७ वैशाख २०८१ शुक्रबार
खेल

सरकार नै इमान्दार छैन

प्रविण विक्रम कटवाल

काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण २०१९ फेब्रुअरीमा गर्ने आफ्नै निर्णयप्रति नेपाल सरकार इमान्दार नरहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कृयाकलापले पुष्टी गरेको छ।

हरेक दुई वर्षको अन्तरमा गर्ने योजनासहित नेपालबाटै १९८४ मा सुरु भएको दक्षिण एसियाली देशहरुबीचको सबभन्दा ठूलो क्षेत्रीय खेलमेलाको १३औं संस्करण गर्ने पालो नेपालको हो। गतवर्ष भारतको गुवाहटीमा १२औं संस्करणको समापनमा आगामी संस्करण दुई वर्षभित्रै गर्ने वाचासहित तत्कालिन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले सागको झण्डा लिएका थिए। सरकारी वाचा पूरा भएको भए २०१८ को फेब्रुअरीमा नेपालमा १३औं साग हुनुपर्ने थियो। तर झण्डा लिए पनि तयारीमा माखो नमारेको खेल प्रशासनले तीन महिनाअघि प्रतियोगिता एक वर्ष पछि सारेर २०१९ मार्च ९ देखी १८ सम्म गर्ने घोषणा गरेको थियो।

२०१८ मा साग गर्न पूर्वाधार निर्माणलाई समय नपुगेको भन्दै एक वर्ष सारे पनि त्यसयता समेत तयारीमा कुनै काम भएको छैन। देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला भूकम्पले क्षत विक्षत पारेको छ। अन्य पूर्वाधार निर्माणमा देखिने गरी कुनै काम भएको छैन। रंगशाला पूर्ननिमार्ण नगरी कामचलाउ 'रेक्ट्रोफिटिङ' गर्ने योजनामा राखेप पुगे पनि त्यसका लागि समेत तीन वर्ष लाग्ने प्राविधिकहरुले बताएका छन्। सरकारले हरेक वर्ष छुट्टाउने गरेको दशौं करोड पूर्वाधार निर्माण बजेट फ्रिज गराउँदै आएको राखेपले अझैसम्म रंगशाला मर्मतको डिपिआर समेत तयार गरिसकेको छैन। यही आर्थिक वर्षमा पनि सरकारले दशरथ रंगशाला 'रेक्ट्रोफिटिङ' गरी छाना हाल्न २ करोड रुपैयाँ छुट्टाएको छ।

राखेपले भूकम्प गएको झन्डै एक वर्षपछि २०७३ असार १२ मा मात्र मल्टी डिसिप्लिनरी कन्सल्ट्यान्ट, इन्गार कन्सल्ट्यान्ट र इनक्लुसिप कन्सल्ट्यान्टलाई संयुक्त रुपमा रंगशालाको विस्तृत अध्ययन गरेर डिपिआर बनाउने जिम्मा दिएको थियो। उनीहरूले प्रारम्भिक प्रतिवेदन बुझाइसकेका छन्। प्रतिवेदनका अनुसार रंगशालालाई 'रेक्ट्रोफिटिङ' गरेर चालु गर्न सकिने जनाइएको छ।

राखेपका प्राविधिकहरुका अनुसार तत्काल काम सुरु गरे पनि दशरथ रंगशाला खेलकुदीय गतिविधिका लागि तयार हुन २०१९ को अन्तिमसम्म लाग्नेछ। राखेपको भौतिक पूर्वाधार विकास तथा मर्मत शाखाका प्रमुख इन्जिनियर अरुण उपाध्यायका अनुसार रंगशालाको भिआइपी प्यारापिटको छानो भत्काएर नयाँ छानो हाल्ने योजना छ। अन्य भागमा भने मर्मत गर्ने योजना छ। तर त्यसका लागि पनि २०१९ को अन्तिमसम्म लाग्ने उनी बताउँछन्। जवकि सरकारले २०१९ को फेब्रुअरीमै नेपालमा साग गर्ने घोषणा गरिसकेको छ। रंगशाला समयमा तयार नहुने र त्यसको विकल्प पनि नभएको अवस्थामा १३औं साग सरकारले प्रतिवद्धता जनाएको समयमा नहुने पक्का छ। २०१० मै १३औं साग नेपालमा गर्ने सैदान्तिक निर्णय गरे पनि सरकारले तयारीमा भने अहिलेसम्म कुनै काम थालेको छैन।

'हामी २०१९ को अन्तिमसम्ममा रंगशाला प्रयोगमा ल्याउने गरी मर्मत काम गर्न चाहन्छौं। त्यसअघि साग गर्न रंगशाला तयार हुनै सक्दैन। डिपिआर नआइकन काम सुरु गर्न सक्ने अवस्था छैन। भिआइपी प्यारापिटको छानो भत्काउनुपर्छ। अन्य भागमा मर्मत गर्नुपर्छ। तर डिपिआरविना काम सुरु गर्न सकिन्न। डिपिआर आएपछि पनि धेरै सरकारी प्रक्रिया पूरा गरेरमात्र काम गर्न सकिन्छ,' उपाध्यायले भने, 'भिआइपी प्यारापिटको छानो भत्काउँदा त्रिपुरेश्वरको ट्राफिक व्यवस्थापनलाई पनि अशर गर्छ। त्यसैले हामीले आफ्नो ढंगले मात्र काम गर्न सक्ने अवस्था छैन। यसका लागि हामीले विभिन्न निकायहरुसँग समन्वय गर्नु जरुरी छ।'

प्रकाशित: २८ माघ २०७३ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App