८ वैशाख २०८१ शनिबार
अर्थ

यात्रा सामग्रीसम्म विस्तार

काठमाडौं- संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटिआर) ले जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस (जिएसपी) कार्यक्रम अन्तर्गत वार्षिक उत्पादन समीक्षा घोषणा गरेको छ। जस अन्तर्गत नेपाल लगायत अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकका निम्ति लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सार छुट सुविधा थपिएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ नियमले असार १७ गतेदेखि लागू हुने गरी उक्त नयाँ उत्पादनहरू भन्सार छुट सुविधाका लागि योग्य भएका छन्। सन् २०१५ मा अमेरिकाले करिब १० अर्ब डलर बराबरका यात्रा तथा लगेज सामग्री आयात गरेको थियो।

'नेपाली व्यापार–व्यवसायका लागि अमेरिकी बजारमा आफ्नो निर्यात बढाउन यो ठूलो अवसर हो,' अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले भनिन्। उनका अनुसार खुला बजार नीतिप्रति बलियो प्रतिबद्धता, सम्पत्तिसम्बन्धी अधिकारलाई सुरक्षित गर्ने स्थायी र पारदर्शी कानुनी वातावरण, गतिशील उद्यमशील क्रियाकलापलाई प्रोत्साहन गर्ने नीति र रणनीतिक पूर्वाधारमा लगानी भएमा नेपाललाई यस अवसरको भरपूर सदुपयोग गर्न मद्दत मिल्नेछ।

सन् २०१५ मा कम्बोडियापछि अमेरिकामा लगेज सामग्री निर्यात गर्ने अल्पविकसित मुलुकहरूमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो। सन् २०१४ यता नेपालका यस्ता उत्पादनको निर्यात ७ प्रतिशतले बढेर सन् २०१५ मा १८ लाख अमेरिकी डलर पुगेको थियो।

अमेरिकी व्यापार ग्राह्यता कार्यक्रमहरूले विश्वका थुप्रै विपन्न मुलुकलाई व्यापारको प्रयोगबाट आफ्नो अर्थतन्त्रलाई वृद्धि गर्दै गरिबीबाट मुक्त हुने अवसर प्रदान गर्ने दूतावासको विज्ञप्तिमा उल्लेख छ। ४० वर्षको उक्त जिएसपी कार्यक्रम सबैभन्दा ठूलो र पुरानो अमेरिकी व्यापार ग्राह्यता कार्यक्रम हो।

जीएसपी कार्यक्रमअन्तर्गत अमेरिकाले लाभग्राही विकासोन्मुख मुलुकहरूबाट आयात गर्दा अनेक सामग्रीलाई भन्सार छुट सुविधा उपलब्ध गराउँछ र अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूलाई थप सामग्री निर्यात गर्ने सुविधा दिन्छ। जिएसपी कार्यक्रमअन्तर्गत ४३ अल्पविकसित मुलुक लगायत १ सय २२ लाभग्राही विकासोन्मुख मुलुकमा उत्पादन हुने झन्डै ५ हजार सामग्री अमेरिकामा निर्यात हुँदा भन्सार छुट सुविधाका लागि योग्य रहेको दूतावासले जनाएको छ। यीमध्ये झन्डै १५ सय सामग्री अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकलाई मात्र प्रदान गरिने भन्सार छुट सुविधाका लागि छुट्याइएको छ।

प्रकाशित: २३ असार २०७३ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App