७ वैशाख २०८१ शुक्रबार
कला

इटहरीमा एरिना म्युजिक भिडियो अवार्ड

काठमाडौं- पूर्वी नेपालको व्यापारिक केन्द्रका रूपमा उदाउँदै गरेको सुनसरीको इटहरीमा पहिलोपटक 'म्युजिक भिडियो अवार्ड' हुने भएको छ। स्थानीय एरिना टेलिभिजनले आगामी फागुन ६ गते आयोजना गर्न लागेको 'एरिना म्युजिक भिडियो अवार्ड ०७३' मा १५ विधामा अवार्ड प्रदान गरिनेछ।

आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अवार्डको तयारीबारे जानकारी दियो। टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्कीले पूर्वले नेपाली सांगीतिक क्षेत्रमा धेरै कलाकार जन्माएकाले पनि अवार्ड वितरण कार्यक्रम उतै गर्न लागिएको बताए। 'हामीले टेलिभिजन सुरुवात गर्दा मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिएका थियौं, त्यसैलाई मूर्त रूप दिन स्थापनाको ६ वर्षमा पहिलोपटक अवार्ड गर्न लागेका हौं,' कार्कीले भने, 'पहिलो अवार्ड भएकाले पुरानादेखि नयाँ सबै गीतका भिडियो समेटेका छौं।' उनले म्युजिक कम्पनी र युट्युब माध्यमबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको जानकारी दिए।

अवार्डका प्रमुख निर्णायक भरत शाक्यले पूर्वको इटहरीजस्तै पश्चिमको बुटवल पनि अवार्डका लागि उपयुक्त स्थान रहने बताए। उनले इटहरीमा हुन लागेको अवार्ड प्रदेश नम्बर १ को उत्कृष्ट कार्यक्रम हुने दाबी गरे।

आयोजकका अनुसार अवार्डमा उत्कृष्ट छायांकार, उत्कृष्ट पुरुष गायन (आधुनिक), उत्कृष्ट पप गायक (महिला), उत्कृष्ट निर्देशक, उत्कृष्ट संगीतकार आधुनिक, उत्कृष्ट नवगायक, उत्कृष्ट सम्पादक, उत्कृष्ट पूर्वेली लोकगीत, उत्कृष्ट पुरुष मोडल, उत्कृष्ट महिला गायन (आधुनिक), उत्कृष्ट पपगायक, उत्कृष्ट महिला मोडल, राष्ट्रिय गीत, उत्कृष्ट म्युजिक भिडियो र उत्कृष्ट गीतकार विधामा स्रष्टालाई अवार्ड प्रदान गरिनेछ।

प्रकाशित: २८ माघ २०७३ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App