७ वैशाख २०८१ शुक्रबार
राजनीति

६५ जिल्लामा राप्रपाको नयाँ नेतृत्व

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिकांश जिल्लामा  अधिवेशन सम्पन्न जनाएको छ। माघ २५ गते भएको अधिवेशनबाट ६५ जिल्लामा नयाँ नेतृत्व चुनिएको छ। केही जिल्लामा विवाद देखिएकाले नेतृत्व चयन हुन सकेको छैन भने केही जिल्लामा समानान्तर समिति गठन भएका छन्।   

पार्टीका दुईपक्षबीचको विवादका कारण रोल्पा, हुम्ला, बझाङ र तेह्रथुममा दुई–दुईवटा समिति बनेको राप्रपा निर्वाचन आयोगका सदस्यसचिव रामशरण पाठकले बताए। रौतहट, बारा, सर्लाही, धनुषा र कपिलवस्तुमा विवादकै कारण नेतृत्व चयन हुन नसकेको उनले बताए। विवादकै कारण स्थगित काभ्रेपलाञ्चोकको अधिवेशन माघ २९ गते हुने जानकारी पार्टी प्रवक्ता राजाराम श्रेष्ठले दिए।

'केही जिल्लामा सामान्य विवाद देखिएको छ,' प्रवक्ता श्रेष्ठले भने, 'निर्वाचन समितिमार्फत विवाद समाधान पहल भइरहेको छ। समितिले टुंग्याउन नसकेको विवाद शुक्रबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट टुंग्याउनेछौं।'केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय सचिवालय र महाधिवेशन मूल आयोजक समितिअन्तर्गत गठित ११ वटा समितिका संयोजकको बैठक  शुक्रबार बस्ने उनले बताए।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच मंसिर ६ गते एकीकरण भएको थियो। एकिकरणपछि बनेको राप्रपा फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्ने तयारीमा जुटेको छ। उक्त महाधिवेशनले पार्टीको नयाँ नेतृत्व निर्वाचित गर्ने श्रेष्ठले बताए।

प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय महाधिवेशनमा देशभरबाट करिब ३३ सय प्रतिनिधि सहभागी हुनेछन्।

प्रकाशित: २८ माघ २०७३ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App