४ वैशाख २०८१ मंगलबार
खेल

उपाधिको लागि भिडदै आर्मी र संकटा

बारा- सिमरामा जारी आठौं सिमरा गोल्डकपमा उपाधीको लागि शनिबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र सिएमजी संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मीले हिमालयन शेर्पा र संकटाले साबिक विजेता विजय युथ क्लबलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको थिए। फाइनल जित्दै उपाधी उचाल्ने दुवै टिमका अधिकारीले दावी गरेका छन्।

सिमरा रंगशालामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले उपाधी जित्ने दावी गरेका हुन्। यो सिजनमा संकटा र आर्मीबीच यो चौथो भेट हो। यसअघि तीन पटक आमने–सामने हुँदा आर्मीले एक खेल जितेको थियो भने संकटाले दुई पटक बाजी मारेको थियो।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले संकटाविरुद्धको फाइनलका लागि खेलाडीलाई मानसिक र शारिरिक रुपमा तयार पारिएको बताए। त्यही बलमा उपाधि जित्ने उनको दावी थियो। संकटा बलियो टिम भएकाले फाइनल प्रतिस्पर्धात्मक भए पनि नजिता आफ्नै पक्षमा आउने उनले बताए।

'संकटाको आक्रमण निकै राम्रो छ। त्यसैले हामीलाई उपाधि जित्न सजिलो हुने छैन। तर हामी संकटाको आक्रमणलाई रोक्दै आफू बलियो रुपमा प्रस्तुत हुनेछौं,' न्यौपानेले भने।

संकटाका प्रशिक्षक सल्यान खड्गीले आर्मी बलियो टिम रहेकाले रणनीति अनुसार खेलाडीले खेल्न नसके फाइनल कठिन हुने बताए। 'बलियो टिमले कहिले काँही कमजोर प्रदर्शन गरेर हार्ने गरेका उदाहरण हामीले फुटबलमा धेरै देखेका छौं,' खड्गीले भने, 'आर्मीका खेलाडीको तालमेल हामीले यो प्रतियोगितामा हेरिरहेका छौं। उनीहरुको कमजोरीमा हामीले फाइदा उठाउन सक्नुपर्छ।'

आर्मीका लागि यो यस वर्षको दशौं प्रतियोगिता हो भने संकटालेे आठौं प्रतियोगिताको रुपमा सिमरा गोल्डकप खेलिरहेको छ। आर्मीले यसअघि पाँच वटा प्रतियोगिताको फाइलनमा पुग्दा तीन पटक उपाधि जितेको थियो। आर्मीले वर्ष २०७३ मा नेपाल कप, सुमन भोम्जन स्मृति कप र दुहवी गोल्डकपको उपाधी जितिसकेको छ। संकटाले यसअघि नारायणघटमा विकाश सिल्ड फुटवलको उपाधि जित्दा फाइनलमा आर्मीलाई सिकार बनाएको थियो।

प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पाउनेछ। यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ भने उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५ हजार रुपैयाँका दरले पाउनेछन्।

प्रकाशित: २९ माघ २०७३ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App