coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

भीमका चित्रमा चरा र प्रकृति

चितवन- नवलपरासी गैंडाकोटका भीमप्रसाद शर्मासँग देशविदेशमा चित्र प्रदर्शनी गरेको अनुभव छ। यो अनुभव उपयोग गर्दै उनले आफ्नै जिल्लामा कलासम्बन्धी एउटा कार्यशाला गर्दैछन्। जसमा सहभागी हुन शमाले आफूले भेटेका र चिनेका विदेशी चित्रकारलाई पनि निमन्त्रणा गरेका छन्।

शर्मा प्रकृतिलाई विषयवस्तु बनाएर चित्र कोर्छन्। कार्यशालाको दिन पनि उनले चैत ९ गते अर्थात् मार्च २२ लाई रोजेका छन्। मार्च २२ मा विश्व पानी दिवस पर्छ। पानी प्रकृतिको मुख्य प्रतीकजस्तै हो। त्यसैले उनी उक्त दिन प्रकृतिका विषयवस्तु समेटेर तयार भएका चित्र प्रदर्शनीमा राख्ने तयारीमा छन्।

'भारत, बंगलादेशमात्रै नभएर युरोपका साथीसँग पनि कुरा गरेको छु। उहाँहरूले आउँछु भन्नुभएको छ', शर्माले भने। देशविदेशबाट जम्मा हुने चित्रकारलाई चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदीको आडमा रहेको नवलपरासीको रमणीय थारू गाउँ अमलटारीमा तीन दिन राख्ने उनको तयारी छ। सो ठाउँमा डुलेर देखेको प्रकृतिलाई आधार मानेर चित्रकारले चित्र बनाउनेछन्।

गाउँमै बनाएका र पुराना चित्रसमेत राखेर चैत १७ गतेसम्म प्रदर्शनी आयोजना गर्ने भीमको योजना छ। 'नेपाल र विश्वमै प्रकृतिलाई विषय बनाएर कोरिएका चित्रको अवस्था र व्यावसायिक सम्भावनाका विषयमा पनि विज्ञले कार्यपत्र पेस गरेर छलफल गर्ने योजना छ', शर्माले भने।

२०१२ सालमा जन्मेका भीमले १८ वर्ष उमेरदेखि चित्र कोर्न सुरु गरेका हुन्। बाग्लुङ सर्कुवामा जन्मेका उनले पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्न थालेपछि चित्र बनाउन सुरु गरे। भीमले देशविदेशमा गरेर सातवटा एकल कला प्रदर्शनी गरेका छन्।

सुरुमा सामाजिक विषयमा आधारित रहेर चित्र बनाउने भीम पाँच वर्षयता प्रकृति र चराका चित्र बनाउन तल्लीन छन्। 'प्रकृति मानव जीवनको अस्तित्वसँग जोडिएको विषय हो। हाम्रा क्रियाकलापले यसमाथि संकट बढेको छ। कलाकारले प्रकृतिलाई विषयवस्तु बनाएर सिर्जना गर्न थाल्ने हो भने सर्वसाधारणमा पनि यसलाई जोगाउनुपर्छ भन्ने सन्देश जान्छ', शर्माले भने।

चरा र मान्छेको जीवनशैली एकै लाग्छ उनलाई। 'चराहरू मान्छेझंै समूहमा बस्छन्। एकअर्कालाई अप्ठ्यारो परे सहयोग पनि गर्छन्। घर बनाउने होइन घर सजाउने कला पनि उनीहरूसँग्ा छ। त्यसैले चरा मेरो विषय बनेको हो', शर्माले भने।

चरा पनि प्रकृतिसँग जोडिएका कारण संरक्षण अभियानलाई आफ्नो चित्रकारिताले मद्दत पुग्ने उनले बताए। उनले सन् २०१४ मा गैंडाकोटमा 'सम्बन्धहरू' शीर्षकमा चराका चित्र प्रदर्शनी गरेका थिए। त्यसअघि उनले जर्मनीका तीन ठाउँमा एकल प्रदर्शनी गरेका थिए।

सन् २००३ मा उनले पहिलो पटक काठमाडौंमा विकासका सवाल र सामाजिक जीवन विषयमा एकल चित्रकला प्रदर्शनी गरेका थिए। त्यसपछि उनी एकल प्रदर्शनीका लागि क्यानडा पनि पुगे। दुई वर्षअघि गैंडाकोट नगरपालिका–५ विजयनगरमा कलावती आर्ट काउन्सिल सञ्चालन गरेका शर्माले कलाका बारेमा कार्यशाला गर्न लागेको भने पहिलो पटक हो।

'नेपालको प्राकृतिक अवस्थाको कुरा गर्दा चित्रमा धेरै हिमाल, पहाड र खोलानाला चित्रण गरिन्छ। हामीसँग तीबाहेकका सम्पदा पनि छन्। जंगल, वन्यजन्तु र चराचुरुंगी प्रशस्तै छन्। विदेशी चित्रकारहरुले पनि यी देखून् भन्नका लागि यो कार्यशाला राखेको हो', शर्माले भने।

प्रकाशित: २८ माघ २०७३ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App