८ वैशाख २०८१ शनिबार
खेल

विभागीय टोलीको बर्चस्व कायम

पोखरा- पोखरामा जारी सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिवल प्रतियोगितामा विभागीय टिमको बर्चस्व सोमबार पनि कायम रहेको छ। पोखरा रंगशालाको भलिबल कोर्टमा सशस्त्र प्रहरीको एपिएफ क्लवले सोमबार महिला तथा पुरुष प्रतियोगिताका दुवै खेलमा सहजै जित हात पार्‍यो। अर्काे विभागीय टिम नेपाल पुलिस पुरुषतर्फको खेलमा विजयी भयो। महिलातर्फ भने न्यू डायमन्डसँग पुलिस हार्‍यो।

महिलातर्फ एपिएफले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। एपिएफले २५–१७, २५–१०, २५–१९ को सेटमा पश्चिमाञ्चललाई हराएको थियो। त्यस्तै पुरुषतर्फ एपिएफले हेल्प नेपाल र्स्पोटस क्लवलाई ३–१ को सेटमा पराजित गर्‍यो। एपिएफले हेल्प नेपालमाथि २५–२२, २५–१३, २०–२५, २५–१९ को जित निकालेको थियो।

एपिएफका प्रशिक्षक प्रकाश थपलियाले महिलातर्फको टिम सशक्त रहेको बताए। एपिएफका सरस्वती चौधरी, नेविका चौधरी, विनिता बुढाथोकी, उषा विष्ट र रेश्मा भण्डारी राटि्रय खेलाडी हुन्।

पुरुषतर्फ खेलाडी घाइते रहेकोले समस्या भएको उनले बताए। 'स्पाइकर विजय तामाङको खुट्टामा चोट लागेको छ। 'विजय राम्रोसँग खेल्न नसक्दा एक सेट हामीले विपक्षीलाई सुम्पनु पर्‍यो। विजय खेल्न सकेको भए पुरुषतर्फ पनि सोझो सेटमा जित सम्भव हुन्थ्यो,' थपलियाले भने।

केही वर्ष अघिसम्म महिला भलिबलमा हावी रहने गरेको पश्चिमाञ्चल पछिल्लो समय अनुभवी खेलाडीको अभावका कारण खस्किँदो अवस्थामा रहेको प्रशिक्षक कौशिला खत्रीले बताइन। 'यतिबेला हामीसँग राम्रो खेल्ने खेलाडी निकै नै कम छन्,' उनले भनिन, 'त्यसले गर्दा टिम कमजोर बनेको छ।'

पश्चिमाञ्चलका अनुभवीमध्ये मञ्जु गुरुङ र मान्ती आले मात्र सोमबार खेलेका थिए। अर्की अनुभवी खेलाडी अरुणा शाही घरायसी कारण अनुपस्थित थिइन। अनुभवी खेलाडीको अभावमा ममता डगौरा, रुपा थापा, पुनम चन्द र यमकली कुँवरजस्ता नयाँलाई खेलाइएको उनले बताइन। 'एपिएफ जस्तो सशक्त टिमसँगको खेलमा हामीले जति अंक लियौं, त्यसमा पनि सन्तुष्ट हुनुपर्छ,' उनले भनिन, 'हाम्रा अनुभवी खेलाडी अरु टिममा गइसकेका छन्। त्यसले समस्या पारेको हो।'

सोमबार नै भएको महिलातर्फको दोस्रो खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको छ। न्यू डायमन्डले पुलिसलाई १९–२५, २५–१४, २२–२५, २५–२०, १५–९ ले पराजित गरेको थियो। पुलिसका प्रशिक्षक भरत शाहले टिममा रहेका नयाँ र पुराना खेलाडीबीच संयोजन नमिल्दा पराजित हुनुपरेको बताए।

'नयाँ खेलाडी निकै दबाबमा खेल्छन्। अंक कम देख्नासाथ नयाँ खेलाडी आत्तिन्छन,' उनले भने, 'नयाँ खेलाडीसँग जोश निकछ। तर सम्हालिएर खेल्न सक्दैनन्।'

न्यू डायमन्डका प्रशिक्षक कुमार राई पुलिससँगको जित सहज नभएको बताउँछन्। 'स्पाइकर प्रतिभा माली आज खेल्नै सकिनन्। मुख्य खेलाडी नै खेल्न नसकेपछि जित कठिन हुन्छ,' उनले भने, 'जति प्रतिभाको क्षमता थियो, उत्ती उनी खेल्नै सकिनन्।'

परीक्षा दिएर हतारहतार पोखरा आएर खेल्नु परेकोले पनि प्रतिभाले बढी दबाब अनुभव गरेको उनले बताए। 'पुलिस पनि कमजोर टिम होइन, पुलिसको स्पाइक राम्रो थियो। तर, हाम्रो केही कमजोरी देखियो। तर, आगामी दिनमा सुधार हुन्छ,' उनले भने।

सोमबारै भएको पुरुषतर्फको अर्काे खेलमा नेपाल पुलिसले पश्चिमाञ्चललाई ३–० को सेटमा पराजित गरेको छ। पुलिसले पश्चिमाञ्चललाई २५–१०, २५–१९, २५–१८ ले हराएको थियो। पश्चिमाञ्चलका प्रशिक्षक कृष्ण थापा रिसिभ कमजोर हुँदा नतिजा निकाल्न नसकेको बताउँछन्। 'नयाँ खेलाडी टिममा आउनै मान्दैनन्। बल्लतल्ल जुटाएको टिमबाट यो भन्दा बढि अपेक्षा गर्न सकिने ठाउँ छैन,' भलिबलप्रतिको क्रेज घट्दै गएको संकेत गर्दै उनले भने, 'राष्ट्रियस्तरको खेल खेलेपछि अरु सानातिना टिममा रहेर खेल्न मिल्दैन भन्ने खेलाडीको सोच छ। सशक्त खेलाडी अभाव भएको हो।'

मंगलबार समूह चरणको अन्तिम दिन पुरुषतर्फ पश्चिमाञ्चल र उत्तर प्रदेश तथा हेल्प नेपाल र आर्मीबीच खेल हुनेछ। त्यस्तै महिलातर्फ न्यू डायमण्ड र उत्तर प्रदेश तथा पश्चिमाञ्चल र आर्मीबीच खेल हुनेछन्।

प्रकाशित: २५ माघ २०७३ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App