coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘दलाल पुँजीवाद हाबी हुँदा समृद्धिमा बाधा’

काठमाडौं-कम्युनिस्ट पार्टीका नेताहरूले मुलकको अर्थतन्त्रमा दलाल पुँजीवाद हाबी हुँदा समृद्धि हासिल गर्न नसकिएको बताएका छन्।

नेपाल अध्ययन केन्द्रले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेताहरूले नेपालमा सामान्तवाद समाप्त भए पनि पुँजीवादको चरित्र राष्ट्रिय नभई दलाल भएको बताए।

कार्यक्रममा ‘नेपालमा पूँजीवादको चरित्र ः नेपालका कम्युनिस्ट पार्टीमाथि आलोचनात्मक टिप्पणी’ नामक कार्यपत्र प्रस्तुत गर्दै एमाले उपमहासचिव घनश्याम भुसालले नेपाली अर्थतन्त्रको चरित्र उत्पादन गर्ने नभई अरु ठाउँबाट ल्याएर बेच्ने भएको बताए । ‘अहिले मूलतः हाम्रो पुँजीवादको चरित्र भनेको दलाल पुँजीवाद नै हो । योभन्दा विदेश लगानी आँउँदैन कि भनेर कतिपयलाई परेको छ,’ भुसालले भने, ‘यो भनेको बिचौलिया हो । एक ठाउँबाट ल्याएर अर्को ठाउँमा बेचेर नाफा खाने देखियो । त्यसले श्रमलाई उत्पादनसँग जोड्दैन ।’

विदेशी पुँजी आउँदैन कि भनेर  डरले राजनीतिक दल दलाल पँुजीपति भन्न डराएको दाबी गर्दै उनले भने, ‘देशभित्र वा बाहिरको पँुजी भनेर मात्रै हुँदैन । दुवै अनुत्पादक हुनसक्छ ।’ उनले उत्पादन र श्रम जोड्न नसक्ने पुँजी हाबी भएको बताए ।

५० वर्षअघि नेपालको जिडिपीमा कृषि क्षेत्रको योगदान ६५ प्रतिशत र त्यसमा आश्रितको सख्या ८१ प्रतिशत रहेकोमा अहिले जिडिपीमा कृषिको योगदान ३३ प्रतिशत छ भने आश्रित ६५ प्रतिशत छन्।

भुसालले समृद्धिका कुरा गर्नुअघि समस्या पहिचान गर्न छलफल गर्नुपर्ने बताए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले देशमा भनेजस्तो समृद्धि सहज नभएको बताए । उनले भने, ‘हाम्रो कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत मात्रै बचत छ । भनेजस्तो समृद्धि सहज छैन ।’

अर्थशास्त्री हरि रोक्काले संसारभर उद्योग, बैंक र बिमा कम्पनी एउटैलाई चलाउन दिइँदैन तर नेपालमा त्यस्तो काम भइरहेको बताए । ‘त्यसले पुँजी विस्तारमा समस्या पारेको छ,’ उनले भने।

प्रकाशित: २४ माघ २०७३ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App