८ वैशाख २०८१ शनिबार
खेल

निशानको निर्णायक गोल

बारा- निशान लिम्बुको निर्णायक गोलमा सोमबार रुपन्देही ११ लाई १–० को नतिजामा पराजित गर्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। निशानले एकल प्रयासमा ५२औं मिनेटमा गरेको एउटै गोल हिमालयन शेर्पाको जितमा पर्याप्त बन्यो।

साबिक उपविजेता रुपन्देहीले आकर्षक ढंगमा खेलको सुरुआत गरे पनि गोलका थुप्रै अवसर चुकाएको थियो। तेस्रो मिनेटमा दीपक राईको प्रहार हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले बचाए। तर टोलीको जोश धेरैबेर टिक्न सकेन। केही समयमै हिमालयन शेर्पाले लय समाउँदा रुपन्देही लगातार दबाबको सामना गर्न बाध्य भयो। अन्तिम पाँच मिनेटमा भने पश्चिमे टोलीले खेलमा फर्कने थुप्रै अवसर सिर्जना गरेको थियो। तर उपयोग गर्न सकेन।

२०औं मिनेटमा हिमालयन शेर्पाका सुरज हमाल वान भर्सेस वानको स्थितीमा गोल गर्नबाट चुके। उनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो।

दोस्रो हाफमा थप सुधारिएको प्रदर्शन गरेको हिमालयन शेर्पाले मध्यान्तरपछिको सातौं मिनेटमै गोल गरेर त्यसको प्रमाण दियो। गोल गरेपछि पनि हिमालयन शेर्पा आक्रामक रुपमा प्रस्तुत हुँदा रुपन्देहीको रक्षापंक्ति निकै व्यस्त हुनु परेको थियो।

खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका निशान भए। उनले पाँच हजार रुपैयाँ प्राप्त गरे।

रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले अवसरलाई सही समयमै उपयोग गर्न नसक्दा पराजय भोगेको बताए। यसैगरी हिमालयन शेर्पाका प्रशिक्षक नवीन्द्र मानन्धरले खेलाडीबाट सोचेजस्तो प्रदर्शन हुन नसक्दा नतिजा निकाल्न संघर्ष गर्नुपरेको प्रतिक्रिया दिए। युवा खेलाडी भरिएको टिममा केही तालमेल नमिल्दा फिनिसिङ राम्रो नभएको उनको भनाई थियो।

प्रतियोगिताअन्तर्गत मंगलबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र वीरगन्ज युनाइटेड क्लबबीच हुनेछ।

प्रकाशित: २५ माघ २०७३ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App