८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर एकको मृत्यु

मेलम्ची—सिन्धुपाल्चोक जिल्लाको बाँसखर्कमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। 

बुधबार घर जानेक्रममा सडक नजिकै रहेको फलामको विद्युतीय पोलमा छुँदा करेन्ट लागेर बाँसखर्क–७ का ३० वर्षीय निहमा ग्याल्बो बोम्जनको घटनास्थमै मृत्यु भएको हो। फलामको पोलमा ११ हजार भोल्टेजको करेन्ट चुहावट भएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए। 

घटनाको वास्तविकता बुझ्नका लागि विद्युत् प्राधिकरणका कर्मचारीसहित प्रहरी घटनास्थल पुगेको थियो। करेन्टका कारण मृत्यु भएका बोम्जनको शव मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल)मा शवपरीक्षणपश्चात् आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक ढुङ्गानाले बताए। 

विद्युत् प्राधिकरणको लापर्वाहीका कारण वर्षैपिच्छे अकालमा ज्यान गुमाउन बाध्य छन् सिन्धुपाल्चोकवासी। विद्युत्को उचित व्यवस्थापन नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको स्थानीयवासीको ठहर छ। जिल्लाभरि नै पटकपटक विभिन्न समयमा कहिले हाइभोल्टेज त कहिले बिजुलीको खम्बा ढलेर र विभिन्न क्षेत्रमा विद्युत्का तार लत्रिएर हुने मानवीय क्षतिप्रति प्राधिकरणले हालसम्म कुनै चासो दिएको पाइँदैन। 

सडक किनारमा रहेको बिजुली तार व्यवस्थापन गर्न निवेदन दिँदासमेत प्राधिकरणले चासो नदिएकाले यस्तो दुर्घटना भएको स्थानीयवासीको गुनासो छ। समयमै निवेदन दिँदा ध्यान नदिने र पछि दुर्घटना हुँदा बच्न खोज्ने प्रवृत्ति रहेकाले अब छिट्टै यस्तो गैरजिम्मेवार कामको अन्त्य हुनुपर्ने सिन्धुवासी बताउँछन्। रासस

प्रकाशित: २७ माघ २०७३ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App