७ वैशाख २०८१ शुक्रबार
अर्थ

खेराबारीमै प्लटिङ

चितवन- व्यावसायिक रुपमा फस्टाउन थालेको चितवनको केराखेती अव्यवस्थित जग्गा प्लटिङको चपेटामा परेको छ। चितवनमा अधिकांश केरा व्यवसायीले जग्गा भाडामा लिएर केरा खेती गरेका छन्। घडेरी बिक्री गर्न धमाधम प्लटिङ गर्ने चलन बढेसँगै नयाँ जग्गा पाउन मुस्किल भएको किसान बताउँछन्। भाडामा लिएर केरा लगाएको जग्गासमेत अचानक प्लटिङका लागि बिक्री हुन थालेको छ।

'हामी केरा व्यवसायीबाट थोरै भाडा बु‰नेहरुले एकैचोटि धेरै मूल्यको लोभमा जग्गा नै बेच्न थालेका छन्,' चितवन केरा व्यवसायी समितिका अध्यक्ष विष्णुहरि पन्तले भने। चितवनमा पछिल्लो समय जग्गा प्लटिङ गर्ने चलन बढेको छ। स्थानीय निकाय तथा नगर विकास समितिबाट स्वीकृति गराउनुपर्ने नियम पनि पालना भएको छैन। खेतीयोग्य जमिन धमाधम घडेरीका लागि प्लटिङ भइरहेका छन्।

पन्तले ३० बिघा जमिनमा केराखेती गरेका छन्। उनको आफ्नै जग्गा तीन बिघामात्रै छ। अरु जग्गा ठाउँ ठाउँमा भाडामा लिएका छन्। उनले पूर्वी चितवनको खैरहनी–१ मा एकै ठाउमाँ विभिन्न व्यक्तिका नाममा रहेको १५ बिघा जग्गा भाडामा लिएर केराखेती गरेका छन्।

उनले २०७१ सालमा ५ वर्षका लागि जग्गा भाडामा लिएका थिए। तर अहिले केराखेती गर्ने जमिन जम्मा १२ बिघामात्रै छ। 'जग्गाधनीले तीन बिघा जमिन प्लटिङ गर्नेलाई बिक्री गरे। समयअघि नै सम्झौता तोडेपछि केही क्षतिपूर्ति त देलान तर कृषिको जमिनमा प्लटिङ भयो,' पन्तले भने।

उनको केराखेतीको बीचबाट अहिले ग्राभेल बिछ्याएको बाटो र बिजुलीको पोल गाडेर तार टाँगेको देखिन्छ। ग्राभेल गरेको बाटोमा केराका टुसाहरु भसक्कै उम्रेका छन्। ती टुसा अब मौलाउन पाउने छैनन्। बाटो बरपर रहेका बोटहरुको फल तयार भएपछि यो वर्ष सबै बोट काटेर हटाउने र धमाधम जमिन टुक्राएर घडेरी बेच्ने तयारी छ। यस्तो दृश्यले आफ्नो मन कँुडिएको पन्तले बताए।

'यहाँ त ३ बिघामा भएको रहेछ, रत्ननगर नगरपालिकाको वडा नं. १० जयमंगलामा एकै ठाउँमा १० बिघा केराखेती नष्ट गरेर प्लटिङ गरियो। मान्छेले अहिले कृषिका लागि जग्गा भाडामा दिन छाडेको छ। प्लटिङका लागि जग्गा बेच्ने चलन बढेको छ,' चितवन केरा व्यवसायी संघका कोषाध्यक्ष रेवतीप्रसाद भट्टले भने। पूर्वी चितवनमा मात्रै केराखेती भएको लगभग ५० बिघा जमिनमा प्लटिङ भएको छ।

'पश्चिम चितवनको यकिन विवरण आएको छैन। तर केराखेतीको लागि भाडामा लिएको जमिन बीचमै खोसिने र भाडामा नयाँ जमिन नपाउने समस्या निकै चर्कंदै गएको छ,' अध्यक्ष पन्तले भने। उनका अनुसार चितवनमा ६ सयजनाले २५ सय बिघामा केराखेती गरेका छन्। केराखेती हुने लगभग ८० प्रतिशत जमिन भाडामा लिइएको अध्यक्ष पन्तले जानकारी दिए।

एक बिघा जग्गा भडामा लिएर केराखेती गर्दा बिघाको ५० देखि ७० हजार रुपैयाँसम्म वार्षिक भाडा तिर्नुपर्ने हुन्छ। केही हजार रुपैयाँ भाडा बुझेका जग्गाधनीले केरा व्यवसायीभन्दा लाखौं रुपैयाँको प्रस्ताव लिएर प्लटिङका लागि जग्गा किन्न आउनेलाई रोज्ने गरेको केरा उत्पादक बताउँछन्।

जग्गा व्यवासायीको संस्था नारायणी जग्गा तथा आवास व्यवसायी समितिले केही वर्षअघि कृषि भूमिमा प्लटिङ नगर्ने निर्णय गरेको थियो। तर त्यो निर्णय अलपत्र परेको छ। यो अवस्था कायमै रहे केही समयपछि जिल्लामा केराखेती लोपै भएर जाने खतरा बढेको चितवन केरा व्यवसायी संघका अध्यक्ष पन्तले बताए।

प्रकाशित: २३ असार २०७३ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App