८ वैशाख २०८१ शनिबार
राजनीति

‘चुनाव जसरी पनि गराउँछौं’ : कांग्रेस

पालुङटार (गोरखा)- कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जसरी पनि चुनाव गर्ने बताएका छन्। ‘ सरकारले स्थानीय निकाय चुनाव गराउनेछ’, कांग्रेस क्षेत्र नम्बर २ गोरखाको आयोजनामा पालुङटारमा शनिबार आयोजित सभामा सभापति देउवाले भने, ‘आउँदो माघ ७ सम्म स्थानीयदेखि केन्द्रीय चुनाव सम्पन्न गर्नुपर्छ।’ वर्तमान सरकारले स्थानीय निकाय चुनाव गराउने र त्यसपछि अर्को सरकारले प्रान्त र संघीय चुनाव गर्ने योजना रहेको देउवाले बताए।

संविधान कार्यान्वयनका लागि पनि चुनाव गर्नुपर्ने सभापति देउवाले बताए। हिमाल, पहाड र तराईलाई नटुक्र्याई लैजान संविधान संशोधन आवश्यक रहेको उनको भनाइ थियो। एमालेप्रति लक्षित गर्दै उनले भने, ‘देश टुक्र्याएर तराई र पहाडबीच कृत्रिम विभाजन ल्याउने प्रचारबाजीमा केही शक्ति लागेका छन्।’ देश टुक्र्याउनबाट जोगाउन कांग्रेसले संविधान संशोधन प्रस्ताव गरेको उनले प्रस्ट पारे।

केन्द्रीय सदस्य एवम् स्वास्थ्यमन्त्री गगन थापाले जसरी पनि स्थानीय निकाय निर्वाचन सम्पन्न गर्न कांग्रेस सक्रिय हुनुपर्ने बताए। उनले भने, ‘यो देशका लागि पनि निर्वाचन गराउनु जरुरी छ, केन्द्रमा हामीले माहोल बनाउँछौं, जिल्ला र गाउँगाउँमा कार्यकर्ताले माहोल बनाउनुहोस्।’ कुनै शंका नमानी निर्वाचनमा होमिन थापाले कार्यकर्तालाई निर्देशन दिए।

अर्का केन्द्रीय सदस्य एवं वनमन्त्री शंकर भण्डारीले कांग्रेसले चुनाव चाहेको तर अन्य तŒवले टार्न खोजेको आरोप लगाए। उनले भूकम्पपीडितलाई घर बनाउन ९० प्रतिशत छुटमा काठ उपलब्ध गराउने घोषणा गरे।

अर्का केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सबै राजनीतिक दल मिलेर चुनावमा होमिनुको विकल्प नभएको बताए। सभामा नेताहरू प्रदीप पौडेल, कमला पन्त, चीनकाजी श्रेष्ठलगायतले स्थानीय चुनाव गर्न कांग्रेस नेतृत्व लागिपर्नुपर्ने बताए।

प्रकाशित: १ फाल्गुन २०७३ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App