७ वैशाख २०८१ शुक्रबार
राजनीति

घरदैलोमा दलका नेता

चितवन- चितवनमा दलहरूले बढाएको चहलपहल हेर्दा चुनाव मिति नै घोषणा भइसकेको आभास हुन्छ। राजनीतिक दलका केन्द्रीय नेताहरू लगातार चितवन आइरहेका छन्। जिल्लाका नेताहरू घरदैलोमै जान थालेका छन्। प्रभावशाली व्यक्तिहरूलाई पार्टीमा प्रवेश गराउने होडसमेत सुरु भएको छ।

                 पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि तीनपटक चितवन आइसके । उनी बुधबार चौथो पटक चितवन आउँदैछन् ।  चितवन उनको गृह जिल्लासमेत हो । अघिल्ला दुई कार्यक्रममा चितवन केन्द्रित गतिविधि नगरेका दाहालले पछिल्लोपटक जिल्लामा पार्टीलाई सहयोग पुग्ने कार्यक्रममा सरिक भएका थिए। बुधबार यहाँ आएपछि पनि उनी दलीय कार्यक्रममा केन्द्रित हुने बताइएको छ ।

मंसिरयता कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा पनि दुईपटक चितवन आइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली एकपटक आए । नेता आउँदा मात्रै होइन दलका कार्यकर्ता अहिले लगभग दिनहुँजसो राजनीतिक कार्यक्रममा व्यस्त छन् । माओवादी केन्द्रका स्थानीय नेताले बुधबारको कार्यक्रमलाई भव्य बनाउने योजना बनाइरहँदा काँग्रेस र एमालेका नेता पनि राजनीतिक कार्यक्रममा व्यस्त रहे ।

मंगलबार कांग्रेसले क्षेत्र नं. २ अन्तर्गर्त कालिका नगरपालिकामा पार्टी भेला आयोजना गर्‍यो। भेलालाई सम्बोधन गर्न वनमन्त्री शंकर भण्डारी आए । त्यस्तै  कांग्रेस नेतृत्वमा क्षेत्र नं. ४ को गुञ्जनगरमा स्वास्य शिविर सञ्चालन भयो । त्यहाँ पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले सम्बोधन गरे। कांग्रेसका प्रत्येक कार्यक्रममा सकेसम्म केन्द्रीय नेता आउने गरेको जिल्ला सचिव राजिव न्यौपानेले बताए ।

                एमाले चितवन उपाध्यक्ष तेजेन्द्र खड्का मंगलबार बिहानैदेखि भरतपुर उपमहानगरपालिका– ११ मा घरदैलो कार्यक्रममा व्यस्त रहे । चुनाव मिति तोकिएको छैन तर  नेताहरूले घरदैलो गरिरहेको देख्दा स्थानीय छक्क पर्न थालेका छन् । कांग्रेसले गाउँटोलसम्म पुग्ने अभियान सुरु गरेपछि अन्य दल पनि सक्रिय भएका हुन् ।

कांग्रेसका सभापति देउवाले मंसिर ३० मा नेपाली कांग्रेस चितवनले आयोजना गरेको जनपरिचालन अभियान उद्घाटन गरेका थिए । ‘त्यसपछि हामीले माघ १६ गतेसम्म पार्टीका सबै एक सय ३४  एकाइमा भेला, भेटघाट र घरदौलो पूरा गरेका छौं’, कांग्रेस चितवन सचिव राजीव न्यौपानेले भने ।

                कांग्रेसले अहिले नगर भेला सुरु गरेको छ । फागुन १५ मा सबै नगरको भेला पूरा गरेर २७ गते जिल्ला भेला राख्ने उसको कार्यक्रम छ । मंसिरमा जनपरिचालन अभियान उद्घाटन गरेका देउवा माघ ६ गते फेरि चितवन आएका थिए । उनी पछिल्लो पटक क्षेत्र नम्बर ५ मा पर्ने जगतपुरमा पार्टी सभालाई सम्बोधन गर्न यहाँ आएका थिए । थारु समुदाय बहुल सो क्षेत्रमा आयोजित सभामा प्रमुख अतिथि भएर आएका देउवाको हातबाट अबिर लगाएर धेरै थारु युवकयुवती पार्टी प्रवेश गरेका थिए । देउवाले मंसिर ३० मा भरतपुरमै भएको कार्यक्रममा पनि जिल्लाका परिचित उद्योगी व्यवसायीलाई टीका लगाएर कांग्रेस प्रवेश गराएका थिए ।

                क्षेत्र नं. ५ मै देउवाभन्दा पहिला माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहाल दुईपटक पुगिसकेका छन् । प्रधानमन्त्रीको हैसियतमा जिल्ला आएका बेला दाहाल सो क्षेत्रका मैघौली र दिव्यनगरका कार्यक्रममा सरिक भएका थिए । पुस २५ गते चितवन महोत्सव उद्घाटन गर्न आएका दाहाल भरतपुर नगरपरिषद्देखि मेघौली र पूर्वी चितवनको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सरिक भएका थिए ।

                बुधबार दाहाल भरतपुर र मंगलपुरका चारवटा कार्यक्रममा व्यस्त हुनेछन् । मंगलपुरमा उनले सुकुमबासीलाई लालपुर्जा बाँड्ने कार्यक्रमसमेत रहेको माओवादी चितवनका संयोजक यमबहादुर परियारले बताए । अन्य दल चुनावकेन्द्रित अभियानमा लागेका छन् । ‘हो हामी पनि चुनाव तयारीमै छौं । जनपरिचालनमा लागेका छौं । चैत अन्तिममा जिल्ला अधिवेशन हुन्छ’, परियारले भने ।

                एमाले अध्यक्ष ओली छोटो समयका लागि मात्रै भरतपुर आए पनि पार्टीका कार्यकर्ताले उनलाई पिकअप गाडीमा राखेर बजार घुमाए । सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनाल शनिबार चितवन आएर क्षेत्र नं. ५ मा पर्ने माडीमा आयोजित कार्यक्रममा रहभागी भएका थिए । आइतबार भरतपुरमा उनले जिल्लाका नाम चलेका व्यवसायीलाई पार्टी प्रवेश गराए ।

                एमाले चितवन उपाध्यक्ष तेजेन्द्र खड्का पार्टीले माघ २० देखि फागुन ५ सम्म घरदैलो अभियान चलाइरहेको बताए । यो समयमै पार्टीको भेला, बैठक र सम्मेलन पनि हुने छन् । ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभीमान, संविधान कार्यन्वयन एमालेको अभियान’ भन्ने नारा लिएर पार्टी घरदैलोमै पुगेको उनले बताए। आफ्ना गतिविधि स्थानीय चुनाव केन्द्रित भएको उनकोे भनाइ छ ।

                चितवन कहिले कांग्रेस त कहिले वामपन्थीहरूले चुनाव जित्दै आएको जिल्ला हो । यहाँका मतदाताले सधै एकैखालको पार्टी र व्यक्तिलाई कमै जिताउने गरेका छन् । त्यसैले आगामी निर्वाचनमा चितवनलाई आफ्नो पकडमा राख्न दलहरूले बढी कसरत गर्न थालेका हुन् । ‘नेता चुनावका बेलामा मात्रै आउँछन् भन्ने मतदाताको आरोप चिर्न अहिलेदेखि नै राजनीतिक गतिविधि बढाएका हौं,’ कांग्रेस सचिव न्यौपानेले भने ।

 

प्रकाशित: २६ माघ २०७३ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App