बर्दिया– सत्तापक्षधरले एमाले पार्टीको बारे भ्रम र अन्यौलको राजनीति गरिरहेको एमालेका उपाध्यक्ष वामदेव गौतमले बताएका छन्।
जिल्लाका कार्यकर्ता भेटघाटका क्रममा गुलरियामा आएका गौतमले प्रेस चौतारी नेपाल बर्दियाले आयोजना गरेको पत्रकार सम्मेलनमा देशको राजनीतिक अवस्थाका बारेमा चिन्ता व्यक्त गरेका हुन्।
संविधानले निर्दिष्ट गरेका काम छिटो सम्पन्न गर्नु पर्नेमा संविधानले गर्न नभनेका काम गर्न सरकार तल्लिन रहेको उल्लेख गर्देै एमाले समाप्त पार्न सत्तापक्षधर लागि परिरहेको उनको भनाई छ।
वर्तमान सरकार संविधानको कार्यान्वयन गर्न भन्दा त्यसलाई असफल बनाउन केन्द्रित भएकोे आरोप लगाए। तीन तहको निर्वाचनको प्रसंगमा उनले सरकारले निर्वाचनका लागि आधारभुत प्रक्रियासमेत अघि नबढाएको उनले दाबी गरे।
‘निर्वाचन नगर्ने पक्षमा सत्तापक्षधर छन’उनले भने,‘आधारभुत प्रक्रिया नबढाएसम्म कसरी सरकारले निर्वाचन गराउँछ भन्ने लाग्छ ।’अहिले नै निर्वाचनको मिति तोकेर प्रक्रिया अघिबढाए मात्र निर्वाचन हुन सक्ने उनले वताए ।
प्रदेश सिमांकन संशोधन प्रस्ताव संविधानविपरीत रहेको बताउँदै नेता गौतमले प्रदेश सभा नबन्दासम्म प्रदेशका सीमांकन हेरफेर गर्न नसकिने बताए ।
प्रकाशित: २७ माघ २०७३ १२:१३ बिहीबार