८ वैशाख २०८१ शनिबार
राजनीति

'ऐनबिना कसरी चुनाव गराउने?'

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारबाट आयोगलाई अहिलेसम्म  निर्वाचनसम्बन्धी कुनै पनि ऐन–कानुन नआएको गुनासो गरेका छन्। निर्वाचन आयोगसम्बन्धी ऐन र मतदाता नामावली ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भइसके पनि आयोगले अझै नपाएको उनले बताए।

राजधानीमा बिहीबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले सरकारले अहिलेसम्म निर्वाचन मितिसमेत नतोकेको गुनासो पोखे। 'हामीलाई निर्वाचन तयारी गर्नुस् भनेर पत्राचार गरियो, हामीले त्यही पत्रका आधारमा काम गरिरहेका छौं, सरकारले भने अहिलेसम्म मितिसमेत तोकेको छैन', उनले भने।

निर्वाचन मिति र स्थानीय तह पुनःसंरचना आयोग प्रतिवेदन चाँडोभन्दा चाँडो उपलब्ध गराउनुपर्ने माग गर्दै त्यसो भए मात्र आफूहरुले जेठभित्र चुनाव गराउन सक्ने स्पष्ट पारे।

'२०६३ सालमा जेठमा चुनाव गराउने भनेर मिति घोषणा हुँदा आयोगले चुनाव गराउन सक्दैनौं भनेर चैत २९ गते सरकारलाई भनेको थियो, त्यस्तो स्थिति अहिले नआओस्, संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता धरापमा पर्न सक्छ भनेर हामी निर्वाचनका लागि तयारी अवस्थामा जुटेका छौ ं।'

आगामी २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता आत्मसात गर्दै सरकारसँग आफूहरुले माग गरेअनुसारका सबै कुरा छिटो पाउनुपर्ने उनले बताए।

'ऐन, कानुन, मिति पाएनौं भने चुनाव हुँदैन भनेर भन्ने स्थिति नआओस्', प्रमुख निर्वाचन आयुक्त यादवले भने, 'स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमा दलहरुबीच चाँडो सहमति होस् भन्ने चाहन्छौ ं।'

उनले निर्वाचन मिति र अन्य प्राविधिक कुरा सरकारबाट नपाए पनि आयोग तयारी अवस्थामै रहेको बताए। उनले भने, 'हामी चुप लागेर बसेका छैनौं, आफ्नो भित्री तयारीमा जुटिसकेका छौं, जेठ १ गते निर्वाचन गराउन सक्छौं।' उनले आयोगले खुट्टा नकमाएको समेत स्पष्ट पारे।

प्रकाशित: २८ माघ २०७३ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App