८ वैशाख २०८१ शनिबार
खेल

विश्वको निर्णायक गोल

बारा- विश्व अधिकारीले अन्तिम समयमा गरेको गोलमा सिएमजी संकटा क्लबले बुधबार साबिक विजेता प्राइम पोलीक्लिनिक विजय युथ क्लबमाथि २–१ को विजयी नतिजा निकाल्दै रुस्लान सिमरा गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ।

सिमरा रंगशालामा बुधवार खेल सकिन एक मिनेट बाँकी रहँदा विश्वले संकटाका लागि निर्णायक गोल गरेका थिए। विश्वले लामो दुरीबाट प्रहार गरेको कडा सट विपक्षी गोलकिपरलाई कुनै मौका नदिई गोलमा परिणत भएको थियो।

त्यसअघि विमल रानामगरको गोलमा विजय युथले सुरुमै अग्रता लिएको थियो। खेल सुरु भएलगत्तै विपक्षी रक्षापंक्ति सम्हालिन नपाएको मौकामा सुनिल बलको पासमा विमलले गोल गरेका थिए। तर २७औं मिनेटमा संकटाका लागि अनिल गुरुङले बराबरी गोल गरे। पेनाल्टी बक्सभित्र पाएको बललाई अनिलले गोलमा परिणत गरेका थिए।

प्रतिर्स्धात्मक दोस्रो हाफमा पनि दुवै टिमले गोलका अवसर सिर्जना गरेका थिए। ७०औं मिनेटमा संकटाका सुशील केसीको कर्नर पोस्टमा लागेर फर्किएको थियो भने त्यसको ६ मिनेटपछि विमलले वान भर्सेज वानको मौका पाए पनि गोल गर्न सकेनन्।

विजय युथका प्रशिक्षक सुविन घिमिरले अवसर उपयोग गर्न नसक्दा पराजय भोगेको बताए।

शुरुमा अग्रता लिए पनि सम्हालिएर खेल्न नसक्नु पराजयको अर्को कारण भएको उनको भनाई थियो।

संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीबाट साहसिक प्रदर्शन हुँदा जित सम्भव भएको प्रतिक्रिया दिए। शुरुमै गोल खाए पनि मनोबल नगिराई खेल्दा नतिजा आएको उनको भनाई थियो।

संकटाका लागि विजयी गोल गरेका विश्व म्यान अफ दी म्याच भए। प्रतियोगितामा बिहीबार त्रिभूवन आर्मी क्लब र हिमालयन शेर्पाबीच खेल हुनेछ।

प्रकाशित: २७ माघ २०७३ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App