकरणमा लगानी गर्न थालेपछि पछिल्लो समय जलविद्युत समूहको बर्चस्व बढन थालेको हो।

हालसम्म ११ जलविद्युत कम्पनीले सेयर जारी गरी नेप्सेमा सूचीकृत छन्। १३ कम्पनी सेयर जारी गरेर सूचीकृत हुने तयारीमा छन्। यी कम्पनीले तीन अर्ब २२ करोड रुपैयाँको सेयर जारी गर्नेछन्।

सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका र स्वीकृतिका लागि निवेदन दिएका सबै जलविद्युत कम्पनीको सेयर सूचीकृत हुने हो भने नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीको संख्या २४ पुग्नेछ। हालसम्म नेप्सेमा बढी सेयर हिस्सा भएका वाणिज्य बैंकको संख्या २८ वटा छन्।

हाल नेप्सेमा सूचीकृत बैंक, वित्त, बिमा कम्पनीको हिस्सा ९० प्रतिशत भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले शनिबार नागरिकलाई बताए। 'पछिल्लो समय जलविद्युत समूहको हिस्सा बढदै गएको छ,' उनले भने, 'हाल सूचीकृत चिलिमे र बुटबल पावर कम्पनीको सेयर हिस्सा अन्य जलविद्युत कम्पनीको भन्दा बढी छ।'

तामाकोसी, अरुण काबेली लगायत ठूला आयोजनाले सेयर जारी गरी नेप्सेमा सूचीकरण हुनासाथ जलविद्युत समूहको बर्चस्व ह्वात्तै बढने छ। चार सय ५६ मेगावाट क्षमताको तामाकोसी लगायत आयोजनाबाट आगामी दुई वर्षभित्र विद्युत उत्पादन हुनेछ। ती कम्पनीले बिजुली उत्पादन गर्नुअघि नै सेयर जारी गर्दैछन्। उक्त सेयरले पनि जलविद्युत समूहको हिस्सा बढाउने छ।

जलविद्युत बाहेक अन्य समूहको सेयर आउने सम्भावना नभएकाले पनि अब जलविद्युतको बचर्स्व बढ्ने सम्भावना देखिएको नेप्सेका प्रवक्ता पराजुलीले बताए। 'अब सेयर बजारमा सूचीकृत हुने भनेकै जलविद्युत कम्पनी हुन्,' उनले भने, 'ठूला आयोजना निर्माण हुने क्रममा रहेकोले पनि जलविद्युत समूहको सेयर बढी आउने देखिन्छ।'

हाल नेप्सेमा ११ वटा जलविद्युत कम्पनीको सेयर सूचीकृत भएको छ। अपि, अरुण भ्याली, बरुण, बुटवल, चिलिमे, खानीखोला, नेसनल, ङादी, रिडी, सानिमा माई र जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर नेप्सेमा सूचीकृत छन्।

जलविद्युत लगानी तथा विकास कम्पनीबाहेक अन्य जलविद्युत कम्पनीलाई नेप्सेले जलविद्युत समूहमा राखेको छ। तर, जलविद्युत लगानी तथा विकास कम्पनीलाई भने वित्त समूहमा राखेको नेप्सेको भनाइ छ। 'जलविद्युत लगानी तथा विकास कम्पनीले जलविद्युत आयोजना निमार्ण गर्ने काम गर्दैन,' नेप्सेका प्रवक्ता पराजुलीले भने, 'जलविद्युत आयोजनालाई ऋण मात्र लगानी गर्ने भएकाले वित्त समूहमा राखिएको हो।'

सातवटा जलविद्युत कम्पनीले सेयर निष्कासन गर्ने अन्तिम तयारीमा बसेको नेपाल धितोपत्र बोर्डको भनाइ छ। उक्त सात कम्पनीलाई सेयर निष्कासन गर्न स्वीकृत दिएको छ।

युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर, हिमालयन पावर पार्टनर, छ्याङ्दी हाइड्रोपावर कम्पनीलाई बोर्डले आयोजना प्रभावित जिल्लाका लागि प्राथमिक सेयर जारी गर्न स्वीकृति दिइसकेको छ। यसैगरी अरुण काबेली, सिनर्जी पावर डेभलपमेन्ट र युनाइटेड मोदी हाइड्रो पावरलाई सर्वसाधारणलाई सेयर निष्कासन गर्न बोर्डले स्वीकृति दिएको छ। यी आयोजनाले स्थानीयबासीलाई कम्तीमा १० प्रतिशत सेयर दिनुपर्ने हुन्छ। यसैगरी, सर्वसाधारणका लागि न्यूनतम १५ प्रतिशत सेयर दिनुपर्ने कानुनी बाध्यता छ।

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्दैछ। धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति दिएको हो। यसअघि आयोजनाले स्थानीयबासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ। बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकलाई प्रदान गर्ने गरी स्वीकृति दिएको हो।

आयोजनाले प्रभावितलाई ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाइसकेको छ। १० प्रतिशत स्थानीय, १५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत प्रवर्द्धकको सेयर हुनेछ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई तोकिएको छ। सर्वसाधारण र स्थानीय बासिन्दालाई गरी कुल २८ करोड बराबरको २८ लाख कित्ता सेयर निष्कासन हुनेछ।

हाल सो कम्पनीले १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना सञ्चालन गरिरहेको छ भने त्यत्ति क्षमताको तल्लो मोदी–२ निर्माणको तयारी गरेको छ।

यसैगरी, ६ वटा जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गर्न बोर्डमा निवेदन दिएका छन्। उक्त आयोजनाले प्राथमिक सेयर जारी गर्न दिएको निवेदन पाइप लाइनमा रहेको बोर्डको भनाइ छ।

आखुँखोला जलविद्युत आयोजना, मैलुङ खोला जलविद्युत कम्पनी, गर्ज्याङ उपत्यका हाइड्रोपावर,राधी विद्युत कम्पनी, जोशी हाइड्रोपावर, रैराङ हाइड्रोपावर डेभलपमेन्टले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई सेयर बाँड्न बोर्डमा निवेदन दिएका छन्।

पछिल्लो समयमा सर्वसाधारणको जलविद्युत्मा चासो बढेपछि प्रवर्द्धक कम्पनीहरुले धमाधम स्थानीयबासीका अतिरिक्त सर्वसाधारणलाई सेयर दिन थालेका छन्। केही जलविद्युत कम्पनीले नयाँ आयोजना निर्माणका लागि थप लगानी जुटाउन हकप्रद सेयर निष्कासनको तयारी गरेका छन्।

प्रकाशित: १ फाल्गुन २०७३ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App