coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्दिर-मस्जिद पोस्दै सांसद

सप्तरी, मौवास्थित राजेश्वरी निमाविको कक्षा कोठामा भुईंमै पढिरहेका बालबालिका। तस्बिर : जितेन्द्र

राजविराज- सप्तरी, मौवाहास्थित राजेश्वरी निम्न माध्यमिक विद्यालयसँग अहिले २० जोडी बेन्च–डेस्क मात्र छन्। कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयका अधिकांश बालबालिकालाई भुईंमै बसेर पढ्नुपर्ने बाध्यता छ। मौवाहाछेउमै रहेको बेल्ही गाविसस्थित दलित राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था झन् दयनीय छ। विद्यालयसँग न त फर्निचर छन्, न त आवश्यक भवन नै। शिक्षक अभाव उस्तै। धुलाम्य भुईंमा दलितका बच्चालाई बस्नुपर्ने बाध्यता कसैसँग लुकेको छैन। यद्यपि, समस्या समाधानतर्फ भने कसैको ध्यान पुग्न सकेको छैन।

विद्यालयसँग भवन, बेन्च छैन, शिक्षक छैनन्, स्वास्थ्यचौकी राख्ने घर छैन, सांसद भने मन्दिर र मस्जिदमै निर्वाचन क्षेत्र कोष रित्याउँछन्।

मौवाहा र बेल्ही दुवै गाविस सप्तरी निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत पर्छन्। यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद सुरेन्द्रप्रसाद यादवले यस वर्ष मात्र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत ५० लाखको योजना तथा कार्यक्रम बाँडे तर उनको योजनामा भने यी विद्यालय परेनन्।

 'यसपालि त दुवै विद्यालयको समस्यातर्फ सांसदज्यूको ध्यानाकर्षण हुन्छ भन्ने हामीले अपेक्षा गरेका थियौं तर त्यस्तो भएन', स्थानीय युवा धीरज झाले भने, 'बेल्हीमै रामजानकी मन्दिर निर्माणका लागि उहाँले बजेट छुट्ट्याउनुभयो तर विद्यालयतर्फ उहाँको ध्यान पुग्न सकेन।'

बेल्ही मात्र होइन, सांसद यादवले यस वर्ष निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५० लाखमध्यै ४४ लाख २५ हजार रुपैयाँ आफ्नो क्षेत्रअन्तर्गतको मन्दिर निर्माणमै खर्चेका छन्। आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न गाउँटोलमा रहेका १६ वटा मन्दिर तथा डिहवार थान निर्माण, पुनर्निर्माण तथा जीर्णोद्धारका लागि सांसद यादवले ४४ लाख २५ हजार खर्चेका हुन्।

 सप्तरीको दक्षिणी सीमावर्ती गाविस तिलाठीस्थित स्वास्थ्यचौकीको आफ्नै भवन छैन। २०५२ मै उपस्वास्थ्यचौकीका रुपमा स्थापित उक्त स्वास्थ्य संस्था कहिले कसैको निजी घर त कहिले विद्यालयका कोठामा सञ्चालित छ।

अहिले गाविस कार्यालयले उपलब्ध गराएको एउटा कोठामा सीमित यो स्वास्थ्यचौकीको समस्यामा पनि कुनै सांसदको ध्यान पुग्न सकेको छैन अहिलेसम्म।

'गाविससँग आवश्यक स्रोतसाधन छैन, अन्य सरोकारवालाको त्यतातिर ध्यानै पुग्दैन', पूर्व गाविस अध्यक्ष दिनेश्वर मिश्र भन्छन्।

गाविसले आफ्नो पहलबाट केही काम थाले पनि आवश्यक बजेट नहुँदा स्वास्थ्यचौकी भवन निर्माण कार्यसमेत अलपत्र परेको मिश्र बताउँछन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाटै प्रतिनिधित्व गर्ने समानुपातिकतर्फकी सांसद तथा एमाले नेत्री रञ्जु झा ठाकुरले पछिल्लो साता तिलाठीमा १० लाखभन्दा बढी लागतको वृद्धाश्रमको शिलान्यास गरेकी छन्।

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत ठाकुरले उक्त योजना थालेका हुन्। यसअघि सोही कार्यक्रमअन्तर्गत उनले तिलाठीकै लक्ष्मीनारायण मन्दिर परिसरमा धर्मशाला निर्माण गरेकी थिइन्। धर्मशालाको बाँकी काम निरन्तरता दिन यस वर्ष पनि १ लाख ५० हजार विनियोजित गरेकी छन्।

'धर्मशाला र वृद्धाश्रम भन्दा पनि हामीकहाँ स्वास्थ्यचौकीको खाँचो छ', स्थानीय चन्दन झा भन्छन्, 'तिलाठी बर्सेनि डुबानमा पर्ने गर्छन्, खासगरी वर्षाका बेला गाउँबाट बाहिर जान गाह्रो हुने गर्छन्, स्वास्थ्यचौकीको आफ्नै भवन भइदिएको भए गाविसकै लगानीमा त्यहाँ बर्थिङ सेन्टर सुचारु गर्न सकिन्थ्यौं।'

'टापु' गाउँ भनेर चिनिने सप्तरीको गोबरगाढास्थित स्वास्थ्यचौकी गोठमा सञ्चालित छ। दुई शिक्षकका भरमा स्थानीय विद्यालय सञ्चालित छन्। चारैतिर कोसीले घेरिएको गाउँबाट बाहिर निस्कन डुंगासम्म छैन। स्वास्थ्य, शिक्षा, सुरक्षा र विकास सबै दृष्टिले गोबरगाढा पछाडि छ।

राज्यविहीनताको अवस्थामा जोखिमपूर्ण जीवनयापन गर्दै आएका यहाँका बासिन्दाको समस्याप्रति यस क्षेत्रका सांसदको समेत ध्यान पुग्न सकेको छैन। यस वर्ष मात्र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने चार सांसदले २ करोड रुपैयाँ विभिन्न योजना खर्चेका छन्। यद्यपि, गोबरगाढाको समस्याप्रति स्थानीय जनप्रतिनिधिले खासै चासो नदेखाएको स्थानीय हरिनारायण यादवको गुनासो छ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत क्षेत्र नम्बर २ मा चार सांसदले विनियोजन गरेका २ करोडमध्ये झन् ८४ लाख रुपैयाँ त विभिन्न मन्दिर र मस्जिदका लागि विनियोजित गरेका छन्। 'हामी पनि धर्म नमान्ने होइन', गोबरगाढाका विद्यानन्द यादवले भने, 'मन्दिर–मस्जिद बनाउनुस् तर कोसीको कोपका बीच जीवनयापन गर्ने गोबरगाढावासीका लागि पनि केही सोचिदिनुस्।'

मन्दिर–मस्जिदमै अधिकांश बजेट

 सप्तरीका प्रायः निर्वाचन क्षेत्रका अवस्था यस्तै छ। निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सरकारले दोब्बर पारे पनि योजना छनोट र प्राथमिकीकरणको अवस्था भने पुरानै रहेको मधेसी नागरिक समाजका अगुवा बद्रीनारायण झाको आरोप छ।

'यसको नाम निर्वाचन क्षेत्र विकास कार्यक्रम हो, तर बजेट माननीय र उनका आसेपासेको विकासमै सीमित छ', झाले भने, 'मन्दिर–मस्जिद पनि बनाऊ तर पहिले आवश्यकता के छ, त्यसतर्फ विचार पुर्‍याएर काम गरे राम्रो हुन्थ्यो।'

जिल्ला विकास समिति, सप्तरीले उपलब्ध गराएको तथ्यांकअनुसार सप्तरीका १६ सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत खर्चेका ८ करोडमध्ये करिब ३ करोड रुपैयाँ मन्दिर–मस्जिद, डिहवार थान निर्माण तथा विभिन्न जातीय संगठनको भवनलगायत निर्माण कार्यमा खर्चेका छन्।

सबैभन्दा बढी सप्तरी निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद तथा कांग्रेस नेता सुरेन्द्र यादवले ४४ लाख २५ हजार रुपैयाँ मन्दिर, डिहवार निर्माणमा खर्चेका हुन्।

त्यस्तै, क्षेत्र नम्बर ४ का निर्वाचित सांसद ताराकान्त चौधरी (एमाले) ले २५ लाख ७० हजार तथा फोरम लोकतान्त्रिकबाट समानुपातिकतर्फ चुनिएका जितेन्द्रनारायण देवले २५ लाख ५० हजार रुपैयाँ मन्दिर लगायतका धार्मिक पूर्वाधार निर्माणमा खर्चेका छन्।

 यसैगरी, क्षेत्र नम्बर २ वाट निर्वाचितअशोककुमार मण्डल(माओवादी केन्द्र) ले २५ लाख, फोरम लोकतान्त्रिककी समानुपातिक सांसद रमणीदेवी रामले २२ लाख, उप–सभामुख गंगा यादवले १९ लाख तथा संघीय समाजवादी फोरम नेपालकी समानुपातिक सांसद लक्ष्मी चौधरीले १७ लाख रुपैयाँ धार्मिक पूर्वाधार निर्माणमा खर्चेकी छन्।

 त्यस्तै, कांग्रेसका समानुपातिक सांसद सकलदेव सुतिहारले १७ लाख ५० हजार, क्षेत्र नम्बर ५ का निर्वाचित सांसद तेजुलाल चौधरी (कांग्रेस) ले १५ लाख, क्षेत्र नम्बर १ का मानपुर चौधरी (माओवादी–केन्द्र) ले १४ लाख ५० हजार रकम मन्दिर–मस्जिद निर्माणका लागि विनियोजित गरेका छन्।

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत मन्दिर–मस्जिदलगायत धार्मिक पूर्वाधारतर्फ सबैभन्दा कम मात्र १ लाख बजेट कांग्रेस सांसद रञ्जित कर्णले विनियोजित गरेका छन्। आफ्नो कोषको ५० लाखमध्ये उनले राजविराज–९ स्थित चित्रगुप्त मन्दिर मर्मर्तका लागि १ लाख रुपैयाँ विनियोजित गरेका छन् जुन उनकै समुदाय चित्रगुप्त कायस्थको कुलदेवता मन्दिर हो।

प्रकाशित: २९ माघ २०७३ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App