coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दुइ सेकेन्डले भुमि च्याम्पियन

काठमाडौं- दुई सेकेन्डले बिपक्षीलाई पछि पार्दै नेपाल पुलिस क्लबका भुमिराज राई प्रधान सेनापति खुल्ला म्याराथन च्याम्पियन बनेका छन्। भुमिराजले शनिबार त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई ०२ सेकेण्डले उछिने।

प्रतियोगिताको दोस्रो संकरणमा भुमिराजले निर्धारित दुरी २ घण्टा २४ मिनेट १३ सेकेन्डमा पूरा गरे।  कृष्णले २ घण्टा २४ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दा तेस्रो स्थानमा रहेका आर्मीकै राजन खत्रीले २ घण्टा २५ मिनेट ५० सकेन्डमा दौड पूरा गरेका थिए। गत वर्षको पहिलो संकरण गोपिचन्द्र पार्कीले जित्दा भुमिराज पाँचौ स्थानमा रहेका थिए।

‘गत वर्ष यही प्रतियोगितमा पाँचौं भएको थिए। आज उपाधि जित्दा खुशी छु ,’ २९ वर्षे भुमिराजले भने, ‘मेरो गुरू रघुँराज वन्त, पुलिस क्लबलगायत मलाई यहाँसम्म पुग्न सहयोग गर्नुहुने सबैलाई धन्यबाद।’

भुमिराजले १ लाख रुपैयाँ सहित यमाहा मोटरसाइकल पुरस्कार जिते। दोस्रो भएका कृष्णले ५० हजार र तेस्रो स्थान हासिल गरेका राजनले २५ हजार हात पारे।

भुमिराजले ३७ किलोमिटरमा निर अलि गाह्रोभए पनि पछि आफुले मिहिनेत गरेको बताए।

‘निकै प्रतिस्पर्धात्मक रह्यो। ३७ किलोमिटरमा मलाई अलि गाह्रो भयो। त्यसपछि जित्ने रणनीतिमा दौडिए। र सफल भए,’ भुमिराजले थपे, ‘म दौडभरी पछि थिए। तर, यही आइपुग्ने बेला मात्र म अघि बढेको हो। कृष्णलाई पछ्याउदै शक्ति संचय गरिरहेको थिए। त्यसले मलाई अन्तिममा तान्न मद्धत गर्‍यो।’

भोजपूरको फिदिमा जन्मिएका भुमिराजले म्याराथनमा उपाधि जितेको यो पाँचौं पटक हो। यसअघि काठमाडौं म्याराथनको आठौं र दशौं विजयी भएका भुमिराजले ४०औं नेशनल गेम्स र सातौं राष्ट्रिय खेलकुदमा विजय हासिल गरेका थिए। उनले अबका लक्ष्य विश्व च्याम्पियनसपमा क्वालिफाइड हुने रहेको बताए।

‘अब लगत्तै टेनिङ गर्न ५ महिनाका लागि चीन जादैछु। नेपालबाट अहिलेसम्म विश्व च्याम्पियनसिपमा क्वालिफाइड भएर कोही पनि सहभागि भएको छैन। मेरो लक्ष्य विश्व च्याम्पियनसिपमा क्वालिफाइड भएर प्रतिस्पर्धा गर्ने हो,’ भुमिराजले थपे, ‘त्यसमा सफल हुनु नुहुनु आफ्नै ठाँउमा तर मेरो अर्जुनदृष्टि त्यसमैमा हुनेछ।’

भुमिराजले म्याराथन दौडन थालेको ५ वर्ष मात्र भएको छ। तर उनले पाँच उपाधि जितिसकेका छन्। म्याराथन दौडन अघि ५ र १० हजार मिटरमा प्रतिस्पार्धा गर्ने भुमिराज ९ वर्षअघि पुलिस क्लबमा आएका थिए।

२१ किलोमिटरको हाफ म्याराथन भने त्रिभुवन आर्मी क्लबको बर्चश्व रह्यो। पहिलो भएका कल्याण बानियाँले १ घण्टा ११ मिनेट ०२ सेकेन्डमा दुरी पूरा गर्दा दोस्रो भएका राम्जी बस्नेतले १ घण्टा ११ मिनेट ०५ सेकेन्डमा दुरी पूरा गरेका थिए। तेस्रो स्थान हात पारेका राजकुमार विष्टले १ घण्टा ११ मिनेट ०६ सकेन्डमा दुरी पूरा गरे। हाफ म्याराथनमा लक्ष्मण मल्ल र क्षत्रबहादुर दाहालले पहिलो दुरी पार गरे पनि ट्रयाक पूरा नगरेकाले मान्यता दिइएको थिएन। प्रथम भएका कल्याणले २५, दोस्रो स्थानका राम्जीले १५ र तेस्रो भएका राजकुमारले १० हजार रुपौयाँ नगद पुरस्कार जिते।

हाफ म्यारथनको महिला तर्फ पनि त्रिभुवन आर्मीकै विश्वरुपा बुढाले जितिन्। उनले १ घण्टा २० मिनेट ३६ सेकेन्डमा दौड पूरा गरेकी थिइन्। आर्मीकै सानुमाया कार्की दोस्रो र सशस्त्र प्रहरीको एपिएफकी पुष्पा भन्डारीले जितिन्। सानुमायाले १ घण्टा २५ मिनेट ०३ सेकेन्डमा दुरी पुरा गर्दा पुष्पाले १ घन्टा २५ मिनेट ५६ सेकेन्डमा दौड पूरा गरिन्।

एथलेटिक्सका पूर्व धावक सम्मानित

त्रिभुवन आर्मी क्लबबाट विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका धावकलाई सम्मान गरिएको छ।

१९९० मा बेइजिङमा सम्पन्न ११ औं एसियन प्रतियोगितामा सहभागि आशाराम चौधरी, सिड्नी ओलम्पिकमा सहभागि ज्ञानबहादुर बोहोरा, १९८८ दक्षिण कोरिया ओलम्पिकमा सहभागि डम्बर कुँवर, कृष्ण बस्तेन र टिका बोगटी, १९८४ को लस एन्जल्स ओलम्पिकमा सहभागि अर्जुन पण्डित, १९९६ को ओलम्पिकमा सहभागि सिताराम शाही १९८० को मस्को ओलम्पिकमा सहभागि लक्ष्मण बस्नेत सम्मानित भए।

प्रकाशित: १ फाल्गुन २०७३ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App