७ वैशाख २०८१ शुक्रबार
खेल

फेडेररलाई सफलता

लन्डन- क्यानडाका मिलोस राओनिकले बुधबार साम क्वेरीको आश्चर्यजनक यात्रामा पूर्णविराम लगाउँदै दोस्रोपटक विम्बल्डन टेनिसको सेमिफाइनलसुरक्षित गरेका छन्।

सनसनीपूर्ण प्रदर्शनसाथ अनपेक्षित रूपमा क्वार्टरफाइनलसम्मयात्रा तय गरेका क्वेरीलाई राओनिकले ६–४, ७–५, ५–७, ६–४ को सेटमा पराजित गरेका थिए।  क्वेरीले तेस्रो चरणमा नोभाक जोकोभिचलाई हराएर प्रतियोगितामा सनसनी मच्चाएका थिए। छैटौं वरीयताका राओनिक अल इङ्ल्यान्ड क्लबमा एक पटकभन्दा बढी सेमिफाइनल पुग्ने पहिलो क्यानेडियन खेलाडी हुन्। अन्तिम चारको भिडन्तमा उनले सातपटकका च्याम्पियन रोजर फेडेररसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछन्।

फेडेररले क्रोएसियाका नवौं वरीयताप्राप्त मरिन सिलिकलाई बुधबारै क्वार्टरफाइनलमा हराउँदै अन्तिम चारको यात्रा तय गरेका थिए। पहिलो दुई सेटमा पराजय भोगे पनि त्यसपछि उत्कृष्ट पुनरागमन जनाउँदै फेडेररले नतिजा पक्षमा पारेका थिए। पाँच सेटसम्म चलेको प्रतिस्पर्धामा फेडेररले ६–७ (४/७), ४–६, ६–३, ७–६(११/९), ६–३ को विजय हासिल गरे।

दुईपटक ग्रान्ड स्लामको सेमिफाइनलमा निराशा भोगेका २५ वर्षे राओनिकले यसपालि सेमिफाइनलमा भाग्यको साथ पाउने अपेक्षा व्यक्त गरेका छन्। यसअघि २०१४ को विम्बल्डन तथा यसै वर्ष अस्ट्रेलियन ओपनमा उनले अन्तिम चारको खेलमा निराशा भोगेका थिए।

'खेलमा मोमेन्टमले धेरै अर्थ राख्छ। मैले तेस्रो सेट हार्दा मोमेन्टम गुम्न सक्थ्यो। तर समयमै पुनरागमन जनाउन सकेकेामा म आफैप्रति खुसी छु,' तीनपटक ग्रान्ड स्लामको सेमिफाइनल पुग्ने क्यानेडियन खेलाडीका रूपमा युजिन बुचार्डको कीर्तिमानसँग बराबरी गरेपछि राओनिकले भने, 'यसपालि सेमिफाइनलमा पनि भाग्यको साथ पाउने मैले आश गरेको छु। फेडेरर विश्वकै उत्कृष्ट टेनिस खेलाडी हुन्। तर ग्रान्ड स्लामको सेमिफाइनलमा कमजोर प्रतिद्वन्द्वी अपेक्षा गर्न सकिन्न। म त्यसका लागि तयार छु।'

यता फेडेररले ग्रान्ड स्लाममा कीर्तिमान जित पाएका छन्। उनले सबैमा गरी ३ सय ७ जित पाउँदै मार्टिना नाभ्रातिलोभाको ३ सय ६ खेल जितको कीर्तिमान उछिनेका छन्।

प्रकाशित: २३ असार २०७३ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App