coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

राईको जन्मदिनमा जित उपहार

पोखरा- नेपाल आर्मीको पुरुष र न्यू डायमन्ड एकेडेमीको महिला टोलीले सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगिताको शनिबार हुने फाइनलमा स्थान सुरक्षित गरेका छन्। बिहीबार पोखरा रंगशालाको भलिबल कोर्टमा भएका दुवै सेमिफाइनलमा आयोजक पश्चिमाञ्चललाई पराजित गर्दै आर्मी र न्यु डायमन्डले फाइनलमा स्थान पक्का गरेका थिए। पुरुषतर्फ फाइनलमा आर्मीले अर्काे विभागीय टिम पुलिससँग प्रतिस्पर्धा गर्नेछ भने महिलामा न्यु डायमन्डले एपिएफको सामना गर्नेछ।

पुरुष सेमिफाइनलमा आर्मीले चार सेटसम्म मेहनत गर्दै पश्चिमाञ्चलमाथि २५–२०, १६–२५, २५–१३, २५–२० को विजयी नतिजा निकालेको थियो। आर्मीका मानबहादुर श्रेष्ठ म्यान अफ दी म्याच भए।

आर्मीका प्रशिक्षक जगदिश भट्टले दोश्रो सेटमा सेटरको प्रदर्शन कमजोर हुँदा सोझो सेटमा नतिजा ल्याउन नसकेको प्रतिक्रिया दिए। 'पश्चिमाञ्चल पनि राम्रो टिम थियो। दोस्रो सेटमा हाम्रो सेटिङ र रिसिभमा कमजोरी हुँदा उनीहरुले त्यसको फाइदा उठाए,' फाइनलमा पुलिसको सामना गर्दा फरक रणनीतिका साथ उत्रिने जानकारी गराउँदै भट्टले भने। टोलीमा रहेका सात राष्ट्रिय खेलाडीको बलमा फाइनल सहजै जित्ने उनको दावी थियो। 

पश्चिमाञ्चलका प्रशिक्षक कृष्ण थापाले राम्रो खेले पनि नतिजा निकाल्न नसकेको बताउँदै भने, 'दोस्रो सेटमा मिलेको तालमेललाई त्यसपछि निरन्तरता दिन सकिएन। आर्मीले त्यसको फाइदा लियो।'

महिलातर्फ न्यु डायमन्डको जितसँगै पोखराको फाइनल पनि यसै महिना काठमाडौंमा सम्पन्न सशस्त्र प्रहरी महानिरिक्षक कप फाइनलको रिप्ले हुने भएको छ। न्यु डायमन्डले महानिरिक्षक कपको फाइनलमा एपिएफमाथि ३–२ को सेटमा विजय हासिल गर्दै उपाधिमा कव्जा जमाएको थियो। यसै वर्ष एपिएफविरुद्ध चौथो फाइनलमा स्थान सुरक्षित गर्ने क्रममा न्यु डायमन्डले घरेलु टोली पश्चिमाञ्चलको चुनौती चार सेट खेल्दै २५–१९, २५–१७, १७–२५, २५–११ को नतिजामा समाप्त गरेको थियो। न्यु डायमन्डकी स्पाइकर प्रतिभा माली वुमन अफ दी म्याच भइन।

पश्चिमाञ्चलकी प्रशिक्षक कौशिला खत्रीले तयारीको कमीका कारण फाइनल पुग्न नसकेको प्रतिक्रिया दिइन। 'यस्तो प्रतियोगिताका लागि कम्तिमा ४–५ महिना नियमित प्रशिक्षण चाहिन्छ। तर, हामीले खेलाडी बटुलेर खेलाउनुपर्ने बाध्यताले राम्रो तयारी गर्न पाएनांै,' बुटाल, म्याग्दी र पोखराका खेलाडीलाई समेटेर टिम बनाएको जानकारी गराउँदै उनले भनिन, 'एकै ठाउँमा प्रशिक्षण गर्न पाएको भए टिम सशक्त बन्ने थियो।'

न्यू डायमन्डका प्रशिक्षक कुमार राइले तेस्रो सेट गुमाए पनि आत्मविश्वासका साथ खेल्दा नतिजा हात लागेको बताए।

न्यू डायमन्डका प्रशिक्षक राई बुधबार ४९औं वर्षमा टेकेका थिए। गुरुको जन्मदिनमा खेलाडीले बुधबार बेलुकी केक काटेर खुशीयाली समेत मनाएका थिए। '४९ वर्षमा लाग्नेवित्तिकै मलाई खुशीयालीले डोर्‍यायो,' बिहीबार टोलीबाट जन्मदिनको उपहार जितको रुपमा पाएका प्रशिक्षक राइले भने, 'सायद वर्षभरी टोलीले जित हात पार्छ की।'

न्यू डायमन्ड एकेडेमी २०६२ मा खुलेको हो। राइले २०६४ देखि न्यू डायमन्डका भलिबल खेलाडीलाई प्रशिक्षित गर्दै आएका छन्। 'झन्डै दशकको अनुभव छ। यसले टिमलाई अझै अब्बल बनाउन सहयोग मिल्नेछ। अहिले खेलिरहेकालाई रिप्लेस गनर्ेे खेलाडी छैनन्। अवको १–२ वर्षमा अरु राम्रो खेल्ने खेलाडी उत्पादन हुनेछन्,' उनले भने।

प्रकाशित: २८ माघ २०७३ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App