८ वैशाख २०८१ शनिबार
खेल

वीरगञ्जको विजयी सुरुआत

बारा- विकास राईको गोलमा पोखराको सहारा क्लबलाई १–० को नतिजामा हराउँदैं वीरगञ्ज युनाइटेड रुस्लान आठौं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरेली टोलीको फितलो रक्षापंक्तिको फाइदा उठाउँदैं विकासले दोस्रो मिनेटमा गरेको गोल वीरगञ्जको जितमा पर्याप्त बन्यो। विकासको प्रहार सहाराका कप्तान सुसन गुरुङको खुट्टामा लागेर गोल भएको थियो।

सुरुमै गोल खाएपछि सहाराको टिममा तालमेलको अभाव देखिएको थियो। सहाराले शनिबारको खेलमा आफ्नै ऐकेडेमीका तीन खेलाडीलाई मैदान उतारेको थियो। पहिलो हाफमा सहाराले केही अवसर पाए पनि उपयोग गर्न सकेन। फिनिसिङमा तालमेल अभाव देखिँदा सहारा अग्रता लिनबाट चुकेको थियो।

३३औं मिनेटमा वीरगञ्जका कप्तान अमर डंगोलको पासमा विकासले गरेको प्रहार फितलो रहयो। विकासको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। पहिलो हाफमा वीरगञ्जले पनि तीन राम्रा अवसर खेर फालेको थियो।

सहाराका प्रशिक्षक दिपेश योञ्जनले खेलाडीबीच तालमेल नमिल्दा पराजय भोग्न पुगेको बताए। 'दोस्रो हाफमा हाम्रो प्रदर्शन सुधारिएको थियो। गोलका मौका पाएको पनि हो। तर अवसर उपयोग गर्न सकिएन,' वीरगन्जसँगको हारबाट भविष्यका लागि पाठ सिक्ने बताउँदै योञ्जनले भने।

वीरगन्जका प्रशिक्षक सुलभजंग राणा जितमा पनि सन्तुष्ट थिएनन। 'खेल जिते पनि हामीले सन्तोषजनक खेल देखाउन सकेनौं। पहिलो हाफमा हामीले राम्रो खेलेका थियौं,' उनले भने, 'तर त्यसलाई दोस्रो हाफमा निरन्तरता दिन सकेनांै। पाएका अवसरमा खेलाडीले गोल थप्न सकेनन।'

दोस्रो हाफमा टोलीको तालमेल नमिलेको राणाको भनाई थियो। तर पहिलो जितले अन्य खेलमा राम्रो नतिजा निकाल्न सहयोग गर्ने राणाले बताए।

खेलमा वीरगञ्जका रजिन सुब्बा म्यान अफ दी म्याचबाट पुरस्कृत भए। उनले पाँच हजार रुपैयाँ पाए।

प्रतियोगितामा आइतबार साबिक विजेता प्राइम पोलिक्लिनिक विजय युथ क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २३ माघ २०७३ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App