coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अटेर गर्दै दशगजामा धमाधम पक्की संरचना

पशुपतिनगर(इलाम)- पूर्वी भारतीय सीमावर्ती क्षेत्रको दशगजा मिचेर भारतले बौद्ध गुम्बा बनाउन थालेको छ। पशुपतिनगर–४, फाटकसँग जोडिएको भारतस्थित रामग्राम ग्रामपञ्चायतको दशगजामा भारतीय सरकारको लगानीमा पक्की संरचना निर्माण हुन थालेको हो।

                पुरानो गुम्बा ‘मर्मत’का नाममा भारतले दशगजामै नयाँ संरचना बनाइरहेको छ। दशगजाको सानो सीमास्तम्भ भन्दा करिब ५ फिटको दूरीमा गुम्बाका लागि सिमेन्टको पिल्लर हालिँदैछ । भित्रपट्टि पिल्लर उठाएर भुइँको पक्की बिम कसिएको छ । बाहिरपट्टि टिन र प्लास्टिकले बारेर भित्रपट्टि नदेखिने गरी भित्रभित्रै निर्माणको काम भइरहेको पशुपतिनगर सीमा प्रशासन कार्यालयका प्रमुख मोहन पनेरुले बताए। ‘हामीले गुम्बा बनाउन नथाल्दैदेखि यो दशगजामा संरचना निर्माण नगर्न पटक–पटक आग्रह गरेका हौं,’ उनले भने, ‘तर, हाम्रो अनुरोध अटेर गर्दै धमाधम संरचना निर्माण भइरहेको छ।’

                स्थानीयका अनुसार ठूलो आकारको रड प्रयोग गरी पिल्लर र बिमसमेत निर्माण भइसकेकाले कम्तीमा ३ तल्लासम्मको पक्की संरचना बनाउने योजना भारतको देखिन्छ। तर, उनीहरू भने अहिले पुरानै टासी छोलिङ गुम्बाको मर्मत मात्र गर्ने भन्दै धमाधम पक्की संरचना बनाइरहेका छन्। ‘निर्माणस्थलमै भेटिएका नेपाल प्रहरीका एक जवानले सुनाए, ‘नेपाल र भारतपट्टिका स्थानीयको पारिवारिक सम्बन्ध पनि भएकाले खुला रूपमा दुवैतिरबाट कसैले विरोध गरेका छैनन् । तर, यहाँका नेपाली दशगजा मिचेर संरचना बनाउँदा सन्तुष्ट भने छैनन्।’ गुम्बाका लागि १४ वटा पिल्लर ठड्याइएको छ।

               भारत सरकारको ६० लाख रुपैयाँ लगानीमा यहाँ गुम्बा बनाउन लागिएको स्रोत बताउँछ । गुम्बा बनाउन भारत दार्जिलिङस्थित गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए)ले आर्थिक सहायता गरेको र जिटिए प्रमुख विमल गुरुङ गुम्बा बनेपछि उद्घाटनमा आउनेसमेत योजना रहेको पशुपतिनगरबासी बताउँछन्। तर, भारतीय निर्माणकर्ताहरू भने भारत सरकार वा दूतावासले आधिकारिक निर्देशन नदिएसम्म यहाँको काम नरोकिने दाबी गर्छन्। स्थानीय र सीमा प्रशासन कार्यालयका कर्मचारीसँग निर्माणकर्ताहरूले यो गुम्बा ४० वर्ष पुरानो भएको र मर्मत मात्र गरेको दाबी गरिरहेका छन् । ‘भन्नलाई त मर्मत भन्छन् तर धमाधम पक्की संरचना बनिरहेको छ,’ सीमा प्रमुख पनेरुले भने, ‘हामीले दशगजामा संरचना बनाउने काम रोक्न पहलका लागि माथिल्लो निकायमा अध्ययन प्रतिवेदन नै बुझाइसकेका छौं।’

                धार्मिक र पर्यटकीय सम्पदा भएको भन्दै भारतले दशगजा मिचेर गुम्बा बनाइरहँदासमेत सरकारले निर्माण कार्य रोक्न पहल नगरेको पशुपतिनगरका अगुवा मिलन क्षेत्री बताउँछन् । ‘६ महिनाअघि पनि भारतले दशगजामै गुम्बा बनाउने योजना ल्याएको थियो,’ उनले भने, ‘हामीले दशगजामा संरचना नबनाउन दबाब दिएपछि उनीहरू फर्केका थिए । तर, फेरि त्यही योजना सुरु गरेका छन् ।

                भारतले यहाँ संरचना बनाउने योजना ल्याएपछि गत कात्तिकमा नापी विभागको टोलीले स्थलगत अध्ययन र नापजाँच गरी यो भूमि दशगजा नै भएको ठहर गरेको थियो । स्थलगत निरीक्षणमा आएका विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले अध्ययनपछि नागरिकसँग भनेका थिए, ‘दशगजामा सीमास्तम्भको दुवैपट्टि ३०–३० फिटको भूभागमध्ये भारतपट्टिको भागमा गुम्बा बनाउन लागिएको रहेछ। त्यतिमात्र होइन, यस आसपासको दशजगामै भारतले कस्टम अफिस, पुलिस चौकी र अन्य ४–५ घर–टहरासमेत बनाइसकेको रहेछ ।’ भारतले ७१/६, ७१/७ र ७१/८ नम्बर सीमास्तम्भभित्रको क्षेत्रमा संरचना निर्माण गरेको र गुम्बा पनि बनाउन लागेको डंगोलले बताए । अध्ययन टोलीमा डंगोलसहित नापी अधिकृत विवेक नेपाल, इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो, सशस्त्र प्रहरीका इन्स्पेक्टर मदन रसाइली, प्रहरी इन्स्पेक्टर महेश खनाललगायत सहभागी थिए ।           

                प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहितको टोलीले पनि भर्खरै गुम्बा निर्माणस्थलको स्थलगत अवलोकन गरेको थियो । ‘भारतले जबर्जस्ती दशगजामा गुम्बा बनाइरहेको रहेछ,’ प्रजिअ दाहालले भने, ‘हामीले त्यसको रिपोर्ट गृह मन्त्रालयमा पठाएका छौं, गृहले परराष्ट्र र परराष्ट्रले भारतीय दूतावासमा यसको जानकारी पठाएको भन्ने सुनिएको छ ।’ उनले उनले वरिपरिबाट टिन र प्लास्टिकले बारेर भित्रभित्रै गुम्बाको पक्की संरचना निर्माणको काम भइरहेको बताए । ‘जिल्ला तहबाट दार्जिलिङका समकक्षीसँग चाँडै बैठक बसेर यसबारे छलफल गर्ने योजनामा छु,’ प्रजिअ दाहालले भने । यसअघि पूर्वाञ्चलस्थित प्रहरीका डिआइजीसमेतले आग्रह गर्दा पनि भारतीय निर्माण पक्षले संरचना निर्माण नरोकेको उनले जनाए ।

 

 

               

प्रकाशित: २२ माघ २०७३ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App