coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

निशा अब राजनीतिक भूमिकामा

काठमाडौ– फिल्म ‘मिसन पैसा’बाट नेपाली फिल्ममा डेब्यु गरेकी नायिका निशा अधिकारी पछिल्लो रिलिज फिल्म ‘जय पर्शुराम’सम्म प्रायः रोमान्टिक भूमिकामै देखिइन् । बिरलै मात्र फरक भूमिकामा देखिने निशा आगामी फागुन ६ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘मेरो देश’मा भने राजनीतिक चरित्रमा देखिँदै छन् ।

फिल्म युनिटले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले अभिनय गर्न चाहेको भूमिका पाएको बताइन् । ‘मेरो राजनीतिक भूमिकामा अभिनय गर्ने सपना थियो, त्यो सपना मेरो देशमा पूरा गरेकी छु,’ उनले खुलाइन्, ‘यो फिल्मले राजनीतिक विषय बोकेकाले पनि निर्देशक र निर्माताले राजनीतिक चस्मा लगाएर थ्रिलर किसिमको फिल्म बनाएका छन् ।’ उनले नेपालको राजनीतिमा अनुसन्धान गर्ने जोकोहीले पनि फिल्म हेर्नुपर्ने दाबी गरिन् ।

अभिनेता आयुष रिजालले आफू पत्रकारको भूमिकामा फिल्ममा देखिने खुलाए । ‘नेपालको हरेक राजनीतिक परिवर्तनमा पत्रकार पनि आक्रमणमा परेका छन्, तर यो फिल्ममा पत्रकारले चाह्यो भने अरुलाई आक्रमण पनि गर्न सक्छन् भन्ने देखाएको छ,’ उनले भने ।

निर्देशक देव नेपालले २१औँ शताब्दीमा देशलाई कसरी सम्भ्रान्त बनाउन सकिन्छ भन्ने विषयलाई फिल्मले स्वस्थ मनोरञ्जनमार्फत प्रस्तुत गर्ने बताए । कार्यकारी उदय सापकोटा ‘सुरेन’ले नेपालको राजनीतिक अवस्थालाई फिल्मले चित्रण गर्ने बताए ।

ब्रोसिस इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा प्रज्ज्वल गिरी, नीर शाह, एमी श्री, ध्रुव कोइराला, पुष्पा पाण्डे, एकराज थापा, कृष्ण शिवाकोटी, किशोर झाको पनि अभिनय रहेको छ । फिल्ममा बीबी अनुरागीको संगीत, रामजी लामिछाने र एलिजा प्रधानको कोरियोग्राफी, राजु किरातको द्वन्द्व र रविन्द्र बरालको छायांकन छ।

 

प्रकाशित: २६ माघ २०७३ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App