coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'संविधान संशोधन र निर्वाचनको तयारी एकसाथ'

रौतहट- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र निर्वाचनको तयारी दुवै भइरहेको बताएका छन्। रौतहटको विभिन्न चार ठाउँमा आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्ने गर्ने क्रममा प्रधानमन्त्री दाहालले सबैलाई सर्वस्वीकार्य बनाउने गरी संसदमा पेश भइसकेको संविधान संशोधनको विधेयकलाई पास गराउन सरकार लागि रहेको बताए। उनले आगामी माघ ७ भित्र देशमा तिनै तहको निर्वाचन गराइसक्नुपर्ने बाध्यता रहेकोले निर्वाचनको तयारीमा पनि सरकार लागेको प्रष्ट पारे।

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहको संयोजकत्वमा चलिरहेको सडक बचाऔँ अभियानको २१ औ महिनाको कार्यक्रमलाई रौतहटको सोनरनियामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मधेस, पहाड र हिमाललाई जोड्ने तथा देशमा विकास निर्माणको कार्यलाई गति दिने दुई अभियानलाई आफ्नो सरकारले प्राथमिकतामा राखी जोड दिएको बताए। मुख्य गरी पूँजीगत खर्चलाई बढावा दिनेगरी सरकारले कार्य गरिरहेको प्रधानमन्त्री उनले बताएका छन्।

रौतहटबासीको आवश्यकतालाई ध्यानमा राखी प्रधानमन्त्रीले १४ बुँदे प्रतिबद्धता जाहेर गर्दै तराईको बीचबाट रेलमार्गको सम्भाव्यताको लागि भारतसित गम्भीरतापूर्वक छलफल गरिरहेको, गौर र बीरगंजको वीचमा एउटा भन्सार कार्यालयको स्थापनाको लागि पहल गर्ने, सडक, सिँचाइ तथा अन्य विकास निर्माणको कामलाई प्राथमिकता दिने बताएका छन्।

विद्यार्थीलाई साइकल

प्रधानमन्त्रीले रौतहट क्षेत्र नम्बर ३ को सबै विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत करिब एक हजार पाँच सय छात्राका लागि सांसद प्रभु साहले उपलब्ध गराएको साइकल वितरण कार्यक्रमको समेत शुभारम्भ गरेका छन्। कार्यक्रममा देशभरका छात्रा शिक्षालाई सहयोग पुग्ने किसिमको साइकल वितरण कार्यक्रमको सुरुआतका लागि आफूले पहल गर्ने बताए।

रौतहटको जिंगडबा बेलबिछवा गाविसको करुनियामा आयोजित नेपाल–भारत मुशायरा कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले मुस्लिम समुदायको सम्मान लोकतन्त्रमा बढेको बताएका छन्। मुसायरा कार्यक्रमले नेपाल र भारतबीच कूटनैतिक किसिमले सम्बन्ध स्थापना गर्ने बताउँदै प्रधानमन्त्री दाहालले सबै जातजाति, भाषाभाषीबीच नयाँ किसिमको एकता बनाउने दिशामा कार्यक्रम सहयोगी हुने बताएका छन्।

आफ्नो पार्टी उत्पीडितहरुको पक्षमा सधैँ आवाज उठाइरहने पार्टी भएको र लोकतन्त्रको स्थापनापछि मुस्लिम समुदायलाई हेर्ने नजरिया नै परिवर्तन भएको समेत प्रधानमन्त्री दाहालले बताए।

यसै गरी रौतहटको सखुअवामा जिल्लाका कार्यालय प्रमुखहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मधेस, पहाड र हिमाललाई जोडेर देशको एकतालाई बढाउँदै संविधानलाई सर्वस्वीकार्य बनाउने दिशामा कार्य गर्न निर्देशन दिएका छन्। जनताको पक्षमा इमानदारीपूर्वक कार्य गर्दै निर्वाचनको वातावरण बनाउने दिशामा भूमिका खेल्नसमेत कर्मचारीहरुलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

सखुअवामै आयोजित अर्को कार्यक्रममा नेकपा माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्डले स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचनमा पार्टीलाई एक नम्बर स्थानमा ल्याउन विशेष निर्देशन दिएका छन्।

प्रकाशित: २९ माघ २०७३ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App