काठमाडौं- रवि खड्काले पार ७० को हिमालयन गल्फ कोर्समा १ अन्डर ६९ खेल्दै बुधबार सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन अग्रता लिएका छन्।
सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको तेस्रो इभेन्ट्मा समान इभन पार ७० खेलेका नेपाल नम्बर एक शिवराम श्रेष्ठ, साबिक विजेता धनबहादुर थापा र भुवन नगरकोटी संयुक्त रुपमा दोस्रो स्थानमा छन्। ३ ओभर ७३ खेलेका भुबहादुर गुरुङ पाँचौं स्थानमा छन् भने एमेच्योर कमल तामाङ, दीपक मगर र बलबहादुर राई समान ४ ओभर ७४ स्कोरका साथ संयुक्त रुपमा छैटौं स्थानमा छन्। यसैगरी संजय लामा ५ ओभर ७५ स्कोरका साथ नवौं स्थानमा हुँदा ६ ओभर ७६ खेलेका एमेच्योर खेलाडी मिथुन राई १० औं स्थानमा छन्।
रविले फ्रन्ट नाइनमा २ ओभर ३७ खेले पनि ब्याक नाइनमा ३ अन्डर खेलेर त्यसको सोधभर्ना गरे। पहिलो ९ होलमा शिवरामको प्रदर्शन पनि २ ओभर ३७ थियो। ब्याक नाइनमा उनले २ अन्डर खेलेर इभन पार स्कोर गरे। यसैगरी धनबहादुरले फ्रन्ट नाइनमा २ अन्डर ३३ तथा ब्याक नाइनमा २ ओभर ३७ खेल्दा भुवनले फ्रन्ट नाइनमा १ ओभर ३६ तथा ब्याक नाइनमा १ अन्डर ३४ खेले।
एमेच्योरतर्फ ४ ओभर ७४ स्कोर गरेका कमल सबभन्दा अगाडि रहँदा मिथुन (७६) दोस्रो तथा युवराज भुजेल ८ ओभर ७८ स्कोरका साथ तेस्रो स्थानमा छन्।
५४ होलमा प्रतिस्पर्धा गराइने तीन दिने प्रतियोगितामा २८ व्यावसायिक र १३ एमेच्योर गरी कुल ४१ खेलाडीको सहभागिता छ। दोस्रो दिन बिहीबार अन्तिम चरणका लागि शीर्ष २१ व्यावसायिक र ६ एमेच्योर खेलाडीको छनोट (कट) हुनेछ। कुल ६ लाख पुरस्कार राशीको प्रतियोगितामा विजेताले १ लाख १० हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा ७० हजार तथा तेस्रो हुनेको भागमा ४५ हजार रुपैयाँ पर्ने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले जनाएको छ। कटमा सफलता हासिल गर्ने सबै व्यावसायिक खेलाडीले नगद पुरस्कार पाउनेछन्।
प्रकाशित: २७ माघ २०७३ ०४:०८ बिहीबार