७ वैशाख २०८१ शुक्रबार
समाज

जग हाल्नै पाएनन् भूकम्पपीडितले

काठमाडौं-सरकारले उपलब्ध गराउने अनुदानको पहिलो किस्ता नपाउँदा ठूलो संख्यामा भूकम्पपीडितले नयाँ घरको जग हाल्न पाएका छैनन्।

भूकम्प गएको २२ महिना बित्दा पनि सरकारले जग राख्न उपलब्ध गराउने भनिएको पहिलो किस्ताबापत ५० हजार रुपैयाँ सबै पीडितको हात पुगेको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेलगत्तै साउन २० गते पीडितलाई ४५ दिनभित्र पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले घोषणा गरेको महिनौं भइसके पनि ४० हजार एक सय ११ पीडित परिवारको हातमा पहिलो किस्ता पुगेको छैन।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने ४० हजारले अनुदान नपाएको कुरामा आफू कारक नरहेको जनाएको छ । ‘पहिलो किस्ताको अनुदान वितरण शतप्रतिशत नजिक पुगेका छौं,’ प्राधिकरण प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले भने, ‘पहिलो किस्ता लिन जति पीडित बाँकी छन् त्यसमा प्राधिकरण कारक होइन ।’

उनका अनुसार पहिलो किस्ताको अनुदान बजेट अभाव वा अन्य कारण नभई कागजपत्र नमिल्दा सबै पीडितको हातमा पहिलो किस्ता अनुदान रकम पुग्न नसकेको हो । लालपुर्जा, सार्वजनिक जग्गामा घर, बस्ती स्थानान्तरणलगायत कारण अनुदान वितरणमा समस्या भएको प्राधिकरणका सहप्रवक्ता भिष्मकुमार भुसालले बताए । लालपुर्जा, जग्गा विवादका कारण करिब १० हजार परिवार समस्यामा छन् । यस्तो मुद्दालाई नीतिगत तहबाटै टुंगो लगाउनुपर्ने प्राधिकरणले जनाएको छ । यता, बस्ती स्थानान्तरण गर्नुपर्ने ठाउँका लागि भने प्राधिकरणले काम थालिसकेको जनाएको छ ।

प्राधिकरण बाँकी रहेको भूकम्पपीडितको हातमा सक्दो चाँडो रकम पु¥याउन प्रतिबद्धता रहेको  जनाएको छ। प्राधिकरणले पहिलो किस्ताका लागि ५ लाख ५० हजार २ सय ४१ पीडित परिवारसँग सम्झौता गरेको थियो । त्यसमध्ये हालसम्म ५ लाख १० हजार १ सय ३० पीडित परिवारलाई पहिलो किस्ताको अनुदान वितरण गरिसकेको छ ।

त्यसैगरी, ८३ हजार ४ सय १२ परिवारको गुनासोबाट २१ हजार ४ सय ६९ भूकम्पपीडित परिवार लाभग्राही सूचीमा परेका छन् । यी लाभग्राहीले समेत सम्झौता गरेको पहिलो किस्ताको अनुदान लिन सक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दोस्रो किस्तासमेत वितरण थालिएको जनाएको छ । हालसम्म ७ सय २० घरधनीले दोस्रो किस्ता पाएको प्राधिकरणको भनाइ छ । दोस्रो किस्तामा पीडितले एक लाख ५० हजार रुपैयाँ पाउने व्यवस्था छ । ६१ हजारले दोस्रो किस्ताका लागि आवेदन दिएका प्राधिकरणको जानकारी दियो ।

अनुदान नपाउनेमा सबैभन्दा बढी काठमाडौंमा छन् । काठमाडौंमा १० हजार २ सय ६७ परिवारले पहिलो किस्ताको अनुदान पाएका छैनन् । त्यसैगरी, धादिङमा १० हजार २ सय ३४ परिवार पहिलो किस्ता अनुदान नपाएको तथ्यांकले देखाउँछ ।

प्राधिकरणका अनुसार काठमाडौंलगायत उपत्यकाका तीन जिल्लामा धमाधम वितरण भइरहेको छ । उता, धादिङमा भने बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुने ठाउँका बासिन्दालाई स्थानान्तरण गर्नुपर्ने भएकाले वितरण नहुँदा संख्या बढी देखिएको जनाएको छ । बाँकी रहेकालाई धमाधम पहिलो किस्ता वितरण गरेर दोस्रो किस्ताको समेत अनुदान लिन बाटो खुलिसकेको प्राधिकरणले जनायो ।

अनुदान नपाउनेहरू

जिल्ला, घर

सिन्धुपाल्चोक १२

ओखलढुंगा १८८

नुवाकोट  ८९६

रामेछाप ११५२

दोलखा ९५३

गोरखा ९५३

काभ्रेपलाञ्चोक ९७०

रसुवा ६०७

सिन्धुली २१०७

धादिङ  १०२३४

मकवानपुर १२९६

काठमाडौं १०२६७

ललितपुर ९०२३

भक्तपुर २१५०

प्रकाशित: २४ माघ २०७३ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App