६ वैशाख २०८१ बिहीबार
राजनीति

नेपाली छाडी विदेशी दौड

भद्र शर्मा

काठमाडौं- विदेशीले निर्माण गरेका विद्युतीय मतदान मेसिन किन्न निर्वाचन आयोग र सरकार हतारिएका बेला नेपाली निर्माता भने निरुत्साहित छन्। नेपाली निर्माणकर्ताले बनाएका विद्युतीय मतदान मेसिन विदेशीले बनाएका भन्दा सस्ता, मतदाताका निम्ति सजिला र सुविधाजनक छन्। नेपाली निर्माताले छ वर्षयता एमाले संसदीय दलको बैठकलगायत विभिन्न ५२ वटा निर्वाचनमा यसको प्रयोग गरिसकेका छन्।

रामलक्ष्मणका नामले लोकप्रिय नेपाली निर्माता रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमाल आगामी तीन निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगनिम्ति प्रतीक्षारत छन् तर सरकार र निर्वाचन आयोगले उनीहरूको अन्वेषणलाई निरुत्साहित पार्ने देखिएको छ।

'निर्वाचन आयोगमा हामीले हाम्रा मेसिनको प्रयोग छपटक गरिसकेका छौं,' रामले नागरिकसँग भने, 'आयोगमा नियुक्त भएर आउने प्रत्येक नयाँ आयुक्तले हाम्रो मेसिन प्रयोग गर्ने आश्वासन दिए पनि त्यो कहिल्यै कार्यान्वयन भएन।'

आयोगअन्तर्गतकै एउटा शाखा निर्वाचन शिक्षा सूचना केन्द्रमा प्रदर्शनीमा राखिएको आफ्नो मेसिन नै हटाइएपछि भने उनीहरूलाई नराम्रो चोट परेको छ। यस विषयमा प्रमुख निर्वाचन आयुक्त र प्रधानमन्त्रीलाई भेट्ने उनीहरूको चाहना पूरा हुन सकेको छैन। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल बेलायती मतदान मेसिन स्मार्टम्याटिक किन्ने तयारीमा रहेका कारण आयोग कर्मचारीबाट समेत उनीहरूलाई निरुत्साहित गराउने काम भइरहेको छ।

नेपाली विद्युतीय मतदान मेसिन निर्मातामध्येका एक लक्ष्मणले स्थानीय निर्वाचनका लागि आयोगले आफूलाई अनुमति दिने हो भने विदेशी मेसिन प्रयोग गर्नै नपर्ने बताए। 'स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने भनेमुताबिक हामीलाई काम गर्न दिने हो तीन महिना मात्र काम गर्न दिने हो भने आवश्यक मेसिन उत्पादन गर्न सक्छौं,' उनले भने।

उनीहरूले जापान, ताइवान र चीनबाट उपकरण खरिद गरी काठमाडौंमा मेसिन निर्माण गर्दै आएका छन्। 'हामीले हाम्रो उत्पादन बढाउनुपर्ने मात्र हो, हाम काम गर्न सक्छौंं', उनले भने।

मूल्यका आधारमा पनि नेपाली उत्पादनका मेसिन सस्ता र चलाउन सजिला छन्। 'सरकारले हामीलाई काम गर्न दिने हो पनि प्रतियुनिट एक लाख रुपैयाँमा उपलब्ध गराउन सक्छौं,' रामले भने। स्थानीय तह निर्वाचनमा यस्ता मेसिनलाई शारीरिक रूपमा अशक्त व्यक्तिले समेत मतदानमा उपयोग गर्न सकिन्छ।

यी मेसिनबाट १ सय ९६ देखि ८ सय दलसम्म निर्वाचनमा सहभागी भए पनि प्रयोग गर्न सकिन्छ। स्मार्टम्याटिक एक युनिटको मूल्य २५ सय अमेरिकी डलर (करिब २ लाख ५० हजार रुपैयाँ) पर्छ। त्यसको सञ्चालन खर्चका लागि एक लाख रुपैयाँसम्म थप भुक्तानी गर्नुपर्ने हुन्छ। आयोगले ६६ हजार युनिट मेसिन खरिद गर्ने भएको छ।

प्रकाशित: २७ माघ २०७३ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App