१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारमा बस्ने औचित्य सकियाे, मन्त्रीहरू फिर्ता बाेलाउँछाैंः लोहनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन्।

राष्ट्रिय अध्यक्ष लोहनीले सरकारमा राप्रपाको उपस्थिति भए पनि कुनै पनि कुरामा साझेदारी नभएको गुनासो पोखे ।
‘सरकारको महत्वपूर्ण काम तथा निर्णयहरुमा राप्रपाको कुनै साझेदारी देखिएन्,’ उनले भने, ‘त्यसैले सरकारमा रहिरहने कुरा अब स्विकार गर्न सकिँदैन यसबारेमा पार्टीभित्रपनि गम्भिर कुरा उठेको छ।’

डा. लोहनीले सोमबार रिपोर्टर्स क्लबमा बोल्दै आफ्नो पार्टी अब सरकारमा रहने कि नरहने भन्ने बारेमा पार्टी भित्रको कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने बताए ।

‘यो सरकारको तौर÷तरिका हेर्दा अब हाम्रो पार्टी सरकारमा बस्ने औचित्य समाप्त भयो,’ उनले भने।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको नियत नै चुनाव गर्ने खालको नभएको आरोप लगाए।

‘संवैधानिक आयोगले अघि सारेको प्रतिवेदनको निहुँ निकालेर अहिले विभिन्न बखेडा झिक्ने काम भैरहेको छ, यो चुनाव पन्छायाउने काम हो,’ उनले भने।

उनले संसदमा टेबुल भएको संविधान संशोधन विधेयकको कुनै औचित्य नै नरहेको दाबी गरे।

‘अहिले अघि सारिएको संशोधनले मुलुकको हित गर्दैन, संशोधनमा उल्लेख गरिएको कतिपय विषयहरुले देशको राष्ट्रिय हित गर्दैन।’ उनले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरको विषय र नागरिकताको प्रावधान गलत भएको टिप्पणी गरे।

उनले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको जिकिर गर्दै उनले भने, ‘हामी पनि संविधान संशोधन गर्नुहुँदैन भन्ने पक्षमा छैनौं, तर अहिले संशोधन प्रस्तावलाई एक ठाउँमा थाँती राखेर निर्वाचनमा जानुपर्छ, अहिले जनताको माँग भनेको नै चुनाव हो ।’ उनले मधेश र पहाडलाई अलग पार्ने कुरा कुनै हालतमा स्विकार्य नहुने समेत जिकिर गरे । उनले थपे, ‘यस्तो प्रस्तावको पक्षमा हामी छैनौं ।’

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चुनाव गराउँदा आफूले छोड्नुपर्ने हो कि भन्ने पीर देखिएको आशंका व्यक्त गर्दै भने, ‘सरकारको यो प्रवृत्ति दुर्भाग्यपूर्ण छ ।’

डा. लोहनीले पछिल्लो समय सरकारी अक्षमता बढिरहेको समेत गुनासो पोखे । उनले भने, ‘जनताले कर तिरेको पैसाबाट दुई खर्ब पैसा ढुकुटीमा बसिरहेको छ, खर्च गर्न नसक्दा बैंकमा ब्याज बढिरहेको छ।’ उनले सरकारसँग विकासका योजना नहुँदा सुशासनको ठाउँमा कुशासन र इमानको सट्टा बेइमान बढेको बताए।

उनले भूकम्प पीडितहरुले राहत नपाएको समेत गुनासो पोखे । लोहनीले थपे, ‘भूकम्पपीडितले राहत नपाउनु भनेको सरकारको लाचारीपन हो, यो सरकारको नालायकीपन हो ।’ उनले सरकारले जनताको नाममा खेलाँसी गरिरहेको आरोप लगाए । लोहनीले थपे, ‘भूकम्पपीडितलाई राहत दिनुभन्दा पनि हाकिम फेर्न तिर लागे, यसरी कसरी हुन्छ ?’

फरक प्रसँगमा डा. लोहनीले पार्टीको महाधिवेशनमा आफूले अध्यक्षको उम्मेद्वारी दिने समेत बताए । उनले भने, ‘यो पार्टीलाई राष्ट्रवादी शक्तिको रुपमा स्थापित गर्न र खासगरी सम्र्वद्धनवादी दल बनाउनको लागि नेतृत्व गरौं भन्ने मेरो चाहना छ, तर म यस बारेमा दुई÷तीन दिनभित्रै निर्णय गर्छु।’
 

प्रकाशित: २४ माघ २०७३ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App