८ वैशाख २०८१ शनिबार
समाज

मोहीले सरकारलाई बुझाउँछन् बाली धरौटी

काठमाडौं- जग्गा स्वामित्वमा विवाद भइरहँदा मोहीले बाली धरौटी तिर्दै आएका छन्। तल्सिङ (जग्गाधनी) र मोही (जग्गा कमाउने) बीच लामो समयदेखि किचलो भइराख्दा मोहीले सरकारी निकायमा बाली धरौटी राख्नुपरेको हो।

काठमाडौं महानगरपलिकामा बुधबार बाली धरौटी बुझाउन आएका महाराजगन्जका श्यामराज कर्णिकारले जग्गाधनीसँग विवाद नटुंगिँदा विगत ५३ वर्षदेखि बाली धरौटी बुझाउँदै आएको बताए।

'पहिला–पहिला जग्गाधनीलाई धरौटी बुझाउँथ्यौं,' उनले भने, 'अहिले जग्गाधनीले बाली धरौटी लिन मान्दैनन्। त्यसैले सरकारी निकायमा नै आएर बुझाउँछौं।'

कर्णिकारले ०३८ मा एक आना दुई पैसा जग्गाका लागि वार्षिक आठ रुपैयाँ २३ पैसा धरौटी तिरेका थिए। सोही जग्गामा अहिले उनले एक सय २५ रुपैयाँ वार्षिक बाली धरौटी तिर्ने गरेका छन्।

महानगरपलिकाका अनुसार महाराजगन्ज, गोंगबु, मूलपानी, कलंकी, थानकोट लगायत क्षेत्रका जग्गाधनी र मोहीबीच विवाद नटुंगिँदा बाली धरौटी राख्दै आएका छन्।

यता, मोही र जग्गा धनीको दोहोरो स्वामित्व रहेको जग्गामा आफ्नो मात्रै पकड जमाउन मोहीले सरकारी निकायमा गएर बाली धरौटी बुझाउने गरेको जग्गाधनी आरोप लगाउँछन्।

मूलपानीका विपुल सिंह भन्छन्, 'मोहीले जग्गाधनीसँग विवाद गरेर सस्तो बाली धरौटी तिरेर उम्कन खोज्छन्। वर्षको दुई–चार सय तिरेर जग्गा उपयोग गर्न पाएपछि मोहीले विवाद सल्टाउन नखोजेका हुन्।' मोहीले असहयोग गर्दा जग्गा बेच्न नपाएको उनले बताए।

महानगरपालिका राजस्व महाशाखा प्रमुख महेश काफ्ले सम्पत्तिमा दोहोरो स्वामित्वकै कारण जग्गाधनी र मोही दुवैले सास्ती खेप्नुपरेको बताउँछन्। 'मोहीले जग्गाधनीलाई नै बाली धरौटी बुझाए सरकारी कार्यालयमा धरौटी  तिरिरहनुपर्दैनथ्यो,' उनले भने, 'विवादकै कारण सरकारी कार्यालयमा बाली धरौटी बुझाउन आएका हुन्।'

जग्गाधनीले बाली धरौटी रकम नबुझेको खण्डमा मोहीले महानगरपालिका वा भूमिसुधार कार्यालय गएर बाली धरौटी बुझाउन सक्ने काठमाडौं महानगरपलिकाका बाली धरौटी शाखा प्रमुख भीम केसीले जानकारी दिए। भूमिसुधार कार्यालयले माघ महिनाभर र काठमाडौं महानगरपलिकाले माघको अन्तिम साताभित्रै बाली धरौटी बुझाउने समयसीमा तोकेको छ।

मोहीले बुझाउने बाली धरौटी अहिले भूमिसुधार कार्यालय, महानगरपालिकाले बुझ्दै आएका छन्। आवश्यक कागजात पेस गरे उक्त धरौटी रकम जग्गाधनीले पाउँछन्। अति नै कम हुने भएकाले बाली धरौटी लिन जग्गाधनी नआउने गरेको काफ्लेले बताए।

मोहियानी हक कायम भएको जग्गाको स्रेस्तामा बाली धरौटीबापत यति तिर्ने उल्लेख हुन्छ। भूमिसुधार कार्यालय काठमाडौंले आव ०७३/७४ का लागि मोहीले जग्गाधनीको नाममा बाली धरौटी राख्ने दररेट कायम गरेको छ। प्रतिमुरी धानको वार्षिक दुई हजार रुपैयाँ, प्रतिमुरी गहुँको एक हजार आठ सय, प्रतिमुरी मकैको एक हजार सात सय, प्रतिमुरी कोदोको एक हजार चार सय रुपैयाँ धरौटी कायम गरिएको छ।

गत आवमा महानगरपलिकामा एक सय ३३ मोहीले बाली धरौटी बुझाए। यस वर्ष जम्मा २५ मोहीले मात्रै धरौटी बुझाएका छन्। धरौटी बुझाउन अझै दुई दिन बाँकी छ।

भूमिसुधार ऐन ०२१ मा मोहीले काम गर्दै आएको जग्गाको एकतिहाइमा मोहीयानी हक लाग्ने व्यवस्था छ। भूमिसुधार कार्यालय काठमाडौंका लेखाअधिकृत रञ्जना भट्टले जग्गाधनी र मोहीबीच जग्गाको लगतकट्टा नहुँदा विवाद कायमै रहेको बताउँछिन्। कार्यालयमा गत आवमा तीन सय ५० मोहीले बाली धरौटी बुझाएका थिए। यस वर्ष बुधबारसम्म दुई सय ५० मोहीले धरौटी बुझाइसकेको कार्यालयले जनाएको। 'जग्गाधनी र मोहीबीच केही जग्गा विवाद टुंगो लागेको छ,' उनले भनिन्, 'यस वर्ष बाली धरौटी बुझाउनेको संख्या घट्ने अपेक्षा गरेका छौं।'

तीन वर्षसम्म लगातार मोही धरौटी नबुझाए मोही कट्टा गर्न सकिने कानुनी प्रावधान समेत रहेको छ।

प्रकाशित: २७ माघ २०७३ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App