८ वैशाख २०८१ शनिबार
खेल

आर्मीको विजयी सुरुआत

तस्बिर सौजन्यः उमेश पुन

पोखरा- त्रिभुवन आर्मी क्लवले पोखरा रंगशालामा शनिबार सुरु सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिवल प्रतियोगिताको उदघाटन खेलमा अर्काे विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लवमाथि ३–० को सोझो सेटमा विजय हासिल गरेको छ।

उद्घाटन खेलमा पुरुषतर्फ आर्मीले २५–१९, २९–२७, २५–२१ को सहज नतिजा निकाल्यो। सोझो सेटमा नतिजा निस्किए पनि अत्यन्तै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न खेलमा आर्मीले दोस्रो सेटमा धेरै मेहनत गर्नुपर्‍यो। दोस्रो सेटमा एपीएफको अग्रता चिर्न आर्मीलाई निकै कठिन परेको थियो।

अघिल्लो साता राजधानीमा सम्पन्न प्रधान सेनापति कपमा पुलिस क्लवलाई सोझो सेटमा हराएर आर्मीले उपाधि हात पारेको थियो। प्रधान सेनापति कपमा पनि आर्मीले एपीएफलाई सोझो सेटमा हराएको थियो।

आर्मीका प्रशिक्षक जगदीश भट्टले विजयी सुरुआत गरे पनि प्रदर्शनमा सन्तुष्ट हुन नसकेको प्रतिक्रिया दिए। 'हामीले आज ३० प्रतिशत मात्र खेल देखाएका हौं। राम्रो टिम भए आजको जित कठिन थियो,' उनले भने, 'पोखरा आएर अभ्यास गर्न नपाउँदा पनि केही दबाब परेको हो।'

उनका अनुसार आर्मी लामो समयदेखि इन्डोर प्रशिक्षणमा छ। त्यसले आर्मीालाई निकै नै अब्बल बनाएको उनको भनाई छ। 'इन्डोर हलको तुलनामा खुला मैदानमा खेल्दा फरक पर्छ। त्यही अप्ठेरो हामीलाई परेको हो,' उनले भने, 'खुला मैदानमा बलको गति फरक पर्छ। एपिएफ पनि नराम्रो छैन। हामीले १५, १६ अंकमै एपिएफलाई रोक्न सक्नुपर्ने हो। तर, तीनवटै सेटमा अन्तिमसम्म दबाबमा खेल्नुपर्‍यो।'

आर्मी टिममा ७ जना राष्ट्रिय खेलाडी छन्। मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, इश्वर थापामगर, भैरव बम, नरेन्द्र गिरी, भुवन कार्की र हरिहजुर थापा राष्ट्रिय टोलीका खेलाडी हुन्। कप्तान समेत रहेका हरिहजुरले पनि खुला मैदानको अभ्यास कम भएकोले दबाब परेको बताए। 'वाहिर खेल्दा हावाले बलको गति विगार्‍यो,' उनले भने, 'त्यसले गर्दा सहज हुन सकेन। वाहिर पनि अभ्यास गरेको भए उति दबाब पर्दैनथ्यो।'

एपिएफका प्रशिक्षक प्रकाश थपलिया टोलीमा भएका केही नयाँ खेलाडमा अनुभव कम हुँदा पराजित हुनुपरेको बताए। पहिलो रोजाइका स्पाइकर विजय तामाङ घाइते भएकाले दबाब परेको थपलियाले बताए। 'हामीसँग अधिकांश नयाँ खेलाडी छन्। उनीहरुसँग धेरै अनुभव छैन,' नयाँ खेलाडी चाढै स्थापित हुने विश्वास व्यक्त गर्दै थपलियाले भने, 'त्यसले गर्दा समस्या परेको हो। राम्रो खेल्दा खेल्दै पनि हामीले हारेका हौं।'

प्रतियोगितामा आइतबार पहिलो खेल महिलातर्फ एपिएफ र आर्मीबीच हुनेछ भने दोस्रो खेल भारतको उत्तर प्रदेश भलिवल एशोसिएसन र नेपाल पुलिसबीच हुनेछ।

प्रकाशित: २३ माघ २०७३ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App