coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सूचना विभागमा सूचनाको भण्डार बनाइने

बनेपा, २८ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विश्वभर तीव्र गतिमा विकास भइरहेको सूचना प्रविधिलाई विकासका हरेक कार्यमा जोड्नुपर्ने बताएका छन्।

सूचना तथा सञ्चार मन्त्रालयद्वारा आजदेखि धुलिखेलमा सुरु भएको दुईदिवसीय ‘सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी अन्तक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले भने,  “नेपाली जनता नै ज्ञान र सूचनाले सुसज्जित भएपछि मात्र विकास हुने भएकाले त्यसतर्फ सबैको ध्यान पुग्नुपर्छ।”

सरकारका प्रवक्ता कार्कीले अर्काे प्रसङ्गमा कर्मचारीतन्त्रमा अलिकति जडता र राजनीतिमा अलिकति सामन्ती संस्कार रहेकामा असन्तोष व्यक्त गरे।

सञ्चारमन्त्री कार्कीले दूरसञ्चारका क्षेत्रमा स्पष्ट नीतिको अभाव रहेको बताउँदै सूचना विभागमा सूचनाको भण्डार बनाइने, हुलाकलाई सामुदायिक सूचना केन्द्रका रुपमा विकास गरिने, टेलिकमको सेवा सहज र सुलभ रुपमा उपभोक्ताले प्राप्त गर्ने, नेपालको आफ्नै भूउपग्रह स्थापना गर्नेजस्ता कार्यमा ध्यान दिइएको जानकारी दिए।

कार्यक्रममा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले दूरसञ्चारका क्षेत्रमा आएका नवीन प्रविधि र यसबाट प्राप्त हुने लाभका विषयमा सांसद जानकार हुन सकेमा मुलुकलाई नै फाइदा पुग्ने बताए।

सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मन्त्रालयले आमसञ्चार र दूरसञ्चारका क्षेत्रमा गरेका महत्वपूर्ण कार्यको विवरण प्रस्तुत गर्दै मन्त्रालयबाट सम्पादित कार्यका बारेमा संसद्को विकास समितिमा नियमित जानकारी गराइएको बताए।

कार्यक्रममा ग्रामीण दूरसञ्चार विकासका लागि अगाडि बढाइएका कार्यक्रमको कार्यान्वयन स्थिति र यसका चुनौती, दूरसञ्चारका नयाँ प्रविधि र नेपालमा त्यसको उपयोग, सञ्चार मन्त्रालयबाट भएगरेका कार्य तथा मन्त्रालय मातहतका विभिन्न निकायको वर्तमान स्थितिका बारेमा छलफल हुनेछ। रासस

प्रकाशित: २८ माघ २०७३ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App