७ वैशाख २०८१ शुक्रबार
खेल

मेसीलाई २१ महिना जेल सजाय

बार्सिलोना- बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसी र उनका पितालाई कर छली गरेको अभियोगमा स्पेनको एक अदालतले २१ महिना जेल सजायको फैसला गरेको छ।

तर स्पेनको चलनअनुसार उनीहरूले जेलमै भने बस्नु नपर्ने सम्भावना छ। स्पेनमा अहिंसात्मक अपराधमा दुई वर्षभन्दा कमको सजाय हुँदा जेल बस्नु नपर्ने सुविधा हुन्छ। बार्सिलोनाको अदालतले अर्जेन्टिनी अन्तर्राष्ट्रिय स्टार र उनका पिता जर्ज होरासियो मेसीले २००७ देखि २००९ सम्म आफ्नो छविको व्यावसायिक प्रयोग गरेवापत आम्दानीको कर छल्न बेलिजे, बेलायत, स्विट्जरल्यान्ड र उरुग्वेका विभिन्न कम्पनीको दुरुपयोग गरेको जनाएको छ।

मेसीले विभिन्न व्यावसायिक कम्पनीहरूको विज्ञापन गर्ने तथा उनीहरूको व्यापारिक प्रयोजनका लागि आफ्नो छवि प्रयोग गर्ने क्रममा डानोने, एडिडास, पेप्सीकोला, प्रोक्टर एन्ड ग्याम्बल, कुवेत फुड कम्पनी लगायनसँगको सम्झौता लुकाएको बताइएको छ।

पाँचपटकका फिफा विश्व वर्ष खेलाडी २९ वर्षे मेसीलाई २० लाख ९० हजार युरो तथा उनका पितालाई १६ लाख युरो जरिवाना गरिएको छ। मेसी र उनको बाल्यकालदेखि नै छोराका सबै विषय व्यवस्थापन गर्दै आएका उनका पिताले बार्सिलोना अदालतको निर्णयविरुद्ध स्पेनको सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन्।

मेसीले चार दिनसम्म अदालतमा बयान दिने क्रममा आफूलाई आर्थिक विषयमा केही जानकारी नभएको र पिताले नै सबथोक व्यवस्थापन गर्दै आएको बताएका थिए। उनले आफ्नै कमाइको विषयमा पनि आफूलाई धेरै जानकारी नहुने बताएका थिए। तर कर अधिकारी तथा अदालतले भने निर्णय गर्ने क्रममा उनको भनाइलाई महŒव दिएन।

'यहाँ नियतको विषयमा हामी छलफल गरिरहेका छैनौं। उनले कर तिर्न नचाहेको एउटा विषयमा भने नियत प्रस्ट भइसकेको छ,' कर अधिकारी मारियो माजाले भने, 'उनले कर तिर्न चाहेनन्। यो भनेको ठूलो अपराध हो।'

मेसी र उनका पिताले स्वतस्फूर्त रूपमा ५० लाख युरो कर तिरिसकेका छन्। तर, त्यतिकै रकम उनीहरूले छल्न खोजेको आरोपसाथ २०१३ को अगस्टमा कर अधिकारीहरूले अनुसन्धान सुरु गरेका थिए।

अदालतको निर्णय सार्वजनिक भएपछि मेसीको क्लब बार्सिलोनाले आफ्नो समर्थन मेसी र उनका पितामाथि रहेको जनाएको छ। मेसी बार्सिलोनाको इतिहासकै उच्च गोलकर्ता हुन्। उनले क्लबबाट युरोपियन च्याम्पियन्स लिग चारपटक जिते भने आठपटक स्पेनिस ला लिगाको उपाधि जितेका छन्।

प्रकाशित: २३ असार २०७३ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App