८ वैशाख २०८१ शनिबार
अर्थ

चीनसँगको आयात ३४ प्रतिशतले बढ्यो

काठमाडौं- भारतले नेपालविरुद्ध लगाएको नाकाबन्दीपछि चीनसँग नयाँ सम्बन्ध बढेको चर्चा चल्दै गर्दा दुईपक्षीय व्यापार पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट हुने आयात ३४ प्रतिशतले बढेको छ।

काठमाडौंलाई लक्ष्य गरेर चीनको ग्वान्झाउबाट मालबाहक रेल छुटेसँगै अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्ष ३४ प्रतिशतले आयात बढेको हो। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा चीनबाट नेपालले ६४ अर्ब ४२ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ। पोहोर यो अवधिमा ४७ अर्ब ८७ करोड रुपैयाँको सामान आयात भएको थियो।

चीनबाट आयात बढ्दै जाँदा निर्यात भने निराशाजनक स्थितिमा पुगेको छ। पछिल्लो समय चीनसँगको व्यापार घाटा बढ्दै जाँदा चालु आर्थिक वर्षको ६ महिनामा झन्डै १८ प्रतिशत निर्यात घटेको छ। चालु आर्थिक वर्षमा नेपालले चीनमा जम्मा ९३ करोड रुपैयाँको सामान निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही समयमा एक अर्ब १२ करोड रुपैयाँको सामान चीन निकासी भएको थियो।

पछिल्लो समय चीनबाट आयात बढ्दै गएको सम्बन्धित व्यवसायी बताउँछन्। 'भारतसँगको व्यावसाय झन्झटिलो बन्दै जाँदा चीनबाट आयात बढेको छ,' लामो समयदेखि चीनबाट सामान आयात गर्दै आएका व्यवसायी राजन जमकटेलले भने, 'चिनियाँहरू नेपालसँग व्यापार गर्न सकारात्मक छन्।' नेपालको आयात व्यापारमा भारतपछि दोस्रो स्थानमा रहेको चीनबाट दूरसञ्चारका सामग्री, विद्युतीय उपकरण, मेसिनरी तथा पार्टपुर्जा, स्याउ तथा रासायनिक मल मुख्य रुपले आयात भएको केन्द्रले जनाएको छ।

व्यापार घाटा भने भारतसँग बढी छ। यस आर्थिक वर्षको ६ महिनामा भारतबाट हुने आयात पोहोरको भन्दा ९० प्रतिशतले बढेको छ। आर्थिक वर्ष ०७२/७३ को पहिलो ६ महिनामा नेपालले भारतबाट एक खर्ब ६१ अर्ब ८५ करोड रुपैयाँको सामान आयात गरेकोमा चालु आर्थिक वर्षको सोही समयमा तीन खर्ब आठ अर्ब ५१ करोड रुपैयाँ पुगेको केन्द्रले जारी गरेको तथ्यांकमा उल्लेख छ।

आयातको तेस्रो नम्बरमा युएई छ। त्यसपछि क्रमशः थाइल्यान्ड, इन्डोनेसिया, अर्जेन्टिना, अमेरिका, जापान, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, भियतनाम, युक्रेन, क्यानडा लगायत छन्। नेपालले निर्यात गर्ने देशमा भारत, अमेरिका, टर्की, जर्मनी, बेलायत, चीन लगायत छन्। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भारततर्फको निर्यात १६, अमेरिकातर्फको तीन, टर्कीतर्फको एक सय ६०, बंगलादेशतर्फको ३८ र डेनमार्कतर्फको १९ प्रतिशतले बढेको छ।

केन्द्रको प्रारम्भिक तथ्यांक अनुसार आर्थिक वर्ष ०७३/७४ को पहिलो ६ महिनामा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्ष सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले बढेर पाँच खर्ब दुई अर्ब नाघेको छ। कुल व्यापारमा निकासीको ७.२ र पैठारीको ९२.८ प्रतिशत योगदान छ। यस अवधिमा नेपालको निकासी १०.८ प्रतिशतले बढेर ३६.३२ अर्ब रुपैयाँ पुगेको छ। आयात ६४.३  प्रतिशतले बढेर खर्ब ६६ अर्ब नाघेको छ।

भारतबाट  पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, मेसिनरी तथा पार्टपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ। युएईबाट भने सुन–चाँदी, प्लास्टिकको कच्चा पदार्थ, लुब्रिकेटिङ तेल र चकलेट आयात भएको देखिन्छ। थाइल्यान्डबाट धागो, यातायातका साधन, हल्का पेय पदार्थ, स्याम्पु, प्लास्टिकको कच्चा पदार्थ आयात भएको देखिन्छ। इन्डोनेसियाबाट पनि कच्चा पाम तेल, कोइला, सुपारी, काठ तथा प्लास्टिकको कच्चा पदार्थ बढी आयात भएको छ।

नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडीबुटी प्रमुख छन्। नेपालका प्रमुख व्यापारिक साझेदार देशमध्ये निर्याततर्फका प्रमुख गन्तव्यमा भारततर्फ अलैंची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टिलका उत्पादन, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला, पिना प्रमुख रुपमा निर्यात भएका छन्।

प्रकाशित: २८ माघ २०७३ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App