coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आर्मीसँग बदला लिँदै मनाङ फाइनलमा

झापा- साबिक विजेता त्रिभुवन आर्मी क्लबलाई शनिबार १–० को नतिजामा हराउँदै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब रमपम झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ। फाइनलमा आयोजक झापासँगको भेट पक्का गरेसँगै मनाङ एकै सिजनमा उपाधि ह्याटि्रक गर्ने दुर्लभ सफलता नजिक पुगेको छ। 

सुदूर पश्चिमको खप्तड गोल्डकप र पोखराको आहा रारा गोल्डकप जितेर उच्च मनोबलसहित झापा आएको मनाङले यहाँ पनि उत्कृष्ट लय कायम राख्दै आफूलाई उपाधि होडमा उभ्याएको छ। राष्ट्रिय टोलीका स्टार खेलाडीको बाहुल्य रहेको मनाङले डोमालाल रंगशालामा आर्मीसँगै गत वर्ष सेमिफाइनलमा बेहोरेको हारको बदला पनि लिएको छ। झापा गोल्डकपको पहिलो संस्करणको सेमिफाइनलमा मनाङलाई हराएर फाइनल पुगेको आर्मीले झापामाथि जित दर्ता गराउँदै उपाधि कव्जा गरेको थियो।  

आर्मीले मनाङलाई यसअघिका दुई महत्वपूर्ण  भेटमा हराएको थियो। हेटौंडामा सुमन भोम्जन स्मृति गोल्डकप र सुनसरीको दुहवी गोल्डकपको फाइनलमा आर्मीले मनाङलाई पराजित गरेको थियो। यसपटक मनाङले झापामा ती सबको बदला लिने क्रममा मोफसलकै सर्वाधिक पुरस्कार राशीको उपाधि दाबेदार बन्यो। मनाङले उपाधिका लागि सोमबार झापासँग प्रतिस्पर्धा गर्नेछ। विजेताले ७ लाख तथा उपविजेताले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

मनाङ र आर्मीबीचको तनावपूर्ण सेमिफाइनलमा रेफ्री लव खत्रीले एउटा रातोसहित कूल आठ वटा कार्ड खर्चेका थिए। सुमन अर्यालले ६० औं मिनेटमा दोस्रो पहेलो कार्डसहित रातो कार्ड सामना गरेपछि आर्मीले वाँकी समय १० जनामा सिमित भएर खेलेको थियो।

प्रतिस्पर्धात्मक खेलमा मनाङका विमल रानाले मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा गरेको एउटै गोल निर्णायक बन्यो। विदेशी खेलाडी ओलावालेले पेनाल्टी बक्स भित्र दिएको पास कप्तान सुजल श्रेष्ठले पोष्टमा प्रहार गरेका थिए। उनको प्रहार पोष्टमा लागेर फर्किँदा कसैका निगरानीमा नरहेका विमलले गोल गरेका थिए।

दुवै टोलीले आक्रामक रणनीति लिएको खेलमा आर्मीका गोलकिपर विकेश कुथुले थुप्रै आकर्षक बचाउ गरे। १८औं मिनेटमा सुशील लामाको प्रहार नियन्त्रणमा लिएका विकेशले २८औं मिनेटमा सुजलको कडा प्रहार पनि बचाए। गोल बचाउने क्रममा गोलरक्षक उनको टाउको पोष्टमा ठोक्किएको थियो। यसैगरी ५८औं मिनेटमा सुशीलको अर्को प्रहार पनि विकेशलाई छिचोल्न सफल भएन।

सुमनले रातो कार्ड सामना गर्दै आर्मीलाई १० खेलाडीमा सिमित बनाएपछि मनाङ थप सहज अवस्थामा पुग्यो। तर टोलीले विपक्षीको कमजोरीमा फाइदा उठाउन भने सकेन।  उल्टै अन्तिमतिर आर्मी आक्रामक रुपमा प्रस्तुत भयो। ६९औं मिनेटमा आर्मीका कप्तान भरत खवासले हेडमार्फत गरेको सुन्दर प्रयास सफल भएन। नवयुग श्रेष्ठको क्रसमा उनले हेड गर्दा मनाङका गोलकिपर  दिनेश थापा मगर बिट भइसकेका थिए। तर, सुशीलले गोललाइनबाट हेडमार्फत बल क्लियर गरे। राष्ट्रिय टोलीका भरपर्दा रक्षक रोहित चन्दसहितको बलियो रक्षापंक्तिले आर्मीका भरत र नवयुगका आक्रमणका धेरै प्रयास विफल पारेका थिए।

खेलमा आर्मीका पदम तामाङ र भरत, तथा मनाङका कमल श्रेष्ठ, हेमन्त थापामगर, विशाल राई, विक्रम लामा र ओलावालेले पहेलो कार्ड दर्शन गरेका थिए।

जितपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले राम्रो खेल देखाए पनि अपेक्षाकृत स्कोर निकाल्न नसकेको प्रतिक्रिया दिए। गतसाल बेहोरेको हारको बदला लिएको बताउँदै फाइनलमा झापासँग नयाँ रणनीति लिएर मैदान उत्रिने उनले बताए। झापासँगका प्राय सबै भेट मनाङका लागि सुखद रहेको जानकारी दिंदै उनले झापा गोल्डकपको उपाधि जित्ने दावी गरे।

आर्मीका व्वस्थापक चुनबहादुर थापाले  खेल फिप्टी–फिप्टीको रहे पनि अवसर उपयोग गर्न नसकेको बताए। बल नियन्त्रणमा राखेर खेल्न नसक्दा हार बेहोर्नुपरेको उनको भनाई थियो। शनिबारको खेलमा मनाङका कप्तान सुजल म्यान अफ द म्याच घोषित भए। उनलाई नगद ७ हजार रुपैयाँ प्रदान गरियो।

प्रकाशित: २३ माघ २०७३ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App