coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महिलामा क्यान्सर : विकसित देशमा घट्दो, नेपालमा बढ्दो

काठमाडौं- महिलामा हुने क्यान्सर विकसित देशहरूमा घट्दो क्रममा रहेपनि नेपालमाभने बढ्दै गएको पाइएको छ। नेपालमा क्यान्सरबाट पुरुषभन्दा महिला बढी पीडित छन्। विकसित देशमा क्यान्सर पहिचान र उपचारमा पहुँच बढी भएकाले घट्दो क्रममा रहेको तर नेपालमा त्यो सुविधा नहुँदा रोगीको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्। नेपालमा पाठेघरको मुख र स्तन क्यान्सर बढी देखिएको चिकित्सको भनाइ छ।

महिलामा बढी मात्रामा हुने पाठेघर र स्तन क्यान्सर नियमित जाँचबाट समयमै पहिचान र उपचारसमेत गर्न सकिने भए पनि नेपालमा चेतना अभावमा घट्नुको साटो बढ्दो रहेको वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंले बताइन्।

बिपी कोइराला क्यान्सर अस्पताल, भरतपुरले संकलन गरेको तथ्यांकका आधारमा नेपालमा १० वर्ष (सन् २००३–१३) मा ५६ हजार क्यान्सर रोगी पहिचान भएकोमा ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष छन्। यो तथ्यांक स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीको आधारमा संकलन गरिएको हो।

अस्पतालको क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानांगका अनुसार पाठेघरको पानी (प्यापस्मेयर) जाँचबाट पाठेघर र मेमोग्राम गरेर स्तनको क्यान्सर समयमै पहिचान गर्न सकिन्छ। चिकित्सकका अनुसार विवाहित महिलाले प्रत्येक वर्ष नै प्यापस्मेयर जाँच गर्नु राम्रो हुन्छ। यो जाँच महँगो पनि छैन।

 'यी दुई प्रकारका क्यान्सर कम गर्न सके झन्डै ३५ प्रतिशत कारक रोकथाम गर्न सकिन्छ,' प्रधानांगले भने, 'हाम्रोमा जनचेतना जगाउने र स्त्रि्कनिङको कार्यक्रम नै छैन्।,' पाठेघर क्यान्सर रोकथामका लागि नेपालमा सन् २००६ देखि खोप सुरु भए पनि थोरै किशोरीले मात्रै यो पाएका छन्। यो खोपले ११–१२ वर्षदेखि २१ वर्षसम्मका किशोरीलाई एचपिभी ६, ११, १६ र १८ विरुद्ध लड्न सक्ने क्षमता दिन्छ।

 

डा. चापागार्इंका अनुसार विकसित देशका महिलाले परास्त गरिसकेको पाठेघरको मुखको क्यान्सर नेपालमा अहिले पनि महिलामा हुने क्यान्सरमध्ये प्रमुख छ। यसै कारणले नेपालमा महिला क्यान्सर रोगीको संख्या बढी भएको उनले बताइन्।

चिकित्सकहरूका अनुसार वंशाणुगत कारणले हुने क्यान्सर विकसित देशहरूमा घट्दो क्रममा छ। रोकथाम सम्भव हुने पाठेघरको मुखको क्यान्सर रोक्न सकेकै कारण विकसित देशमा महिलाभन्दा पुरुष क्यान्सर रोगीको संख्या बढी छ।

क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सरमात्र पूर्वअवस्थामा सजिलै पत्ता लगाउन सकिन्छ। विकसित देशमा न्यून मात्रामा भेटिने पाठेघरको मुखको क्यान्सर नेपालमा झन्डै २१ प्रतिशतमा छ। त्यसैगरी स्तनमा आफैं छाम्दा पनि गाँठा भेटिने हुनाले स्तन क्यान्सर पनि सजिलै पत्ता लगाउन सकिने चिकित्सक बताउँछन्। स्तन क्यान्सरले नेपालमा महिलामा हुने कुल क्यान्सरको १६ प्रतिशत हिस्सा ओगटेको छ। डा. चापागार्इंका अनुसार अधिकांश क्यान्सरका बिरामी 'थर्ड' वा 'फोर्थ' स्टेजमामात्रै अस्पताल पुग्छन्। 'महिलासँग सम्पत्तिको निर्णय गर्ने अधिकार पनि कम छ,' उनले भनिन्, 'फेरि प्रजनन् अंगका रोगबारे महिला खुलारुपमा सबैसँग भन्न पनि सक्दैनन् र जटिल बनिसक्छ।' 

प्रधानांगका अनुसार महिलामा पाठेघर र स्तन क्यान्सरपछि क्रमशः फोक्सो, डिम्बाशय, पित्तथैली पेट, रगत, थाइराइड, दिनशानलीको क्यान्सर बढी छ। त्यसैगरी पुरुषमा १९ प्रतिशत फोक्सोको क्यान्सरका रोगी छन्। जसको प्रमुख कारण धूमपान हो। यसबाहेक पुरुषमा पेट, रगत, घाँटी, पिसाब थैली, खानानली, मुख तथा जिब्रो, दिशानली र पित्तथैलीको क्यान्सर बढी छ। 'स्त्रि्कनिङ र जनचेतनाको पाटो बढाउने हो भने, महिलामा हुने अधिकांश क्यान्सर घटाउन सकिन्छ,' प्रधानांगले भने।

चिकित्सककाअनुसार साधारणतया क्यान्सर ४० वर्ष उमेरपछि देखा पर्ने भए पनि नेपालजस्ता अविकसित देशमा ३० वर्ष अथवा सोभन्दा कम उमेरमै देखा पर्ने गरेको छ। नेपालमा भरतपुरसहित, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंका वीर, त्रिवि शिक्षण र कान्ति बाललगायत केही निजी अस्पतालमा उपचार हुन्छ।

पाठेघर क्यान्सरको प्रमुख कारण एचपिभी (ह्युमन पापिलोमा भाइरस) भएको चिकित्सक बताउँछन्। कुपोषण, खानेपानी, सरसफाइ र यौनसम्पर्कबाट यो भाइरस सर्छ। यौन सम्पर्कले यसको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभीसँग सम्बन्धित रहेको पाइएको छ।

यौनकार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एकपटक उक्त भाइरसले सताउँछ। एचपिभी धेरै प्रकारको हुने भए पनि १३ प्रकारले मात्र पाठेघर मुखको क्यान्सर निम्त्याउँछ। एसियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभीभाइरस–१६र १८ को संक्रमणले भएको पाइएको छ।

कम उमेरमा विवाह र यौन सम्पर्क हुनु, एकभन्दा बढीसँग यौन सम्पर्क राख्नु, कम उमेरमा धेरै बच्चा पाउनु, उचित सरसफाइ नगर्नु, सुर्तीजन्य पदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्तांगसम्बन्धी दीर्घ रोगी हुनु पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हुन्। विकिरण, व्यावसायिक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारणका रुपमा लिइएको छ।

शरीरमा कोषहरू बन्ने र निश्चित समयपछि नष्ट हुने प्रक्रिया जारी रहन्छ। कोष विभाजन, यसको नष्ट र डिएनए निर्माणमा महत्वपूर्ण भूमिका निभाउने वंशाणुमा खलल पुग्यो भने निर्माण प्रक्रिया अनियान्त्रित भई क्यान्सर हुन्छ।

विश्वमा प्रतिवर्ष ५ लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुन्छ। अन्दाजी २ लाख महिलाको यो रोगबाट मृत्यु हुन्छ। नेपालमा बर्सेनि ५० देखि ६० हजार नयाँ क्यान्सरका बिरामी थपिने अनुमान छ। त्यसमध्ये करिब ५ देखि ६ हजार अस्पतालमा उपचार गराउन पुग्छन्।

प्रकाशित: २३ माघ २०७३ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App