८ वैशाख २०८१ शनिबार
कला

हिट्स अवार्डमा दुई गीतको ह्याट्रिक

काठमाडौं- हिट्स एफएम अवार्डको २० औं संस्करणमा 'संसार मायामा अड्छ भने' र 'म हुरीमा'बोलका गीतले ह्याटि्रक गरेका छन्। राजधानीमा शनिवार आयोजित कार्यक्रममा 'संसार मायामा अड्छ भने' बोलको गीतका लागि गायिका सुजाता उपाध्याय मानन्धर र उदित नारायण झाले 'सर्वोत्कृष्ट युगल गायन', महाराज थापाले 'सर्वोत्कृष्ट संगीत संयोजन' र आनन्द राईले 'सर्वोत्कृष्ट संगीत सृजना'को अवार्ड पोल्टामा पारे।

त्यस्तै 'म हुरीमा' गीतका लागि रामकृष्ण ढकालले 'सर्वोत्कृष्ट गीत' र 'सर्वोत्कृष्ट एकल गायन पुरुष'को अवार्ड चुम्दा रचनाकार रमेश बिजीले 'सर्वोत्कृष्ट रचना'को अवार्ड जिते।

अवार्डमा ह्वाट द फङ्क व्याण्डले गीत 'फङ्कि दाजु'का लागि 'सर्वोत्कृष्ट समूह गायन' र 'सर्वोत्कृष्ट रक संगीत सिर्जना', अर्जुन पोखरेलले फिल्म 'प्रेमगीत'को 'म यस्तो गीत गाउँछु'बाट 'सर्वोत्कृष्ट चलचित्र गीत', गायिका निक्की कार्कीले 'जेट उडाँउछु'बाट 'सर्वोत्कृष्ट महिला गायन पप', अलमोडा राना उप्रेतीले 'फन्टाष्टिक'का लागि 'सर्वोत्कृष्ट पुरुष गायन पप', अञ्जान बाबुले 'गुराँसै फूले हो'का लागि 'सर्वोत्कृष्ट लोक गीत'को अवार्ड जिते।

यस्तै सविन राई एण्ड द इलेक्ट्रिक्सले 'तिमी नै हो'का लागि 'सर्वोत्कृष्ट रक गायन', रजिना रिमालले 'मुटु दुख्यो'का लागि 'सर्वोत्कृष्ट एकल गायन महिला', एड्रियन प्रधानले 'अभिवादन'बाट 'सर्वोत्कृष्ट गीति संग्रह'को अवार्ड जिते।

आयोजकले ४८ वर्षदेखि गीति लेखनमा सक्रिय गीतकार तथा कवि राजेन्द्र थापालाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' दिएको थियो। सम्मान थाप्दै थापाले आफूले गीत लेखन शुरु गर्दा प्रतिभा भए पनि अनुभव चाहिँ नभएको जनाए। 'पहिला मसँग प्रतिभा मात्र थियो, अनुभव थिएन,'उनले भने,'तर अहिले चाहिँ नयाँ पुस्ताको प्रतिभासँग आफ्नो अनुभव मिसाएर गीत लेखिरहेको छु।'

कार्यक्रममा राजेशपायल राई, प्रमोद खरेल, शिव परियार, गायिका कुन्ती मोक्तानको परिवार, नट्टु एण्ड द एसओएस व्यान्ड, द काठमाडौं क्याट्स एन्ड द ड्युटी बोगिक बेस व्यान्डले आफ्नो प्रस्तुति दिएका थिए।

१७ विधामा प्रदान गरिएको अवार्डमा २०७२ वैशाख १ गतेदेखि २०७२ चैत्र मसान्तसम्ममा एफएममा दर्ता भएका गीतहरु प्रतिष्पर्धी थिए।

प्रकाशित: २३ माघ २०७३ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App