६ वैशाख २०८१ बिहीबार
समाज

शोकमा केरौंजावासी, थप एकको मृत्यु

गोरखा– बाटो मर्मत गर्न जाने क्रममा श्रीमती कान्छीमाया गुरुङको पहिरोमा पुरिँदा मृत्यु भएको खबर सुनेपछि घर फर्कंदै गरेका गोरखाको केरौंजा–३ का कृष्ण तामाङको मृत्यु भएको छ। सालो कृष्ण घलेको साथमा घर (केरौंजा) फर्कंदै गरेका तामाङको गएराति अकस्मात् अचेत हुँदा मृत्यु भएको हो।

पहिरोमा पुरिँदा केरौंजा–३ का ३० बर्षीया चीनमाया गुरुङ, ४५ वर्षीया कान्छीमाया गुरुङ र १५ वर्षीय सन्दीप घलेको मृत्यु भएपछि शोकमग्न गाउँलेहरु गएराति तामाङको पनि मृत्यु भएपछि थप पीडामा परेको केरौंजा–३ बोवाङका फिरेन्द्र घलेले बताए। तामाङको साथमा रहेका नाताले सालो पर्ने कृष्ण घलेको छोरा सन्दीपको पहिरोमा पुरिँदा मृत्यु भएको थियो।

छोरा सन्दीप र दिदी कान्छीमायाको मृत्युको खबर सुनेपछि साला, भेना घर फर्कंदै थिए। बाटोमा हिँडिरहेको अवस्थामा गएराति १२ बजे मनास्लु पदमार्गअन्तर्गत केरौंजा–९ स्थित यारुबगरमा बेहोस भई ढलेपछि तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

घटनास्थलमा प्रहरी आइपुगेको बताउँदै यारुबगरका स्थानीय होटल सञ्चालक गोपाल घलेले भने– “श्रीमतीको मृत्युको खबर सुनेपछि रातारात घर फर्केका तामाङ अचेत भई ढलेछन्, राति १२ बजेतिर उनको मृत्यु भयो।” केरौंजा गाउँबाट आफन्त र गाउँलेहरु घटनास्थल नपुगेकाले शव बाटोमै राखिएको उनले बताए। घटनास्थलमा सिर्दिवासस्थित प्रहरी चौकी जगतका प्रहरीहरु पुगिसकेका छन्।

बर्खा लागेपछि गाउँको चारैतिरबाट पहिरो झर्दा केरौंजा गाउँ जोखिममा परेको हो। केरौंजावासीले आफूहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न आग्रह गर्दै आए पनि स्थानीय प्रशासनले बस्ती सार्नेबारे कुनै पहल गरेको छैन। रासस

प्रकाशित: २३ असार २०७३ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App