coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रत्यक्ष निर्वाचित कार्यकारीको नीति छाडिएको छैन: सचिव ज्ञवाली

युएई- बर्तमान सरकारले जेठ मसान्त भित्रमा स्थानीय तहको निर्वाचन गराउन नसके एमालेले पहिले प्रतिनिधि सभाको निर्वाचनको माग गर्ने भएको छ। नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले नेपाल पत्रकार महासंघ युएई शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

अहिले क्रमशः स्थानीय तह, प्रदेश र केन्द्रिय प्रतिनिधि सभाको निर्बाचन गराउनका लागि दबाव सृजना गर्दै आएपनि जेठ भित्र स्थानीय निकायको निर्बाचन नभए कार्तिकमा प्रतिनिधि सभाको निर्बाचन गराउन दवाव दिने उनले बताए।

२०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन गराउन नसके मुलुकमा संवैधानिक संकट आउने भएकाले आफुहरु निर्बाचनको वातावारण बनाउन दवाव सृजनामा लागेको उनले बताए। बर्तमान सरकारको मुख्य जिम्मेवारी संविधान कार्यान्वयनका लागि निर्वाचन गराउने भएपछि छ महिनाको अवधि निर्बाचन गराउन ध्यान नदिएर खेरा फालेको उनले आरोप लगाए । “निर्वाचन गराउन ९ वटा कानुन पास हुनुपर्छ तर अहिले सम्म चार वटा कानुनको ड्राफ्ट पनि भएको छैन” उनले भने ।  तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर निर्बाचनको तयारी अगाडी बढाउनु पर्ने उनले बताए।

निर्वाचनको मिति तोक्ने जिम्मा सरकारको भएपनि त्यसमा आलटाल भैरहेको उनले बताए । “हामीसंग माघ पन्ध्र गते भित्र मिति तोक्छु भन्ने मधेसी मोर्चासंग छलफल गर्दा तपाईहरुसंग सहमति नभई त कसरी मिति तोक्छु भन्ने कार्यकारी प्रमुखको यस्तो दोहोरो चरित्रले गम्भिर शंका उत्पन्न गराएको छ” उनले भने।

कुनै दल बिशेषले निर्वाचनमा जान्न भन्दैमा निर्वाचन गराउने दायित्वबाट सरकार भाग्न नमिल्ने उनले बताए । “निर्वाचनमा जाँदैनौ भन्नेमा बैद्यजी, बिप्लव जीहरुको पनि समूह छ । कुनै न कुनै दल निर्वाचनमा नजानाले निर्वाचननै नगराउने” उनले प्रतिप्रश्न गरे।

विखण्डनकारीको मनोबल बढाउने काम सरकारको

      बर्तमान सरकारले छिमेकी संगको सम्बन्धको सन्तुलन बिगारेको नेता ज्ञवालीले आरोप लगाए। सरकार बनेको छ महिनामा प्रधानमन्त्री दुई पटक , परराष्ट्रमन्त्रि छ पटक भारत प्रमणमा जानु भयो, उताबाट राष्ट्रपति आउनु भयो अर्को पनि छिमेकी मुलुक छ भन्ने नै सरकारले बिर्सेर बसेको उनले भने।

      तराईका केही जिल्लामा देखिएका बिखण्डनकारी गतिविधिबारे टिप्पणी गर्दै नेता ज्ञवालीले बर्तमान सरकारलेनै बिखण्डनकारीको मनोबल बढाउने काम गरेको आरोप लगाए । सिके राउतका गतिविधि प्रति असन्तोष प्रकट गर्दै नेता ज्ञवालीले उनका राष्ट्रघाती गतिविधिका प्रमाण जुटाएर कानुनी कारवाही हुनु पर्ने बताए। राउत पक्राउ पर्नु स्वागत योग्य छ तर कारवाही  नगरी हिरो बनाएर छाड्ने काम भयो भने त्यो दुर्भाग्यपुर्ण हुन्छ  उनले भने।

प्रत्यक्ष कार्यकारीको नीति छाडिएको छैन

एमाले नेता प्रदिप ज्ञवालीले मुलुकको सम्बृद्धिका लागि राजनीतिक स्थिरता चाहिने र त्यसका लागि प्रत्यक्ष निर्बाचित कार्यकारी चाहिने कुरामा एमाले प्रष्ट रहेको बताएका छन्। ढिलो चाडो मुलुक त्यही दिशामै जान्छ  उपयुक्त समयमा हामी त्यो कुराको पनि घोषणा गर्छौ नेता ज्ञवालीले भने । यही संविधानबाटै यो कुरा लागु गराउन हामीले प्रयास गर्यौ शक्ति सन्तुलनको अवस्थाले त्यो कार्यान्वयन भएन तर हामीले यो निति छाडेको छैनौ उनले भने।


 

प्रकाशित: २३ माघ २०७३ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App