६ वैशाख २०८१ बिहीबार
समाज

राजमार्ग सफा गर्दै सिडिओ

सिन्धुली- प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की सोमबार बिहानै बिपी राजमार्गको छेउमा फोहोर टिप्दै गरेको अवस्थामा भेटिए। मुलुककै नमूना पर्यटकीय राजमार्गको आसपासमा अत्याधिक फोहोर भएपछि त्यसको सरसफाईमा प्रजिअ कार्की आफैँ खटिएपछि ठूलो सङ्ख्यामा स्थानीय सडकको फोहोर टिप्न उत्रिए।

प्रजिअकै नेतृत्वमा सडक सफा गर्न स्थानीय जुटेपछि बिहानभरिमै सडकले मुहार फेरेको छ। हातमा झाडु, मुखमा माक्स र हातमा पञ्चा लगाएर सडकमा भएको दुर्गन्धित फोहोर स्थानियले सफा गरेको थियो।

कमलामाई नगरपालिका कार्यालय वडास्तरीय सरसफाई उपभोक्ता समूहलगायतको संयुक्त पहलमा बिपी राजमार्गस्थित जिल्लाको भिमान चुरेदेखि चियाबारीसम्म झन्डै २८ किलोमिटर सडक आसपासको फोहोर सफा गर्न एक साथ स्थानीय निस्किएका थिए।

राजमार्गको फोहोर सफा गर्न खटिएका प्रत्येक टोलीलाई कमलामाई नगरपालिका कार्यालयका कर्मचारीले नेतृत्व गरेका थिए। सदरमुकामस्थित बिपी राजमार्गमा जिल्लाका ठूला होटल सञ्चालकले नै फोहोर गर्दै आएको पाइएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले बताए।

'यत्रो होटल सञ्चालन गर्नेले आफ्नो होटलबाट निस्किएको फोहोर आफैँले व्यवस्थापन गर्नुपर्छ, उनले भने, 'होटल सञ्चालन गरेर पैसा खल्तीमा हाल्ने अनि फोहोर सडकमा फाल्ने काम नगरौं।' प्रजिअ कार्कीले आफ्ना होटलबाट निस्किने फोहोर सार्वजानिक सडकमा फालेको आगामी दिनमा पाइए कडा कारबाही गर्ने बताए।

सरकारले सार्वजानिक सडकमा फोहोर फाल्ने सवारीलाई समेत कारबाही गर्ने भनेकाले पहिलोपटक उपभोक्ता आफैँबाट राजमार्गको सफा गर्ने र सरसफाईमा चेतना फैलाउने उद्देश्यले राजमार्ग सफाईमा जुटेको कमलामाई नगरपालिका कार्यालयका कार्यकारी अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार सोमबार ठूलो सङख्यामा स्थानीय आफैँले सडक सफा गरेको भए पनि आगामी दिनमा सवारीले सडकमा फोहोर फालेको पाइएमा पाँच सय जरिवाना गर्ने बताए।

फोहोर बेचेर ३० हजार

कमलामाई नगरपालिका कार्यालयले पहिलोपटक फोहोर बेचेर आम्दानी गरेको छ। होटल घर अगानबाट निस्किएको र नकुहिने फोहोर बेचेर पहिलो पटक ३० हजार आम्दानी गरेको नगरपालिका कार्यालयले जनाएको छ। कार्यालयका सुचना अधिकारी बिनोदबाबु खकुरालका अनुसार बोतल प्लाष्टिकजन्य फोहोर बेचेर पहिलो पटक यस्तो आम्दानी गरेको हो। 'अब तपाईँ हामीलाई फोहोर दिनुस् हामी आफैँ उठाउन आउछौं,' उनले स्थानीयलाई भने, 'तपाईँको फोहोरले नगरपालिकाको आयस्रोत बढ्छ।'

प्रकाशित: २४ माघ २०७३ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App