८ वैशाख २०८१ शनिबार
समाज

३१ वर्षपछि पूरा हुँदै जहाज चड्ने धोको, माघ मसान्तमा परीक्षण उडान

कालिकाेट विमानस्थल

कालिकोट– ३१ वर्षपछि कालिकोटवासीको जहाज चढ्ने धोको पूरा हुने भएको छ। माघ महिनाको मसान्तसम्म परीक्षण उडान हुने भएपछि कालिकोटवासीले जहाज देख्ने भएका छन्। तीन दशकसम्म अन्यौलमा परेको विमानस्थलमा बल्ल जहाज आउने निश्चित भएको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा अनुगमन तथा अवोलकन गर्न पाइलट र इन्जिनियर विमानस्थलमै पुगे।

शाही पर्यटन मन्त्री भएयता योसमेत गरी तीन पटक सुनथराली विमानस्थलको प्रत्यक्ष निरीक्षण गरेका हुन्। मन्त्रीसहित इन्जिनियर र पाइलटको टोलीले परीक्षण उडान गर्न विमानस्थल उपयुक्त भएको बताएका छन्। मन्त्रीको साथमा गएका पाइलट सन्तोस शाहका अनुसार मौसमले साथ दिए माघ २९ गते परीक्षण उडान गर्ने बताए। अन्य कुनै प्राविधिक कठिनाइ नभएमा २९ गते नै परीक्षण हुन्छ,’ उनले भने। 

पर्यटन मन्त्री जीवनबहादुर शाही सुनथराली विमानस्थल कोटवाडा कालिकोटमा। तस्बिरः पवित्र शाही

मन्त्री शाहीले हेलिकोप्टर लिएर जिल्लाको सुनथराली विमानस्थल कोटवाडामा अनुगमन गरेका हुन् । संयुक्त अनुगमनले परीक्षण उडान गर्न उपयुक्त भएको निचोड निकालेको छ।

विमानस्थलको अनुगमन पश्चात निर्माण कार्य तीव्र भएको मन्त्रीका निजी सचिवालयका प्रतिनिधि दमनबहादुर शाहीले जानकारी दिए। ३१ वर्षदेखि निर्माणाधीन कोटवाडा विमानस्थल सञ्चालनमा ल्याएरै छोड्ने मन्त्री शाहीले बताए।

मन्त्री शाहीले भने, ‘कर्णालीको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानस्थलको आवश्यकता छ, मेरै कार्यकालमा जहाज अवतरण गर्छु।’ कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि फराकिलो मनले सोच्नु पर्ने र  पर्यटन क्षेत्रको विकास भयो भने मात्रै कर्णाली समृद्ध हुने मन्त्री शाहीले बताए।

‘सबैको साथ सहयोग आवश्यक छ, मेरो कार्यकाल सफल पार्न सवैको साथ चाहिन्छ । यसबीचमा सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने जहाज यही २९ गते कोटबाडामा अवतरण गर्छौं।’

जिल्लाको एकमात्र विमानस्थल निर्माण कार्य पूरा नभएपछि स्थानीयको हवाइ जहाज चढ्ने सपना मन्त्रीको अनुगमनले केही आशा पलाएको छ । नागरिक उड्डयन प्राधिकरण र स्थानिय उपभोक्ताको लापरबाहीका कारण विमानस्थल निर्माण कार्य सुस्त गतिमा थियो। विमानस्थल शिलान्यास गरेको ३१ वर्ष वितिसकेको छ ।

२०४२ सालमा जिल्ला विकास समितिको १ लाखको लागतमा विमानस्थलको काम सुचारु गरिएको थियो। विगतको सशस्त्र द्वन्द्व सकिए लगत्तै विमानस्थल निर्माणका लागी स्थानीय  राजनीतिक दललाई जिम्मा दिए पनि कामको गति अत्यान्तै कम मात्रामा भएको स्थानीयको दुखेसो छ ।

विमानस्थल निर्माणको लागि करीब २५ करोड बजेट खर्च भईसकेको नागरिक तथा उड्डयन प्राधिकरणले जनाएको छ। पञ्चायतकालमा शिलान्यास भएको विमानस्थल अझै अलपत्र पर्नु भनेको दुःखको कुरा भएको जिल्लवासीको गुनासो छ।

हालसम्मका प्रमुख जिल्ला अधिकारीले विमानस्थलका बारेमा कुनै वास्था नगरी अनुगमनसमेत नगरेको स्थानियबासीको चौतर्फी गुनसो छ। २०४२ सालमा शिलान्यास गरेको विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण र जिल्ला प्रशासन कार्यालयले विमानस्थलको अवस्था बारे सरोकारवालाले चासो देखाएका छैनन्। विमानस्थलको प्रशासन, प्राधिकरणले रेखदेख नगरेपछि स्थानीयको गुनासो बढ्न थालेको हो।

जिल्लावासीको दबावपछि प्राधिकरणले ठेक्कामा दिएर काम सञ्चालन गरेको छ। समयमा ठेक्का दिएको भए तीन दशकसम्म निर्माण कार्य यसरी अलपत्र नपर्ने स्थानीयको भनाइ छ । स्थानीय राजनीतिक दलद्वारा उपभोत्ता समिति गठन गरी कामको जिम्मा दिए पनि उनीहरुले कामको गति शून्य हुँदा नागरिक तथा उड्डयन प्राधिकरणलाई सबै क्षेत्रबाट आग्रह दबाव भएपछि ठेक्कामा दिएको छ।
विमानस्थल ठेक्कामा लिएपछि पहिलेको जस्तै लापरबाही नगर्न स्थानीयले ठेकेदारलाई सुझाव दिएका छन् । ठेक्का दिनुपूर्वको उपभोक्ता समितिले विमानस्थलमा काम गरेबापतको ज्याला नपाएको मजदुरहरुको गुनासो छ। कर्णालीका मुगु, डोल्पा, जुम्ला र हुम्लामा विमानस्थल समयमै सञ्चालन भैसकेका छन्। राज्यले निगरानी नगरेकै कारण कालिकोटमा अहिलेसम्म विमान अवतरण हुन नसकेको जानकारहरु बताउँछन् । पर्यटन मन्त्री शाहीको कार्यकालमा दुई पटक अनुगमन भएपछि धेरै आशा पलाएको स्थानीयबासीले बताए।
 

प्रकाशित: २४ माघ २०७३ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App