८ वैशाख २०८१ शनिबार
खेल

क्रिकेट राजनीतिमा महत्वपूर्ण मोड

नयाँ दिल्ली(एएफपी)– भारतले यो साता बंगलादेशलाई पहिलो पटक टेस्ट खेलका लागि आतिथ्य प्रदान गर्दा विश्व क्रिकेट राजनीतिक शक्ति संघर्षले एउटा तार्किक निश्कर्ष पाउनेछ।

हैदराबादमा बिहीबार भारत र बंगलादेशबीच सुरु हुने टेस्ट खेलको महत्व आफ्नो ठाउँमा छ। तर आफ्नो टेस्ट मान्यता जोगाइराख्ने उदेश्यमा भारतबाट पाएको यो साथका लागि भ्रमणकारी टोली आयोजकमाथि कृतज्ञ हुनेछ । विश्व क्रिकेट राजीतिमा यो खेल दुवै देशका लागि फलदायी हुने पक्का छ।

‘मेरो विचारमा त्यो अत्यन्तै दुरदर्सी कदम थियो । कसैले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) मा थप एक भोटका लागि यसलाई राजनीतिक कदमका रुपमा पनि वयान गर्न सक्छन् । फरक ढंगले सोच्नेका लागि त्यो कदमले त्यस्तै सन्देश दिन्छ,’ विज्डेन इन्डियाका प्रधान सम्पादक दिलीप प्रेमाचन्द्रनले बंगलादेशलाई १७ वर्षअघि टेस्ट मान्यता दिइएको प्रशंग सम्झिए, ‘कसैले चाँही बंगलादेशी मानिसको यो खेलप्रतिको लगाव बुझेर उनी (जगमोहन डाल्मिया) ले भविश्यसम्म क्रिकेटलाई फाइदा पुगोस भनेर यस्तो गरेको पनि भन्न सक्छन् ।’

आइसिसीले सन् २००० को जुनमा सर्वसम्मत रुपमा बंगलादेशलाई टेस्ट खेल्ने १० औं देशको मान्यता सर्वसम्मत निर्णयबाट दिएको थियो । तर त्यतिबेला आइसिसीको अध्यक्ष रहेका डाल्मियाको नेतृत्वमा भारतले बंगलादेशलाई टेस्ट मान्यता दिने अभियानको आक्रामक रुपमा अगुवाई गरेको थियो । १९८७ र १९९६ को विश्वकप दक्षिण एसियाका तीन देशले मिलेर गरेका थिए । पाकिस्तान र श्रीलंकासँग मिलेर भारतले विश्व क्रिकेटको सबभन्दा ठूलो प्रतियोगिताका दुई संस्करण गरेको थियो । विश्व क्रिकेटका तीन महाशक्तिमध्ये इङल्यान्ड र अस्ट्रेलियासँगको शक्ति संघर्षमा अर्को छिमेकी देशलाई पनि स्थायी सदस्य दिलाउन सके फाइदा पुग्ने त्यो बेला भारत र डाल्मियाको सोच थियो । यसले ठूला प्रतियोगिता दक्षिण एसियामा ल्याउन पनि अर्को एक सहयोगी थपिने भएकाले फाइदा पुग्ने उनलाई थाहा थियो ।

डाल्मियाको त्यो सोच यतिबेला साँचो सावित पनि भएको छ । एक दिवसीय विश्वकपका पहिलो तीन संस्करण इङल्यान्डमा भएको थियो भने ट्वान्टी–२० विश्वकपका पछिल्ला तीन संस्करण भारत, बंगलादेश र श्रीलंकामा भए । अन्तर्राष्ट्रिय क्रिकेटको शक्ति संरचनामा दक्षिण एसिया हावी भएको यो एउटा प्रमाण हुन सक्छ । आइसिसीको आम्दानीमा सबभन्दा बढि योगदान गर्ने भारतले प्रत्येक दुई वर्षमा एउटा ठूलो प्रतियोगिता गर्ने पक्का छ ।

गतवर्ष डाल्मियाको मृत्यु भएपछि बंगलादेश क्रिकेट बोर्डले ‘डाल्मियाको दुरदृष्टी र सहयोग’ का कारणमात्र आफूले टेस्ट राष्ट्रका रुपमा मान्यता पाएको भन्दै कृतज्ञता जाहेर गरेको थियो ।

क्रिकइन्फोका वरिष्ठ सम्पादक शारदा उग्राले भने फरक राय राखेका छन् । डाल्मियाले बंगलादेशको पक्षमा लबिङ गरेर थुप्रै देशलाई निराश पारेको उग्राको भनाई छ । क्रिकेटमा स्थापित इङल्यान्ड र अस्ट्रेलियाको शक्तिलाई चुनौती दिनका लागि उनले एसियाली ब्लक निर्माण गरेकोमा भने उनी पनि सहमत छन् ।

‘आइसिसीमा अध्यक्ष हुने डाल्मिया पहिलो एसियाली पदाधिकारी हुन् । स्थापित एलिटवाहेकको देशबाट आइसिसी अध्यक्ष हुने पनि उनी नै पहिलो हुन् । उनले त्यसका लागि ठूलो लडाई लड्नु परेको थियो,’ उग्राले एएफपीलाई भने, ‘उनको उदेश्य क्रिकेटलाई सिमित देशको पकडबाट फुत्काएर विश्वव्यापी पार्नु थियो। तर पर्याप्त समय नेतृत्व गर्न नपाउँदा उनले त्यसलाई सोचेजति विस्तार गर्न सकेनन् ।’

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का पूर्व शीर्ष अधिकारी एवं इन्डियन प्रिमियर लिग (आइपिएल) का अध्यक्ष राजीव शुक्लाले टेस्ट राष्ट्रका रुपमा बंगलादेशको आगमन विश्व क्रिकेटका लागि ठूलो उपलब्धी भएको बताए । ‘बंगलादेशलाई टेस्ट मान्यता दिनु त्योबेलाको ठूलो काम थियो । त्यसले अहिलेसम्म क्रिकेटलाई धेरै फाइदा पुगेको छ,’ बंगलादेशलाई टेस्ट मान्यता दिलाउनुमा डाल्मियाको महत्वपूर्ण भुमिका रहेको बताउँदै सुक्लाले भने ।

पछिल्लो समय इङल्यान्ड र अस्ट्रेलियाले दुई डिभिजनमा टेस्ट खेलाउने प्रस्ताव गरेको थियो । जसलाई भारतले ठाडै अस्विकार ग¥यो । भारतको यो कदमले पनि बंगलादेशमाथि धेरै राहत पुग्यो । इङल्यान्ड र अस्ट्रेलियाको प्रस्ताव पारित भएको भए टेस्ट खेल्ने १० देशमध्ये नवौं स्थानमा रहेकाले बंगलादेश दोस्रो डिभिजनमा पर्ने निश्चित थियो ।

टेस्ट मान्यता दिलाउन लबिङ गर्नुका साथै दोस्रो डिभिजनमा खेल्नबाट बचाए पनि भारतले बंगलादेशलाई पाँच दिने खेलका लागि भने अहिलेसम्म निम्तो दिएको थिएन । पाँच दिने खेलका लागि बंगलादेशलाई निम्त्याउने भारत सबभन्दा पछिल्लो देश हो ।

तर आफ्नै चाहनाले गर्दा अन्य देशबाट निम्तो नपाएको केही विज्ञहरुको भनाई छ । भारतले नै यसअघि नै बंगलादेशलाई निमन्त्रणा गरेको थियो, तर बंगलादेशले टेलिभिजन अधिकारबाट धेरै पैसा कमाउने उदेश्यमा आफै खेल आयोजना गर्न चाहँदा ढिलो भएको विज्ञहरुको राय छ ।

अग्राको विचारमा अन्य टेस्ट देशको तुलनामा बंगलादेशलाई भारतले सबभन्दा कम महत्व दिने गरेको छ । ‘भारतले भन्दा अन्य देशले बंगलादेशलाई धेरै सम्मान दिने गरेका छन् । उनीहरुको देश भ्रमण गरिरहँदा पक्कै पनि आर्थिक रुपमा त्यहाँको बोर्डलाई फाइदा पुग्छ । तर साथ–साथै उनीहरुप्रति सम्मान देखाउन आफूकहाँ पनि निम्त्याइरहनु पर्छ,’ अग्राले भने।

प्रकाशित: २६ माघ २०७३ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App