ललितपुर-काठमाडौं उपत्यका ढल महाशाखाले ढल निर्माणमा डोजर चलाउँदा महानगरीय प्रहरी परिसर भवन जावलाखेल अगाडि ऐतिहासिक सिक्का भेटिएका छन्।
पुरातत्व विभाग हेरचाह कार्यालय ललितपुर प्रमुख काजीमान प्याकुरेलले सोमबार ढल खन्ने क्रममा नौ थान सिक्का भेटिएको जानकारी दिए । ‘सिक्का हेर्दा ऐतिहासिक नै देखिन्छ, तर खिया र माटो भरिएकाले कति वर्ष पुराना भन्ने यसै भन्न सकिँदैन,’ प्याकुरेलले भने ।
मुद्राविद्, पुरातत्वविद्, इतिहासकारसँग छलफल गरी सिक्का सफा गरिने उनले बताए । ‘विज्ञले छुट्ट्याएपछि मात्र यसको मूल्य र महŒव थाहा हुन्छ,’ उनले भने । भेटिएका सिक्का अहिले पुरातŒव विभाग हेरचाह कार्यालयभित्र सुरक्षित राखिएको उनले बताए ।
ढल खन्ने क्रममा ६ फिट गहिराइमा सिक्का भेटिएका हुन् । सिक्का भेटिएपछि जावलाखेल प्रहरीले तुरुन्तै पुरातत्व विभाग हेरचाह कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालयमा खबर गरेको जावलाखेल प्रहरी परिसरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले बताए । ‘सिक्का भेटिएलगत्तै जिल्ला प्रशासन र पुरातŒव हेरचाह कार्यालयलाई खबर ग¥यौँै,’ उनले भने, ‘मंगलबार पनि केही सिक्का फेला परेका छन्, ती सिक्का पुरातत्तवकै जिम्मा लगाएका छौँ ।’
ललितपुर क्षेत्रका सम्पदा क्षेत्रमा काम गर्दै आएका ८० वर्षीय बुद्धिराज बज्राचार्यले यस्ता ठाउँमा सिक्का भटिनु रहस्यमय भएको बताए । ‘यस ठाउँमा पहिला कुनै मन्दिर पनि थिएन, सडक बन्नुअघि यस ठाउँमा खुला चौर थियो,’ उनले भने, ‘यस्तो स्थानमा पुराना सिक्का फेला पर्नुमा कुनै रहस्य छ ।’
ढल खन्ने क्रममा ऐतिहासिक पुराना सिक्का भेटिन थालेपछि स्थानीय पनि बिहानैदेखि त्यसतर्फ खट्न थालेका छन् । ‘पुुराना सिक्का स्थानीय र कामदारले उठाउलान् भन्ने डरमा अहिले जावलाखेल प्रहरी र पुरातŒव विभाग हेरचाह कार्यालय ललितपुरले केही कर्मचारी खटाएको छ,’ ललितपुर प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले भने, ‘पुराना र ऐतिहासिक सिक्का भेटिएकाले हामीले यसको सुरक्षामा पनि निकै संवेदनशीलता अपनाएका छौँ ।’
केही व्यक्तिले सोमबारै सिक्का फेला पारी लुकाएको हुन सक्ने भन्दै सोधखोज भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित: २६ माघ २०७३ ०३:१३ बुधबार