coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

विकेन्द्रित साहित्य महोत्सव

बुटबल घर भएका प्रमोद तिवारीले नेपाली साहित्य महोत्सवको बारेमा निकै सुनेका थिए। मनाङमा विज्ञान र अंग्रेजी पढाउने उनलाई यो महोत्सवमा सहभागी हुने ठूलो इच्छा थियो। तर, काठमाडौंसम्म पुग्न प्रमोदसँग न त समय थियो न पैसा। तर, अघिल्लो पटकदेखि साहित्य महोत्सव पोखरामा सरेको थाहा पाएपछि प्रमोदले यसपाला मौका छोपे। चारै दिन महोत्सवमा भेटिएका उनी यस महोत्सवमा आफ्नो सहभागिताले ज्ञानको दायरा फराकिलो भएको बताए। 'साहित्य मात्र होइन देशै बुझेको अनुभव भएको छ,’ उत्साहित हुँदै प्रमोदले सुनाए, ‘पोखरामै भयो भने अर्को साल पनि आउने हो ’

प्रमोद त प्रतिनिधि मात्र हुन्। पोखरामा भएको साहित्य महोत्सव धेरै सहभागीका लागि भूतो न भविष्यति भयो। आफूलाई मनपर्ने साहित्यकारका अमूर्त चित्र लिएर बसेका लाखौं पाठकले तिनलाई त्यहाँ प्रत्यक्ष देख्न पाए, सुन्न पाए। र, यो सबै सम्भव भयो, आयोजकको सोचले। काठमाडौंमा केन्द्रित साहित्य महोत्सवलाई आयोजक बुकवर्म फाउन्डेसनले पोखरामा गर्ने निधो गरेपछि प्रमोदजस्ता हजारौं साहित्यप्रेमीले यो महोत्सवबाट प्रत्यक्ष लाभ लिने अवसर पाए।

महोत्सवमा आउन पाएकोमा मख्ख पर्ने मध्येमा थिइन्, मिलन शेरचन। पातबाट विभिन्न कलाकृति बनाउँदै आएकी मिलनले पोखरामा भएका दुवै संस्करणको साहित्य महोत्सवमा भाग लिइन्। 'मलाई त साहित्य एकदम मन पर्छ,’ उनले कारण खुलाउँदै भनिन्, ‘किताब पढेका सबै सर्जकलाई प्रत्यक्ष भेट्न पाउँदा एकदमै खुसी लागिरा’छ।’ यसअघि उनले यस्तो साहित्य महोत्सव काठमाडौंमा भइरहेको छ भनेर सुन्थिन् मात्र। अघिल्लो साल काठमाडौँको महोत्सव पोखरा सरेपछि आफ्नै घरछेउको कार्यक्रम भनेर मनपर्ने सेसन कुनै छुटाइनन्। ‘पोहोर पनि आएँ, यो पालि पनि छुटाइनँ,' मिलनले भनिन्। उनले पोखरा आएका लगभग सबै साहित्यकार र विशिष्ट व्यक्तिको अटोग्राफ सँगालेर राखेकी छन्। सानो डायरीमा उनले बैरागी काइँलादेखि बुद्धिसागरसम्मका साहित्यकारको अटोग्राफ अटाएकी छन्। तर, मिलनलाई यस पाला कुलमान घिसिङ र गगन थापालाई भेट्न पाएकोमा खुसी लागेको छ। 'दुवैलाई खादा लगाइदिन मन थियो, त्यो इच्छा पनि पूरा भयो। काठमाडौंमा भए कहाँ भेट्न पाइन्थ्यो र?' उनले मोफसलमा कार्यक्रम हुनुको फाइदा गन्दै भनिन्। 

भारतको जयपुरमा हरेक साल हुने साहित्य महोत्सवमा सहभागी भएपछि प्रकाशक फाइनप्रिन्टका अजित बराललाई नेपालमा पनि यस्तै महोत्सव नेपालमा गर्न पाए हुन्थ्यो भन्ने लाग्यो। करिब दुई वर्षको प्रयासपछि सन् २०११ मा बुकवर्म फाउन्डेसनले झम्सिखेलको मोक्षमा पहिलो संस्करण सम्पन्न गर्‍यो। तर, पहिलो संस्करणमै दर्शकको चापले आयोजकलाई ठूलो ठाउँ खोज्न बाध्य पार्‍यो। त्यसपछिका तीन संस्करण लगातार बुकवर्मले नेपाल प्रज्ञा प्रतिष्ठानको चौरमा सम्पन्न गर्‍यो। तर, पाँचौं संस्करणका लागि आयोजकले पोखरालाई रोजे।

'चार संस्करण काठमाडौंमा आयोजना गरेपछि नयाँ पाठकसम्म पुगौं भन्ने लागेको थियो। सबै हिसाबले अनुकूल लागेपछि पोखरामा थालेका हौं,' महोत्सव निर्देशक अजितले भने।

राजधानीमा भन्दा मोफसलमा यस्तो महोत्सवको खाँचो देख्छन्, अजित। 'राजधानीमा मानिस आफैं सचेत छन्। लगभग सबै लेखक काठमाडौंमै बसेर लेख्छन्। एउटा कसैको पुस्तक विमोचनमा भेटेर भलाकुसारी गर्न सक्छन्। तर, काठमाडौं बाहिरका लेखक तथा पाठकले त्यो मौका पाउँदैनन्। यस्ता महोत्सव त्यस्ता सबैका लागि अवसर हो,' अजितको ठम्याइ छ। महोत्सवले पाठकसँगै लेखकलाई पनि तयार गरिरहेको उनको अनुभव छ। अजित भन्छन्, 'सत्रमा बोल्न वा सहजीकरण गर्न पनि पढ्न पर्‍यो नि!'

चार दिनसम्म पोखराको पार्दीस्थित पर्यटन बोर्डको हलमा विभिन्न ४० सत्रमा छलफल भए। हरेक दिन महोत्सवमा दर्शकको उपस्थिति उल्लेख्य रह्यो। चौर र हल गरी दुईतिर चलेको महोत्सवमा उभिएरै छलफलको मजा लिने दर्शकको कमी थिएन। 'यसैले पनि साहित्यिक कार्यक्रम काठमाडौंबाहिर पनि आयोजना हुनुको औचित्य पुष्टि हुन्छ। आगामी संस्करण पनि  मोफसलमै गर्ने लक्ष्य छ,' अजितले भने।

नेपाली साहित्य महोत्सवलाई पोखरामा लैजान सांसद रवीन्द्र अधिकारीको ठूलो योगदान छ। पोखराकै क्षेत्र नं २ बाट निर्वाचित रवीन्द्र त साहित्य महोत्सव पोखरामै सदाकाल गर्ने पक्षमा छन्। 'मैले त बुकवर्मका साथीहरूलाई भनेकै छु। साहित्य महोत्सवलाई पोखरामा ब्रान्डिङ गरौं। नेपाली साहित्य महोत्सव भन्नेबित्तिकै पोखरा भन्ने बुझियोस्,' उनको आग्रह छ।

बुकवर्मले मोफसलमा साहित्यिक महोत्सवको औचित्य देख्नुभन्दा पहिले नै उज्ज्वल प्रसाईं नेतृत्वको रिडर्स झापाले झापाको काँकडभिट्टामा 'कला साहित्य महोत्सव' आयोजना गर्दैआएको छ। २०६९ सालबाट सुरु भएको महोत्सव यो साल पनि फागुनको १२ गते देखि १४ सम्म काँकडभिट्टामा नै आयोजना हुन गइरहेको छ। २०६५ सालमा स्थानीय उज्ज्वल प्रसाईंको अगुवाईमा खोलिएको रिडर्स झापाले मोफसलमा पनि साहित्य महोत्सवको औचित्यदेखी उत्सवको सुरुवात गरेको हो। प्रसाईंका अनुसार २०६८ सालमा भारतको जयपुरमा आयोजित साहित्य उत्सवमा भाग लिएपछि उनलाई पनि यस्तै उत्सव आफ्नै घरगाउँमा गर्ने हुटहुटीले गाँजेको थियो। ‘काँकडभिट्टा भन्नासाथ भन्सार, राजश्व, तस्करी, कालोबजारी ठान्नेलाई यसको गर्भमा बौद्धिकता पनि छ भन्ने चेत दिनु हाम्रो उद्देश्यमा सफल हुँदै गएका छौं,' रिडर्स ‰ाापाका अध्यक्ष प्रसाईं भन्छन्।

रिडर्स झापाले हरेक दुई वर्षको अन्तरालमा दुई संस्करणको सफल आयोजना गरेर आफूलाई मोफसलको प्रतिष्ठित महोत्सवको रुपमा स्थापित गरिसकेको छ। बुकवर्मले गरिरहेको नेपाली साहित्य महोत्सवपछि लेखक साहित्यकारलाई काँकटभिट्टाको कला साहित्य महोत्सवको प्रतिक्षा हुन थालेको छ।  हरेक साल आयोजना भए हुन्थ्यो भन्ने पाठक र लेखकको दबाब छ तर अध्यक्ष प्रसाईं आर्थिक कारणले दुई वर्षमा आयोजना गरिरहेको बताउँछन्।

'हामीसँग प्रायोजक छैनन्। हामीले झापा वरपर व्यापार गरेर बसिरहेका मनकारी व्यापारीलाई सहयोगका लागि आग्रह गर्ने गरेका छौं र गरिरहनु पनि भएको छ। तर, हरेक साल उहाँहरूलाई आर्थिक भार दिन ठीक लागेन। त्यही भएर दुई वर्षमा आयोजना गर्दै आएका छौं,' प्रसाईं भन्छन्।

अघिल्ला दुई संस्करणका कारण झापामा साहित्यिक पाठक बढेको प्रसाईं बताउँछन्। 'हामीले हरेक शनिबार कुनै कृति, लेखक वा विषयमाथि छलफल पनि चलाउने गरेका छौं। पहिला पहिला सीमित मानिसको सहभागिता हुन्थ्यो तर दुई संस्करणको महोत्सवपछि स्रोताको खाँचो हुन छाडेको छ,' प्रसाईं भन्छन्। साहित्य महोत्सवले 'डिस्कोर्स' बिस्तारै मोफसलतिर पनि केन्द्रित हुन थालेको बताउँछन्। उनी भन्छन्, 'काठमाडौंबाहिर यस्ता कार्यक्रम हुनुका बहुआमायिक फाइदा छन् तर पहिलो कुरा त यसले आम मानिसमा समाज, साहित्य र राजनीतिमा रुचि जगाउँछ। दोस्रो कुरा, ज्ञानको दायरा फराकिलो बनाउँछ। तेस्रो कुरा चैं लेखनमा रुचि हुनेलाई यस्ता महोत्सवमा सहभागी भइसकेपछि लेख्ने आत्मविश्वास बढ्छ। लेखक–पाठक अन्तर्क्रिया र अन्य प्रकार संवादको चर्चा गर्नै परेन।'

झापामा कला साहित्य महोत्सवको अझ वृहत्तर प्रभाव देखेका छन्, प्रसाईंले। झापासँगै भारतीय राज्य सिक्किम, दार्जिलिङ, आसाममा नेपालीभाषीको बाहुल्य रहेकाले महोत्सवले निरन्तरता पाउँदा यस्ता कार्यक्रमले त्यताका नेपालीलाई छुन्छ। 'नेपाली साहित्यको पनि बजार बढ्न सक्छ,' प्रसाईंले भने, 'अहिलेको महोत्सवमा त्यताबाट पाठक नआउनु भएको हैन तर एकदमै कम छ। आसाम वा अन्य स्थानमा नेपालीबस्ती छरिएर रहेकाले प्रचारप्रसार प्रभावकारी भएको छैन तर हुने हो भने नेपाली साहित्यले थप पाठक निश्चित पाउँछ।' प्रसाईंले अहिले पनि दार्जिलिङ, सिक्किमसँगै नर्थ बंगालबाट पनि नेपालीभाषी पाठक महोत्सवमा आउने गरेको बताए।

नेपाली साहित्य महोत्सव होस् वा कला साहित्य महोत्सव, दुवै महोत्सवमा साहित्य जोडिएको भए पनि दुवैले छलफलका विषयलाई साहित्यको घेरामा खुम्च्याएका छैनन्। साहित्यसँगै अर्थराजनीति र फिल्मसम्मका विषय महोत्सवमा छलफलका विषय बन्ने गरेका छन्। यही कारण साहित्य महोत्सव 'पपुलिस्ट' बनेको आरोप छ। तर, प्रसाईं भने यसलाई लोकप्रियताका लागि भन्दा पनि 'इन्टरडिसिप्लिनरी' बनाउने अभिप्राय रहेको तर्क गर्छन्। 'अरुको महोत्सवमा किन साहित्यइतर विषय हुन्छन् भन्ने मलाई थाहा छैन तर हामीले भने सबै विषयले एकअर्काका कुरा सुनून् भन्ने लागेर सबै विषयमा छलफल आयोजना गर्दैआएका हौं,' उनले थपे, 'साहित्यमामा कोरा साहित्यमात्र हुन्छ भन्ने मलाई लाग्दैन। लेखक सचेत हुन्छ र उसले सधैं आफ्नो समाज, अर्थ र राजनीति लेखिरहेको हुन्छ। राजनीति गर्नेले लेखकले देशको विषयमा के सोचिरहेको छ भन्ने जान्न जरुरी हुन्छ भने लेखकले पनि राजनीतिको बारेमा। त्यसैले हामीले जानाजान यस्ता विषय राख्दै आएका छौं।'

आयोजनाको संघारमा रहेको कला साहित्य महोत्सवमा यसपाला पनि साहित्यइतरका थुप्रै विषयमा छलफल गर्ने योजना आयोजकको छ। 'गतिशीलताका लागि निरन्तर अध्ययन' नाराका साथ आयोजना हुन लागेको  महोत्सवमा 'विदुषक पात्र', 'समाजवाद उन्मुख संविधानको अन्तर्य', 'सञ्चारमाध्यले निर्माण गरेको संकथन', 'उच्च शिक्षाको ओरालो लागेको अवस्था' जस्ता विषयमा छलफल गर्ने आयोजकको तयारी छ। 'एक घन्टाको छलफलबाट हामी निष्कर्षमा पुग्ने भन्ने होइन। फलानो विषयलाई फलानो तरिकाले बु‰नु पर्ने रै’छ भन्ने सोच विकसित गर्ने हो। आलोचकले पनि यो पाटोमा ध्यान दिए राम्रो,' प्रसाईं भन्छन्।

बुकवर्म र रिडर्स झापाले आयोजना गरिरहेका ठूलो साहित्य महोत्सव मात्र हैन अन्य थुप्रै सानातिना कार्यक्रम पनि बिस्तारै राजधानीबाट मोफसलतिर सर्न थालेका छन्। गोष्ठी र छलफल मात्र हैन, पठन संस्कृति बढाउने पुस्तक प्रदर्शनी पनि थानकोटको नेटो काटेर देशका विभिन्न भागमा पुग्न थालेका छन्।

काठमाडौंमा सातौँ संस्करणसम्मको बृहत् पुस्तक प्रदर्शनी गरेको डिकुरा पब्लिकेसन यतिबेला देश दौडाहामा छ। केही दिनअघि झापाको बिर्तामोडदेखि बृहत् साहित्यिक महोत्सव सुरु गरेको पब्लिकेसनले सुदूरपश्चिमको धनगढीसम्म पुग्ने बताएको छ।

पब्लिकेसन प्रमुख पुण्यप्रसाद प्रसाईंले साहित्यमा चासो राख्नेको भावना बु‰दै उनीहरूको रुचिअनुसारका पुस्तक पढाउन देश घुम्न थालेको बताए। 'मोफसलका पुस्तक पसल, बौद्धिक क्षेत्र, साहित्यनुरागीबाट पुस्तकको बिक्री नभएको र पठन संस्कृतिको विकास नभएको गुनासो सुनियो,' बिर्तामोडपछि झापाकै दमकस्थित रेडक्रस भवनमा महोत्सव गरिरहेका प्रसाईंले टेलिफोनमा भने, 'उहाँहरूले भनेजस्तै अवस्था पायौँ, हामीले महोत्सव गरेपछि पुस्तकमा रुचि राख्नेको भीड लागेको छ, महोत्सव अवलोकनसँगै पुस्तक पढ्नेको संख्या पनि उत्साहप्रद छ।'

काठमाडौँमा पुस्तक विमोचन हुने, त्यहीँबाट प्रचार गर्नुपर्ने अवस्थाको अन्त्यसमेत हुन थालेको छ। बजारमा आएका कतिपय पुस्तकको चर्चा गर्न/गराउन मोफसलका बुक क्लबहरूले सक्रिय रुपमा कार्यक्रम गर्न थालेका छन्। जसमध्ये चितवन, पोखरा र हेटौँडाका बुक क्लबहरूले त नियमित रुपमै कार्यक्रम गर्न थालेको निकै भइसक्यो।

सचेत युवाले थालेको पुस्तकमाथिको चर्चापरिचर्चासँगै पुस्तक प्रदर्शनी र छलफल कार्यक्रमलाई बृहद्स्तरमा गर्न सके, पाठकसंख्या पनि उत्तिकै बढ्ने अपेक्षा पुण्यप्रसाद प्रसाईंको छ। त्यसैले पनि उनले यही शनिबार सम्पन्न हुने पुस्तक महोत्सवलाई क्रमशः पश्चिमतर्फ सार्ने योजनामा छन्। पुण्यप्रसाद प्रसाईंले काठमाडौंमा हुने पुस्तक प्रदर्शनीमा पाठकको माग मिश्रित हुने भए पनि मोफसलका पाठकको रुचि सीमित रहेको देखेका छन्। त्यसैले पनि रुचिलाई बृहद् बनाउन बेलाबेलामा मोफसलमा प्रदर्शनी र महोत्सवको आवश्यकता देख्छन्।

'काठमाडौंमा जुनसुकै विषयका पुस्तकमा पाठकको ध्यान पुग्छ, तर काठमाडौंबाहिर साहित्यिक फिक्सन र सेल्फ हेल्पसम्बन्धी पुस्तक बढी खोजियो,' पुस्तक प्रदर्शनीको लामो अनुभव बटुलेपछि उनको निष्कर्ष छ, '२५ देखि ४० वर्ष उमेर समूहका महिला तथा पुरुषले आत्मकथा र जीवनीमा बढी चासो देखाए, बिपी कोइराला, महात्मा गान्धी, रुक्मांगत कटवालदेखि नाम चलेका व्यक्तिको आत्मकथा तथा सामान्य मान्छेदेखि वरिष्ठ व्यक्तिको जीवनीमा पाठकको रुचि बढी देखियो। साहित्यमा महिला र पुरुषको समान चासो पायौँ।'

नेपालका प्रायः सबै प्रकाशन गृहका पुस्तकलाई महोत्सवमा राखिएको र महोत्सव गर्मी महिनासम्म सञ्चालन गर्ने उनले लक्ष्य राखेका छन्। निजी लगानीमा महोत्सव आयोजना गरिरहेकाले यसका आफ्नै किसिमका सीमितता हुने हुनाले हाललाई मुलुकका १० सहरसम्म पुर्‍याउने लक्ष्य राखिएको उनले बताए। 'मोफसलमा बिनाप्रायोजक कार्यक्रम गर्नु एकदमै गाह्रो विषय हो, तर त्यसलाई हामी आफैँले सहज बनाउँदै गएका छौँ,' पुण्यले भने, 'पाठकको महोत्सवप्रतिको चासोले हामीलाई उत्साह दिएको छ।' उनले आगामी वर्षबाट सहरको छनोट गरेर नियमित कार्यक्रम गर्ने पनि जनाए।

नेमिष गौतमको सहयोगमा

प्रकाशित: २२ माघ २०७३ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App