१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मृगस्थलीमा कृष्णसारको बिजोग

पशुपतिको मृगस्थलीमा भाले कृष्णसार। तस्बिर: क्रान्ति पाण्डे

काठमाडौं-पशुपतिनाथ परिसरमा रहेको श्लेष्मान्तक वन (मृगस्थली) मा जनावरको उचित संरक्षण हुन सकेको छैन। नाम मात्रको मृगस्थली भएको भन्दै ०६१ मा पशुपति क्षेत्र विकास कोषले यहाँ केही जनावर राखेको थियो। तर, जनावरको उचित हेरचाह र सुरक्षा व्यवस्था भने भएको देखिँदैन।

मृगस्थलीका सुपरभाइजर होमप्रसाद रिजालले मृगस्थलीमा राखिएका धेरै कृष्णसार खोरेंत रोग र चितुवाको आक्रमणबाट मरेको बताए । ०६१ मंसिर ४ मा मृगस्थलीमा भालेपोथी मिलाएर पाँच जोडी चित्तल, नौ जोडी कृष्णसार र एक जोडी रतुवा गरी ३० जनावर राखिएको थियो । जसको संख्या बढेर अहिले एक सय २१ पुगेको सुपरभाइजर नेपालले जानकारी दिए । ‘तर यसबीचमा धेरै मरे,’ उनले भने, ‘नमरेको भए संख्या अझ धेरै हुन्थ्यो ।’ कति संख्यामा कृष्णसार मरे भन्ने तथ्यांक नभएको उनले बताए । यद्यपि पछिल्लो समय भने तथ्यांक राख्न थालिएको उनले जानकारी दिए ।

सुपरभाइजर नेपालका अनुसार मृगस्थलीमा राखिएका जनावरमध्ये कृष्णसार सबैभन्दा धेरै मरे । सुरुमा राखिएको नौ जोडी कृष्णसारको संख्या बढेर ५४ वटा पुगेको थियो । अहिले जम्मा चार कृष्णसार मात्र रहेको उनले बताए । ‘कुनै रोग लागेर मरे, कुनै चितुवाले खायो,’ उनले भने । कतिपटक चितुवा आएर कति कृष्णसार खाए भन्ने तथ्यांक पनि नभएको उनले बताए ।

श्लेष्मान्तक वनको ९५ रोपनी तारबार लगाइएको जग्गामध्ये ३० रोपनीमा कृष्णसारलाई संरक्षण गरिएको छ । १२ फिट अग्लो तारबार गरिए पनि शिवपुरी जंगलबाट चितुवा आएर कृष्णसार मारेको उनले बताए ।

कृष्णसार मृग प्रजाति होइन

मृगजस्तै भए पनि कृष्णसार मृग प्रजातिमा नपर्ने प्राणीशास्त्री बताउँछन् । ‘चित्तल र रतुवा डियर प्रजातिका हुन् । कृष्णसार एन्टिलोप हो,’ प्राणीशास्त्री अनुज घिमिरेले भने । चित्तललाई स्पोटेड डियर र रतुवालाई बार्किङ डियर भनिन्छ ।  नेपालमा मृगको वर्गीकरणमा अन्योल रहेको उनले बताए ।

‘मृगलाई अंग्रेजीमा डियर भनिन्छ । तर, एन्टिलोपलाई के नाम दिने भन्ने कतै निक्र्योल भएको छैन । त्यसैले कृष्णसारलाई पनि मृग नै भन्ठान्छन्,’ उनले भने । उनका अनुसार कृष्णसार भेडाबाख्राजस्तो विशेषता भएको जंगली जनावर हो । वन डुल्दै हिँड्नुपर्ने कृष्णसारलाई सानो क्षेत्रमा थुनेर राखिएकाले रोग लागेको हुन सक्ने उनको भनाइ छ । ‘सानो क्षेत्रमा धेरै जनावर राख्दा रोग पनि छिटो सर्छ,’ उनले भने ।

खोरेंत जनावरको खुर पाक्ने सरुवा रोग हो । कृष्णसारमा खोरेंत रोग घरपालुवा जनावरबाट सर्ने गरेको सदर चिडियाखानाका कर्मचारी गणेश कोइरालाले बताए । उनले भने, ‘पशुपति क्षेत्रमा गाईगोठ छन्, बाँदर छन् । बाँदर र गाईजस्ता जनावरबाट मृगस्थलीसम्म खोरेंत पुगेको हुनुपर्छ ।’

रोग र संक्रमणबाट कृष्णसारलाई बचाउन मृगस्थलीवरपर अन्य जनावर र मानिस आवतजावत व्यवस्थित गर्नुपर्ने बताए ।

प्राकृतिक बासस्थानबाट जनावरलाई अन्यत्र सार्दा पनि  रोग र असुरक्षाको जोखिम हुने प्राणीशास्त्री घिमिरे बताउँछन् ।

वन्यजन्तुलाई प्राकृतिक बासस्थानमै संरक्षण गरिनुपर्ने एनिमल नेपालका अध्यक्ष प्रमदा शाह बताउँछिन्। ‘वैज्ञानिक मापदण्डबिना त्यसरी मृगलाई प्राकृतिक बासस्थानबाट उठाएर बिजोग पारेर राख्नु पशुकल्याणका दृष्टिले गलत हो,’ उनले भनिन्, ‘त्यस्तो तरिकाले वन्यजन्तु संरक्षण हुन सक्दैन । पशुपतिले पशुको कल्याण गर्ने हो कि अन्याय ? धर्मसंस्कारको नाममा जनावरलाई पाल्ने भए उचित वातावरण सिर्जना गरेर मात्र पाल्नुप¥यो ।’

धेरै दौडेर हिँड्नुपर्ने चञ्चले स्वभावको जनावरलाई साँघुरो ठाउँमा राख्नु संरक्षणका दृष्टिले अस्वाभाविक भएको प्राणीशास्त्री विश्व तामाङ बताउँछन् ।

‘पातलो खालको वन र भुइँमा घाँस भएको ठाउँमा चर्न रुचाउने कृष्णसारका लागि मृगस्थलीको सुक्खा ठाउँ उचित देखिँदैन,’ उनले भने ।

०००

मृगस्थलीमा रहेका कृष्णसारका लागि घाँस काट्न १८ कर्मचारी खटाइएको कोषले जनाएको छ । महिनामा झन्डै दुई लाख ५० हजार रुपैयाँको दाना खुवाउने गरिएको छ । प्राणीशास्त्री तामाङ भने प्राकृतिक खाना कमी देखिएको बताउँछन् । ‘घाँसपात खाने जनावरलाई घाँसपात नै कमी भएपछि जतिसुकै दानापानी भए पनि स्वास्थ्य अनुकूल हुँदैन,’ उनले भने ।

कृष्णसार नेपालको २७ संरक्षित स्तनधारीमध्ये एक हो । नेपाल राष्ट्र बैंकले जारी गरेको १० रुपैयाँ नोटमा पनि कृष्णसार अंकित छ । पोथी कृष्णसारको सिङ नहुने र भाले कृष्णसारको घुम्रिएको सिङ हुने प्राणीशास्त्री तामाङले बताए । बाँके जिल्लाको खैरापुरमा कृष्णसार संरक्षण क्षेत्र स्थापना गरी सरकारले कृष्णसारको संरक्षण गरिरहेको छ । 

 

 

प्रकाशित: २६ माघ २०७३ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App