८ वैशाख २०८१ शनिबार
समाज

अब विद्यालय तहमै क्यान्सर शिक्षा

काठमाडौं- स्वास्थ्यमन्त्री गगनकुमार थापाले क्यान्सरविरुद्ध लड्न विद्यालय तहमै यससम्बन्धी पाठ्यक्रम समावेश गराउने तयारी सरकारले थालेको बताएका छन्। विश्व क्यान्सर दिवसको अवसरमा ध्रुव थापा स्मृति प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर र महिला क्यान्सरसम्बन्धी परीक्षण कार्यक्रममा मन्त्री थापाले विद्यालय तहबाटै क्यान्सर शिक्षा दिन मन्त्रालयले आवश्यक गृहकार्य सुरु गरिसकेको जानकारी दिए।

चेतनाको कमीले पनि मानिसमा क्यान्सर बढिरहेकेा धारणा राख्दै उनले भने, 'जीवनशैली पनि मुख्य रुपमा क्यान्सरसँग जोडिएको छ। क्यान्सर न्यूनीकरण गर्न चैत १ गतेबाट खुला पसलमा चुरोट बेच्न रोक लगाउनेछौं।'

सरकारले विपन्न वर्गका लागि क्यान्सरसहित विभिन्न रोगको उपचारमा एक लाख रुपैयाँ उपचार सहयोग दिने घोषणा गरिसकेको जानकारी गराउँदै मन्त्री थापाले त्यसलाई थप व्यावहारीक र प्रभावकारी बनाउन मन्त्रालयले रकममा केही थप गरेर औषधिको मूल्य घटाउने तयारी गरेको पनि बताए। 

सरकारले अस्पताललाई आवश्यक उपकरण खरिदका लागि आर्थिक रकम उपलब्ध गराए पनि खरिद नगरेको पाइएको बताउँदै उनले भने, 'जनताको उपचाका लागि आवश्यक सामान किन्न भनेर सरकारले छुट्याएको  अर्बाैं रुपैयाँं  बैंकमा थन्किएको छ तर, अस्पतालहरूले उपकरण खरिदमा ध्यान दिएका छैनन्।'

महिलामा स्तन र पाठेघरको क्यान्सर बढी हुनेगरेको भन्दै प्रतिष्ठानले सचेतना अभिवृद्धिका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरेको जनाएको छ। नेपाल क्यान्सर हस्पिटलको सहयोगमा भएको स्वाथ्य परीक्षणमा तीन सय महिलाको जाँच गरियो।

प्रकाशित: २३ माघ २०७३ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App