७ वैशाख २०८१ शुक्रबार
अर्थ

वाइड बडी खरिद सम्झौता एक महिनापछि

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अमेरिकी उड्डयन सहयोग कम्पनी 'एएआर कर्पोरेसनसँग' एक महिनापछि ठूला (वाइड बडी) जहाज खरिद सम्झौता गर्ने घोषणा गरेको छ। दुईथान वाइड बडी खरिदसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै निगमले सम्झौताका लागि आवश्यक कामकारबाही तीव्र गतिमा अगाडि बढेको जानकारी दिएको छ। निगमले युरोेपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित २ सय ८० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजका दुईथान वाइड बडी खरिद गर्न लागेको हो।

'एएआरसँग वाइड बडी खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ,' निगमले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले भने, 'अब एक महिनापछि खरिद सम्झौता गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं।'

एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ) का दरले दुईवटा वाइड बडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले अनुमोदन गरेको थियो। जसअनुसार दुई जहाजका लागि निगमले २२ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ तिर्नुपर्ने छ।

निगमलाई एयरबसमा दुईथान ए३३० जहाज बिक्री गर्न गत कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए। तीमध्ये एएआर कर्पोरेसनले सबैभन्दा सस्तो मूल्यमा दुईथान वाइड बडी बेच्ने प्रस्ताव गरेको थियो। उसले 'ब्रान्ड न्यु' (एक मिनेट पनि नउडेको) जहाज दिने प्रस्ताव गरेको छ।

त्यसअघि सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले गएको भदौ २९ गते वायुसेवा निगमलाई दुईथान वाइड बडी जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँ एक्लै उपलब्ध गराउने प्रस्तावसहित पत्र पठाएको थियो। कोषको प्रस्तावपछि निगमलाई ठूलो परिमाणको रकम व्यवस्था गर्ने झन्झटबाट मुक्ति मिले पनि उसले उपलब्ध गराउने रकमको ब्याजदर कति हुन्छ भन्नेबारे द्विपक्षीय छलफल भने हुन बाँकी छ।

निगमले लिने ऋणमा सरकारले जमानी बस्ने निर्णय गर्नुअघि नै सञ्चय कोषले ऋण दिने प्रस्ताव गरेको थियो। निगमले लिने २५ अर्ब रुपैयाँबराबर ऋणमा जमानी बस्ने सरकारको निर्णय लगत्तै अर्थ मन्त्रालयले गत असोज ६ गते निगमलाई यससम्बन्धी पत्र पठाएको थियो।

निगमका अनुसार पहिलो वाइड बडी आगामी २०७४ मंसिरमा र दोस्रो वाइड बडी त्यही वर्ष फागुन अन्तिमसम्ममा काठमाडौं अवतरण गर्ने पक्कापक्की भएको छ। पुरानो मितिअनुसार भने पहिलो वाइड बडी २०७४ असोजमा र त्यसको ६ महिनापछि २०७५ वैशाखमा दोस्रो वाइड बडी आउने तालिका थियो। 

निगमले दुईथान वाइड बडी जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाजले एकतर्फी सिधा ९ देखि १० घन्टा 'नन्स्टप' उडान गर्न सक्छ।

'दुई वाइड बडीबाट हामी साउदी अरबको दम्माम, कोरियाको सोल, जापानको टोकियो र अस्ट्रेलियाको सिड्नी उडान गर्ने योजनामा छौं,' महाप्रबन्धक कंसाकारले भने, 'खासगरी नयाँ जहाज श्रमिक यात्रुमा निर्भर छन्, वाइड बडी आएपछि पर्यटक ल्याउन केन्द्रित हुनेछन्।'

त्यसैगरी वाइड बडी जहाज उडाउन आफ्ना पाइलट तयार नभएसम्म विदेशी पाइलट भाडामा ल्याइने उनले बताए। विस्तारै निगमका पाइलटलाई ठूला जहाजका लागि तयार गर्दै जाने र विदेशीलाई विस्थापित गर्ने योजना रहेको उनको भनाइ छ।

'हाम्रा पाइलटलाई सेवा–सुविधामा सहज होस् भनेर न्यूनतम ३० प्रतिशतका दरले भत्ता वृद्धि गर्ने निर्णय भएको छ,' कंसाकारले भने, 'यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएका छौं, सकारात्मक जवाफ आउने आशा छ।'

प्रकाशित: २५ माघ २०७३ ०४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App