coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मूर्तिमा शिर सौन्दर्य

काठमाडौं-शिरबिनाको प्राणीको कल्पना गर्न पनि सकिँदैन। शिर हरेक प्राणीको पहिचानको पर्याय नै हो। यही कुरालाई बुझेका कलाकार रामकृष्ण भण्डारी शिरको सौन्दर्य झल्काउने मूर्ति प्रदर्शनी सकेका छन्। शुक्रबार सुरु भएको प्रदर्शनी आइतबारसम्म चलेको थियो।

पुराना कलाकार कुलमानसिंह भण्डारी र आमा चैत्यकुमारी भण्डारीका छोरा रामकृष्णले आफ्ना पिताको पथ पछ्याउँदै आफूले बनाएका मूर्तिलाई ‘शिरको सौन्दर्य’ शीर्षकमा राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा प्रदर्शन गरे ।

‘घरका अरु सदस्य धुलो भयो भनेर भाग्थे, म भने पिताजीले बनाएका चित्र र मूर्तिको नक्कल गर्थें,’ उनले सुनाए, ‘त्यही सिकाइले नै मलाई यहाँसम्म ल्यायो । शिरमा हुने आँखा, नाक, कान दिमागजस्ता कुरा शिरका गहना हुन् । शिरको सौन्दर्य सम्पूर्ण जिउको सौन्दर्य हो ।’

भण्डारीले बुबाको कलाभन्दा फरक आवक्ष (शिरदेखि छातीसम्म) को मूर्तिकलामा आफ्नो पहिचान स्थापित गरेको दाबी गरे । उनका कलामा माटो, काठ र ढुंगामा कलात्मक सीप हेर्न पाइन्छ ।

‘माटोको मूर्ति बनाउँदा साना हतियारले कलात्मकता दिन्छन्, ढुंगाका ठूला मूर्ति बनाउन भने अझ बढी साधना र  मेहनत लाग्छ,’ उनले भने ।

केही प्रस्तर मूर्तिसहित ५३ कलात्मक मूर्ति उनले प्रदर्शनीमा राखेका थिए । ‘नयाँ पुस्ताका विद्यार्थीले केही सिकून् भनेर कला प्रदर्शनी गरेँ,’ भण्डारीले प्रदर्शनीको औचित्य प्रस्ट्याए, ‘मूर्तिका हरेक कोण नयाँ पुस्ताका लागि एउटा पुस्तक बन्न सक्छन् ।’

साहित्यकार पारिजात, हरिहर यादव, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी लगायत नेताको मूर्ति, कार्ल माक्स, भ्लादिमिर, लेनिन जस्ताका प्रस्तर मूर्ति, किसान, मजदुर, सहिद र आममानिसका विभिन्न भावभंगीमा झल्काउने मूर्ति प्रदर्शनीका आकर्षक थिए । माटाको मूर्ति बनाउँदा नै ३० हजारदेखि डेढ लाख रुपैयाँसम्म खर्च हुने उनले बताए ।

उनले एउटा मूर्ति बनाउन सात दिनदेखि एक महिना समय खर्चेका छन् । अझ त्यसलाई प्रस्तर मूर्तिमा बदल्दा हुने खर्च निकै महँगो छ । मूर्तिकलाका लागि चाहिने कच्चा पदार्थ सहज उपलब्ध नहुनाले पनि कलाकारलाई समस्या पर्ने गरेको उनी बताउँछन् । ‘कालो पत्थर चाहिन्छ तर पाउन कठिन हुन्छ,’ भण्डारीले भने, ‘भएका बेला अर्डर आउँदैन, अर्डर आएका बेला पत्थर पाउनै मुस्किल ।’ अझ ठूला ढुंगा, माटो संकलन गर्ने स्थान अभावमा कलाकारले समस्या खेप्नुपरेको उनको अनुभव छ।

भण्डारीले माग भएपछि मात्र मूर्ति बनाउन थालेका छन् । आफूले बुबाको बाटो समाते पनि आफूपछिका पुस्ताले भने यसलाई नपछ्याउँदा उनी दुःखी छन्। ‘म यही माटो र ढुंगालाई शिरको सौन्दर्य मान्छु, उनीहरु धुलो, माटो भनेर परपर भाग्छन्,’ उनको गुनासो छ। 

उनले अपनाएको आवक्ष मूर्तिकलाको इतिहास प्राचीन रोमबाट सुरु भएको मानिन्छ । पश्चिम युरोपमा भने पुनर्जागरणकालदेखि यस प्रकारको मूर्तिकलाको विकास भएको कलाकर्मी उल्लेख गर्छन् । १७औँ शताब्दीपछि यसको व्यापकता नेपालसहित विश्वभर फैलिएको थियो । नेपालमा भने सात सालको क्रान्तिपछि त्यतिखेरका राजनेताको मूर्ति बनाउने काम फैलिएको अनुमान गरिन्छ । प्रस्तर, माटो, मैन, पेरिस, सिमेन्टजस्ता कच्चा पदार्थ मूर्तिका स्रोत हुन्।

प्रकाशित: २४ माघ २०७३ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App