coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पुनर्निर्माण छिटो सक्न राष्ट्रपतिको आग्रह

मकैडाँडा सारिङ (लमजुङ)- राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण प्रक्रिया छिटो सम्पन्न गर्न आग्रह गरेकी छन्। बेसीसहर नगरपालिका १३ मकैडाँडा सारिङस्थित गंगामिलन माविको शनिबार स्वर्णजयन्ती समारोहमा सम्बोधन गर्दै उनले भूकम्पपीडित अस्थायी टहरामा कष्टकर जीवन बिताइरहेकाले यथाशीघ्र पुनर्निर्माण सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन्।

उनले विनाशकारी भूकम्पले पुर्‍याएको जनधनको क्षतिप्रति आफू पनि दुःखी भएको भन्दै लमजुङका भूकम्पपीडितलाई सान्त्वना पनि दिइन्।

सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले देशको आर्थिक विकास गुणस्तरीय शिक्षाबाट मात्रै सम्भव हुने भएकाले सरोकारवालालाई जिम्मेवार हुन आग्रह गरिन्। 'देशको माटो सुहाउँदो शिक्षा नीति र पाठ्यक्रम आवश्यक छ', उनले भनिन्। उनले देशको समृद्धि शिक्षाबिना सम्भव नहुने पनि बताइन्। राष्ट्रपतिले भनिन्, आर्थिक विकासका लागि गुणस्तरीय शिक्षा चाहिन्छ, जुन शिक्षाले हाम्रो देशको कृषि, पर्यटन, जलस्रोत र वनजंगल उपयोग गरेर समृद्धि ल्याउन सकोस्।'

 उनले शैक्षिक विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा कार्यालय सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा जोड दिइन्।

समारोहमा जिल्लाको शैक्षिक अवस्था, समस्या र भावी कार्यदिशा नामक शैक्षिक दस्ताबेज राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका सभापति भेषबहादुर पौडेल, एमालेका अध्यक्ष धनञ्जय दवाडी, माओवादी केन्द्रका सदस्य हरिजंग तामाङ, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, स्थानीय विकास अधिकारी शेखर पौडेल, प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेललगायत सर्वसाधारण सहभागी थिए।

हेलिकोप्टरबाट दिउँसो साढे २ बजे मकैडाँडा आइपुगेकी राष्ट्रपति भण्डारी करिब एक घन्टा कार्यक्रममा बसेर ग्रामीण पर्यटकीय घलेगाउँ पुगेकी थिइन्। राष्ट्रपतिले घलेगाउँमा पर्यटन संग्रहालय उद्घाटन गरेको ग्रामीण पर्यटन विकास समितिका सचिव उमलबहादुर विकले टेलिफोनमा बताए। संग्रहालय उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले लमजुङमा ग्रामीण पर्यटन र होमस्टेका क्षेत्रमा भइरहेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह गरेकी थिइन्।

प्रकाशित: २३ माघ २०७३ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App